चरिकोटमा ट्राफिक व्यवस्थापन सहज हुँदै

 आवाज संवाददाता     १९ पुष २०७३, मंगलवार

दोलखा, पुस १९/ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त चरिकोट बजार केही दिनदेखि सहज बनेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चरिकोटको पहलमा सोमबारदेखि ट्राफिक व्यवस्थापन सहज बनेको हो ।
ट्राफिक व्यवस्थापनका लागि मोटरसाइकल पार्किङ सडकको एकतिर मात्र गर्न थालिएको छ । सोमवारदेखि व्यवस्थापन थालिएको मोटरसाइकल पार्किङलाई सुरुमा तल्लोसाइडमा मात्र गर्ने व्यवस्था गरिएको छ । यो पार्किङ प्रक्रिया १५ दिनमा तल्लो साइड र १५ दिन माथिल्लो साइड गरिने छ । एकातर्फ मात्र पार्किङ गर्दा एकातर्फ पूरै खाली हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नैनबहादुर भण्डारीले बताए ।
ट्राफिक व्यवस्थापनका लागि भीमेश्वर नगरपालिकाले बोर्ड बनाउन सहयोग गरेको छ । सातदोबाटोदेखि पशुपतिडाँडासम्म ट्राफिक व्यवस्थापनका लागि १५ वटा पार्किङ गर्ने तरिका झल्कने र १५ वटा पार्किङ निषेधित लेखिएको बोर्ड राखिएको छ । भीमेश्वर नगरपालिकाले बजार क्षेत्रमा मालसामान लोडअनलोडका लागि विहान ८ बजेअघि, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ५ बजेपछिको समय निर्धारण गरिएको छ ।
सोमबारदेखि व्यवस्थापन गरेको नयाँ ट्राफिक व्यवस्थापनबारे एक हप्तासम्म ट्राफिक प्रहरीले निरन्तर अनुगमन गर्दै सम्झाउने र त्यसपछि अटेर गर्नेलाई कारबाही थाल्ने ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताए । निजी साना गाडीको भने पार्किङ व्यवस्थापन गरिएको छैन । निजी साना गाडी निजी प्रयोजनका लागि खरिद गरेकाले त्यसको व्यवस्थापन गाडीधनी आफैँले गर्नुपर्ने उनले बताए ।

????????????????

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।