कहिल्यै गाउँ नछाडेका बृद्धले भने – शिविरले सुविधा दियो

 आवाज संवाददाता     १५ पुष २०७३, शुक्रबार

दोलखा, पुस १४/खोपाचागु ८ का रंगध्वज बुढाथोकी अहिले ८० वर्षका भए । उनी आफ्नो गाउँबाट कहिल्यै बाहिर निस्केका छैनन् । तर गाउँमै विभिन्न सरकारी कार्यालयहरु आएर सेवा सुविधा दिएपछि दङ्ग हुँदै उनले भने, ‘शिविरले राम्रो सुविधा दिएको छ ।’
उत्तरी दुर्गम गाउँका जनतालाई सुविधा दिन सञ्चालित एकीकृत घुम्ती शिविरमा मतदाता परिचय पत्रका लागि फोटो खिच्न आएका उनले शिविर राखेर सरकारले गाउँमै सुविधा दिएकोमा खुशी व्यक्त गरे । उनी अहिलेसम्म आफ्नो गाउँदखि टाढा कतै गएका छैनन्, तर सरकारी सेवा गाउँमा आएका बेला सुविधा लिन भने भ्याएका छन् । उनले २०४५ सालमा नागरिकता टोली आउँदा गाउँमै नागरिकता बनाएको सम्झिए ।
दुर्गम गाउँका जनतालाई गाउँमै सेवा सुविधा उपलव्ध गराउन जिल्लाका २६ वटा कार्यालयले खोपाचागु वरपरका ६ वटा गाविसलाई लक्षित गरी एकीकृत शिविर सञ्चालन गरेको हो । चिलंखा गाविसका अपाङ्गता भएका ४४ वर्षीय लाले तामाङ ंर उनकी बहिनी बुद्धिमाया तामाङलाई नागरिकताको प्रमाणपत्र वितरण गरी प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले शिविरको उद्घाटन गरेका हुन् । खोपाचागु, बाबारे, कालिन्चोक, विगु, आलम्पु र चिलंखा गाविसलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

खोपाचागु २ थामीचागुका ६८ वर्षका पहलमान थामीको पनि मतदाता परिचय पत्रको लागि फोटो खिचाउने अवसर बन्यो, घुम्ती शिविर । ‘सदरमुकाम चरिकोट गएर मतदाता परिचय पत्र बनाउन दुईतीन दिन लाग्थ्यो । पैसा पनि लाग्थ्यो । तर गाउँमै शिविर आएपछि सजिलो भएको छ ।’ उनले बताए ।

थामीचागुकै लालबहादुर थामी शिविर दुई दिनको भएको भए त्यो भेगका जनताले अझै सेवा सुविधा पाउने विश्वास व्यक्त गर्छन् । उनी जिल्ला कृषि विकास कार्यालयबाट वितरित वीउ, आयुर्वेदिक औषधि पाएकोमा खुशी छन् । उनले शिविरमा आफ्ना भाइ र बहिनीको नागरिकता समेत बनाइदिए ।

गाउँमै बोटविरुवा, गाईबस्तुमा लागेको रोगको उपचार पाउँदा खोपाचागु ७ की मुकुना बुढाथोकीलाई निकै खुशी लागेको छ । उनले आफ्नो बारीको हलुवाबेत र अमिलोको विरुवामा लागेको कीरासम्बन्धी उपचार गराउन पाइन् । ‘चरिकोट जानु परे थुप्रै खर्च लाग्थ्यो, दुईतीन दिनको समय पनि लाग्थ्यो, यही उपचार भयो ।’ उनले खुशी व्यक्त गरिन् ।

शिविरमा सबैभन्दा बढी भीड नागरिकता लिन, औषधी लिन, मतदाता परिचयपत्रको लागि फोटो खिचाउन र कृषि विकास कार्यालयबाट बीउविजन लिन लागेको थियो । जिल्ला प्रशासन कार्यालयको टोलीले २ सय ६२ जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो भने सबैभन्दा बढी जिल्ला कृषि विकास कार्यालयले ५ सय ५० कृषकलाई बीउविजन वितरण गरेको थियो । त्यत्तिकै मात्रामा कृषी परामर्शसमेत उपलव्ध गराएको थियो । त्यसैगरी जिल्ला आयुर्वेद उपचार केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय र रणभीम गणले ५ सय ५ जनालाई औषधि वितरण गरेका थिए । जिल्ला पशु सेवा कार्यालयले कुकुरलाई रेविज विरुद्धको सुइ, गोबर जाँच, पशु बन्ध्याकरण लगायत ३ सय बढी पशु उपचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए । त्यसैगरी नेपाल टेलिकमले १ सय ७० वटा सिमकार्ड वितरण गरेको थियो भने रणभीम गणले हिमालय मावि खोपाचागुका विद्यार्थीहरुलाई सुरक्षासम्बन्धी प्रशिक्षण दिएको र जिल्ला प्रहरी कार्यालय दोलखा लगायत विभिन्न कार्यालयहरुले प्रत्यक्ष सेवा र परामर्श सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

सरकारी कार्यालयका कर्मचारीहरु दोलखा सिँगटी सडकको सिसा गोलाइबाट ३४ किलोमिटर सडकलाई ५ घण्टा लगाएर पुगेका थिए । शिविरमा १५ सय बढीले सेवा प्राप्त गरेका थिए । शिविरको आयोजना दीपज्योति समाज सुधार संघ सुन्द्रावतीले गरेको हो ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।