होसियार! मिर्गौला चोरले झुक्याउलान्
आवाज संवाददाता १५ पुष २०७३, शुक्रबार
काठमाडौं- गोरखाका १९ वर्षे दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे। मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो। दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए। काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं ल्याइयो। पोखराबाट ल्याएर उनलाई काठमाडौं गौश्ाालाको एक होटलमा जिम्मा लगाइयो। जिम्मा लगाएका व्यक्तिसँगै खाजा खाएका दीपक होस खुल्दा भारतको एक अस्पतालको बेडमा थिए।
‘खान्नँ भन्दाभन्दै रक्सी खुवाए, के मिसाएका रहेछन्, होसमा आउँदा म अस्पताल बेडमा थिएँ,’ दीपकले बिहीबार सञ्चारकर्मीसँग भने। भारतको गाजियाबाद अस्पतालमा केही दिन बसेपछि उनलाई केही रकम दिएर घर पठाइयो। घर फर्केका दीपक त्यसपछि बिरामी भए। उपचारका लागि चितवन मेडिकल कलेज पुगेका दीपकलाई चिकित्सकले मिर्गौला किन झिकेको भन्दा पो बल्ल उनले भारत लगेर आफ्नो मिर्गौला चोरिएको पत्तो पाए।
‘भारत अस्पतालमा रहँदा मलाई गुन्डाले चक्कु हानेको र पेटमा घाउ भएको बताइएको थियो, चितवनमा जाँच गराउँदा मात्रै मिर्गौला झिकेको थाह पाएँ,’ दीपकले भने।
महानगरीय प्रहरी अपराध महाशाखाले दीपकको घटनाको अनुसन्धान क्रममा पक्राउ परेका तीनजनाको बयानले नेपालका ठूला सहर र ग्रामीण क्षेत्रमा मिर्गौला तस्कर सक्रिय रहेको खुलेको छ। महाशाखाले पक्राउ गरेका प्रकाश बस्नेत, भिमप्रसाद न्यौपाने र विकास भन्ने बिनुबहादुर तिमल्सिना तथा फरार अन्य दुईले दीपकलाई जस्तै झुक्याएर पाँचजनालाई भारत पुर्याएर मिर्गौला झिकेको खुलेको छ।
‘पहिला काभ्रे र सिन्धुपाल्चोक केन्द्रित मिर्गौला तस्कर अहिले देशभर सक्रिय रहेको अनुसन्धानमा देखिएको छ, रोजगार र घुमफिरका लागि भन्दै भारत पुर्याएर मिर्गौला झिक्ने गरेको पाइयो,’ महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालले भने। उनका अनुसार ठूला सहरमा सामान्य मजदुरी र साना व्यापारी गिरोहको पहिलो निसानामा छन्।
महाशाखाको अनुसन्धानमा काठमाडांैमा तिमल्सिना र बस्नेतले ग्राहक खोज्थे। न्यौपाने विभिन्न गाउँ पुगेर रोजगारीको प्रलोभनमा विभिन्न उमेरका व्यक्तिलाई काठमाडौंमा जम्मा गर्ने र भारत पुर्याउँथे। उनीहरूको मिलेमतोमा सोझा नेपालीलाई विभिन्न प्रलोभनमा भारतको हरियाणास्थित अस्पतालमा लगेर बेहोस बनाई मिर्गौला झिकेर बेच्ने काम हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘रोजगारीका लागि आवश्यक पर्ने भन्दै रक्त समूह र स्वास्थ्य अवस्थाको जाँच गर्ने र सो जानकारी भारत पठाउने गरेको अनुसन्धानमा खुलेको छ, हालसम्म पाँचजना पीडित प्रहरी सम्पर्कमा छन,’ खनालले भने। उनका अनुसार नेपालमा ग्राहक खोजेर भारतसम्म पुर्याउने काम नेपालीले नै गर्दा रहेछन्। भारतमा रहेका मिर्गौला कारोबारीले नेपाली गिरोहलाई तीनदेखि पाँचलाख रुपैयाँसम्म उपलब्ध गराउने महाशाखाले जनाएको छ।
फकाएर होइन झुक्याएर
केही वर्षअघिसम्म विपन्न वर्गका परिवारका सदस्यलाई फकाएर कानुनी प्रक्रिया पूरा गरी सहमतिमा मिर्गौला व्यापार हुने गरेको थियो। प्रहरीले चारवर्ष अघि काभ्रे लक्षित अपरेसनमा आर्थिक प्रलोभनमा पारेर गैरकानुनी रुपमा मिर्गौला बिक्री गराएको अभियोगमा प्रेमबहादुर बजगाईं, मनोज राउत, मीना दर्जी, सचिन महर्जन, सानुलाल महर्जन, कुमार अधिकारी, सुमन श्रेष्ठ, विनोद ढकाल र राजन दर्जीलाई पक्राउ गरेपछि मिर्गौला कारोबार केही समय सुस्त रहेको थियो। अहिले झुक्याएर यो कारोबार हुने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले २०६९ चैत २९ गते होक्सेका बजगाईंलाई मिर्गौंला कारोबारको आरोपमा गाउँबाटै समातेपछि यो गिरोह सुस्ताएको थियो। प्रहरीका अनुसार काभ्रेका सर्वसाधारणलाई प्रलोभनमा पारेर भारतको उत्तर प्रदेश, हरियाणा र दिल्ली पुर्याएर मिर्गौला झिकिने गरेको हो।
पछिल्लो समय नेपालमै मिर्गौला प्रत्यारोपण सरल र सुलभ भएपछि तस्करले फकाएरभन्दा झुक्याएर भारत पुर्याई बेहोस बनाएर मिर्गौला झिक्ने गरेका हुन्।
नौ वर्ष अघिकै झझल्को
२०६४ माघ २४ गते चितवनको होटल वाइड लाइफ क्याम्पबाट पक्राउ परेेका कुख्यात मिर्गौला तस्कर अमितकुमार रावत (भारतीय) ले विपन्न र सोझा नेपालीलाई भारत पुर्याएर निजी मिर्गौला झिक्ने गरेका थिए। भारतले इन्टरपोलको रेड कर्नर नोटिसमा राखेका अमितकुमारलाई सोही वर्ष माघ २६ गते महानगरीय प्रहरीले पक्राउ गरी भारतको जिम्मा लगाएको थियो। नेपालमा समेत अपराधमा संलग्न रहेका अमितकुमारलाई भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को दबाबमा भारत प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान टुंगोमा पुग्न सकेन। नौ वर्षपछि अपराध महाशाखाले पक्राउ गरेका तीनजना र पीडितको बयानले अमितकुमारको कर्तुतको सम्झना गराएको छ। महाशाखाका अनुसार पीडितले आफूलाई हरियाणाकै विभिन्न निजी अस्पतालमा लगेको बयान दिएका छन्। अमितकुमार गिरोहले पनि नेपालीलाई लगेर मिर्गौला झिकेर बेच्थ्यो। खनालका अनुसार फरारा अन्य दुईजना पक्राउ परेपछि सबै कुरा खुल्ने छ।
source: nagarikdainik.com
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।