जम्मुकश्मिर हुँदै आएको वायुको प्रभावले देशभरि चिसो बढ्यो

 आवाज संवाददाता     १७ पुष २०७३, आईतवार

काठमाडाैँ पुस १७ । भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। शनिबार भारत हुँदै सुदूर पश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा  बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायुको प्रभाव सोमबारसम्म रहने बताए। ‘आइतबार र सोमबार देशका विभिन्न भागमा हल्काफुल्का वर्षा हुने देखिन्छ’, पौडेलले सेतोपाटीसँग भने, ‘मंगलबारबाट मौसममा दुई दिन सुधार हुने छ।’ बिहीबारदेखि पश्चिम क्षेत्रमा फेरि बर्खा हुनेछ। फेरि आउने पश्चिमी वायुले काठमाडौंको मौसम पनि प्रभावित पार्न सक्छ।  पौडेलले पानी लगातार पर्ने नभई केहीबेर परेर रोकिने र फेरि पर्ने बताए।  नेपालमा बर्खामा बंगालको खाडीबाट आउने वायु प्रभावले बर्खा हुन्छ भने हिउँदमा पश्चिमी वायुको प्रभावले पानी पर्छ।

महाशाखाका अनुसार आइतबार बिहान उपत्यकामा ०.१ मिलिमिटर पानी परेको छ भने ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको छ। ‘ताप्लेजुङमा स्थानीय सिस्टम बनेकाले  त्यहाँ पानी धेरै परेको हो’, पौडेलले भने ‘आज अन्य हिमाली जिल्लामा  भारी हिमपात हुने सम्भावना छ।’ उनले हिजो पनि  बाजुरा, हुम्ला र डोल्पाका उच्च भेगमा हिमपात भएपनि त्यसको विवरण महाशाखामा आइनसकेको बताए।

पानी परेसँगै देशभरिको अधिकतम तापक्रम घटेको छ। ‘बिहान बादल लाग्ने भएकाले न्यूनतम तापक्रम घटेको छैन, दिउँसो घाम नलागेकाले अधिकतम तापक्रम घटेको छ’, पौडेलले भने।

यो वर्ष पश्चिमी वायु आउन ढिला भएका कारण डिसेम्बर महिनामा  काठमाडौंमा वर्षा हुन सकेको थिएन भने हिमालमा हिउ पनि परेको थिएन।

सेताेपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।