कृषि व्यवसायीकरणमा आधुनिकीकरण परियोजना

 आवाज संवाददाता     १० पुष २०७३, आईतवार

दोलखा, पुस १०/कृषिलाई व्यवसायीकरण गरी उत्पादकत्व बृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरिएको छ ।
मुलुकको दुई तिहाई जनसंख्या कृषि पेशामा लागे पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेका कारण सरकारले व्यवसायिक कृषि विकासका लागि १० वर्षीय आधुनिकीकरण परियोजना लागू गरेको हो । १० वर्षीय परियोजनाका लागि कूल अनुमानित राष्ट्रिय खर्च १ खर्ब ३० अर्व ७४ करोड २० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये दोलखा जिल्लाका लागि चालु आर्थिक वर्षमा २ करोड ३१ लाख ८२ हजार बजेट छुट्याइएको छ ।
परियोजना अनुसार कृषि भूमिको उर्वरा शक्ति, बाली उत्पादन क्षमता र स्थानीय सम्भाव्यताका आधारमा विशिष्टिकृत कृषि उत्पादन क्षेत्रलाई पकेट, ब्लक, जोन र सुपरजोनमा वर्गीकरण गरिनेछ । दोलखामा विभिन्न बालीहरुका लागि २० वटा पकेट र अलैँची र किवीका लागि दुईवटा ब्लक बनाइने कार्यक्रम छ । मिर्गे, गैरीमुदी, क्षेत्रपा, काब्रे, जुँगु, झ्याकु, सुरी र सुनखानीलाई अलैँचीको ब्लक र जिरी, श्यामा, हाँवालाई किवीको ब्लक बनाइने कार्यक्रम रहेको छ ।

के हो पकेट, ब्लक, जोन र सुपरजोन ?

राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको बाली र वस्तुमा न्यूनतम १० हेक्टरमा जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना व्यवसायिक कृषि उत्पादन केन्द्र निर्माण गरिनेछ जसलाई पकेट भनिनेछ ।

जिल्लास्तरमा कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी पकेटमा समावेश गरिएका बालीरवस्तुको उत्पादन तथा उत्पादकत्व वृध्दि गर्नु र पकेट क्षेत्रमा कृषि उत्पादन सामग्री आपुर्ति तथा प्राविधिक सेवा प्रवाहमा अभिवृध्दि गर्नु यस्ता साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालनका उदेश्यहरु रहने छन् । यस कार्यक्रमवाट साना तथा मझौला कृषक समुहहरु लाभान्वित हुनेछन् । प्रत्येक पकेटले पकेट क्षेत्र आसपासका कम्तीमा १० जना कृषकलाइ सेवा पु¥याउने छन् ।
राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली र वस्तुमा न्यूनतम १०० हे मा संचालन भएको व्यवसायिक कृषि उत्पादन केन्द्रका रुपमा व्लकहरु रहनेछन् । जिल्लास्तरमा कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी व्लकमा समावेश गरिएका बाली र वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, व्लक क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास तथा व्यवसायीकरण प्रवर्दन गर्नु यस्ता व्यवसायिक कृषि उत्पादन केन्द्र (व्लक) विकास कार्यक्रम संचालनका उद्देश्यहरु रहने छन् । जिल्लामा यस्ता ब्लकहरु २ वटा रहेनेछन् ।
त्यसैगरि, ५०० हे क्षेत्रफलका ३० ब्यबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र समावेस गरी जोन स्थापना गरिने लक्ष्य छ ।
प्रत्येक प्रदेशमा १००० हे. क्षेत्रफलका १ वटाका दरले ७ वटा सुपर जोन स्थापना गरिने कार्यक्रम छ ।
परियोजना अवधिभरमा यस्ता पकेट, ब्लक, जोन र सुपरजोनको संख्यामा क्रमश बृद्धि गर्दै न्यूनतम १५ हजार पकेटहरु, १५०० व्लकहरु, ३०० जोनहरु र २१ सुपर जोनहरु स्थापना गरिने कार्यक्रम छ ।
उत्पादकत्व बृद्धिका लागि परियोजनाले ५० देखि शतप्रतिशत सेवा सुविधा उपलव्ध गराउने लक्ष्य लिएको छ । त्यसैगरी अतिरिक्त उत्पादकत्व बृद्धि गर्ने कृषक तथा कृषक समूहलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबारे जिल्ला कृषि विकास कार्यालय दोलखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।