लोकमानको मुद्दा ‘हेर्दाहेर्दै’ रोकियो, आजदेखि अदालतमा उपस्थित हुनु नपर्ने, वारेस राख्न पाउने

 आवाज संवाददाता     ८ पुष २०७३, शुक्रबार

काठमाडौं, ८ पुस । सर्वोच्च अदालतमा अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दा हेर्दाहेर्दै समय नपुगेकाले करिब साता लम्बिने भएको छ । साथै उनले शुक्रबार हदालतमा आएर पेशी बुझेपछि अर्कोपटकदेखि वारेस राख्न पाउने भएका छन् ।

शुक्रबार कार्की पक्षधरका अधिवक्ताले बहस गरेका छन् । कार्कीको तर्फबाट अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरेपछि शुक्रबारको बहस समाप्त भएको छ । तर, अझै धेरै वकिलहरुले बहस गर्न बाँकी नै छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बिहीबारबाट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा बहस सुरु भएको हो ।

मुद्दालाई ‘हेर्दाहेर्दै’को सूचीमा राखिएको छ र आइतबार र सोमबार पेशी तोक्ने सम्भावना निकै कम छ । त्यसैले बिहीबारसम्म सुनुवाई प्रक्रिया चल्न सक्ने देखिएको एक अधिवक्ताले बताएका छन् ।

कार्की शुक्रबार तारेख बुझ्न अदालत पुगेपछि अब भने उनलाई वारेस राख्न दिइने भएको छ । अब उनको बारेस नामा लिएर अरुले नै तारेख बुझ्न सक्नेछन् । यसअघि अदालतले लोकमानलाई आफैं उपस्थित हुन आदेश दिएको थियो ।

यसैक्रममा बिहीबार तारेख बुझ्न पुग्दा कार्कीमाथि आक्रमण हुनुका साथै कालोमोसो दलिएको थियो ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।