बैशाखभित्र निर्वाचन हुने राज्यमन्त्री गुरुङको दावी

 आवाज संवाददाता     १६ पुष २०७३, शनिबार

दोलखा, पुस १६ । ४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस दोलखाले जिल्लाको उत्तरी सिँगटी बजारमा कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस दोलखामा आवद्ध नेपाल शिक्षक संघ दोलखाले जिल्लाको उत्तरी सिँगटी बजारमा शनिवार एक आमसभाको आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाएको हो । आज पुस १६ गतेकै दिन ४१ वर्ष अघि महामानव बीपी कोइरालाले मुलुकको अस्तित्वको लागि आफूसँग रहेको ज्यान मुद्दा (फाँसी पनि हुन सक्ने) लाई पनि कुनै पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति अवलम्वन गरी प्रवासबाट स्वदेश फर्केको दिनको पहिचानको रुपमा राष्ट्रव्यापी मेलमिलाप दिवस मनाउने गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आगामी वैशाखभित्र निर्वाचन गराउने सवालमा नेपाली कांग्रेसले जस्तो सुकै मूल्य चुकाउन समेत पछि नहट्ने विचार व्यक्त निर्वाचनको तयारीको लागि समेत कांग्रेस कार्यकर्तालाई तयार र संगठन गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले संविधान संशोधन र निर्वाचनले देशलाई नयाँ आर्थिक समृद्धितर्फ अग्रसर गराउने भएकोले संविधान संशोधन गराई निर्वाचन प्रक्रियामा जानुपर्ने बताए । उनले निर्वाचनमा जानका लागि कार्यकर्ताहरुलाई रणनीतिक योजना बनाउन निर्देशन दिए । आमसभालाई नेपाली कांग्रेस दोलखाका नेताहरु ईश्वर मानन्धर, बर्मा लामा, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिहरु, नेपाली कांग्रेस दोलखा क्षेत्र नं.१ र २ को नेताद्वय छवि लामा र जयराम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । आमसभामा विभिन्न पार्टीहरु परित्याग गरी नैनसिंह शिवाकोटीको नेतृत्वमा करिब १ सय ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF