सरकारी निकाय नै ‘सूचनाको हक’ खुम्च्याउँछन्ः प्रमुख आयुक्त बास्कोटा

 आवाज संवाददाता     ११ पुष २०७३, सोमबार

दोलखा, पुस ११/दोलखा सदरमुकाम चरिकोटमा आज सूचनाको हक सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दोलखा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एंव सूचना अधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरुलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले प्रशिक्षण दिएका हुन् ।
उनले सो क्रममा सूचना पाउनु नागरिकको अधिकार र सूचना दिनु हाम्रो कर्तव्य भएको वताए । उनले भने, ‘जसले सूचना लुकाउन खोज्छ त्यो अपराधी हो ।’ सूचना दिनु कर्तव्य हुँदाहुँदै पनि समयमा सूचना नदिनु भनेको पनि सूचना लुकाएको सरह अपराध भएको बताए । प्रमुख आयुक्त बास्कोटाले नेपालको संविधानमा सूचनाको हक मौलिक हकको रुपमा उल्लेख भएको भए तापनि सरकारी निकायबाटै यो ऐनलाई समेत साँधुरो पारामा खुम्च्याउन खोजेको आरोप लगाए । सरकारले ऐनमा व्यवस्था भए अनुसार ५ प्रकारका सूचना बाहेकका सूचनाहरु सवै नागरिकलाई थाहा पाउने अधिकार हुँदाहुँदै पनि त्यस बहानामा सयौँ सूचना नदिने गरेको उनको ठम्याइ छ ।
आज भएको उक्त प्रशिक्षण कार्यक्रममा ७ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । प्रतिबद्धता पत्रमा प्रमुख आयुक्त बास्कोटा सहित प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहरा, निमित्त सथानीय विकास अधिकारी निर्मल दर्शन आचार्य, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतले हस्ताक्षर गरेका छन् । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सूचना आयोगका उपसचिव वेदमणि अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।