दोलखाका प्रहरीलाई विशेष अनुशिक्षण

 आवाज संवाददाता     ८ पुष २०७३, शुक्रबार

मन्दिरा बस्नेत

दोलखा, मंसिर ८/ प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले दोलखाका प्रहरीलाई ६ दिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ ।

अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्रहरीमा दक्षताको अभाव हुँदा अपराध नियन्त्रण हुन नसक्ने बताए । उनले प्रहरी दक्ष नहुँदा अपराधी छुट्न सक्ने र निरपराधी पर्न सक्ने भएकोले प्रहरीलाई समसामयिक तालिम आवश्यक हुने बताए । अपराध अनुसन्धान र अपराध नियन्त्रणमा नयाँनयाँ प्रविधिहरु आएकोले ती प्रविधिसँग अपडेट हुन पनि तालिम आवश्यक पर्ने उनको धारणा थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले तालिमले प्रहरीको कार्यमा चुस्तता आउने विश्वास व्यक्त गरे । तालिमका सम्पर्क व्यक्ति प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले अनुशिक्षण कार्यक्रमबारे जानकारी गराएका थिए । उनले ६ दिनसम्म अपराध अनुसन्धान र अपराध नियन्त्रण लगायत विभिन्न विषयमा तालिम दिइने बताए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौको तत्वावधानमा भएको अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण कार्यक्रममा १७ जना प्रहरी हवल्दार र २४ जवान गरी ४१ जनाको सहभागिता छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF