युनियनद्वारा पत्रकार महासंघमा तालाबन्दी

 आवाज संवाददाता     ८ पुष २०७३, शुक्रबार

दोलखा, पुस ८ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले नयाँ सदस्यता सिफारिस नगरेको भन्दै नेपाल प्रेस युनियन दोलखा शाखाले महासंघ कार्यालयमा तालाबन्दी गरेको छ ।
पटकपटक नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्षलाई बैठक बोलाई नियम अनुसार महासंघमा आवेदन दर्ता गरेको ११ जना श्रमजीवी पत्रकारहरुलाई महासंघको सदस्यताको लागि सफारिस गरी पठाउन आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै युनियन दोलखाले अनिश्चितकालीन तालाबन्दी गरेको युनियन दोलखाले जनाएको छ । क्रियाशील पत्रकारले महासंघको सदस्यता आवेदन गर्दा नदिएपछि अधिकार संरक्षणको लागि प्रेस युनियनले तालाबन्दी गरेको दोलखा अध्यक्ष दीपशंकर चौलागाईँले बताए । गत असोज पहिलो साता दोलखाका विभिन्न आमसञ्चार माध्यममा कार्यरत ११ जना पत्रकारहरुले नयाँ सदस्यताको लागि आवेदन दिएका थिए ।
पत्रकार सुवास योन्जनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ती ११ जना पत्रकारहरुको आवेदन दर्ता गरी उनीहरुलाई सदस्यता दिन र नयाँ सदस्यता सिफारिस नगर्ने पत्रकार महासंघ दोलखाका पदाधिकारीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।