तामाकोसीमा स्थानीयलाई २० प्रतिशत सेयर दिन माओवादीको माग

 आवाज संवाददाता     २० पुष २०७३, बुधबार

दोलखा २०, पुस /नेकपा माओवादी केन्द्र, दोलखाले निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थानीय दोलखाबासीलाई १० प्रतिशत सेयरले नपुग्ने भन्दै २० प्रतिशत पु¥याउन माग गरेको छ । माओवादी केन्द्र दोलखाका अध्यक्ष विशाल खड्काले बुधबार एक विज्ञप्ति मार्फत स्थानीयलाई सेयर थप गर्न माग गरेका हुन् ।
आयोजनामा ऋण लगानी गरेकै भरमा त्यसका कर्मचारीले ३७ सय कित्तासम्म सेयर पाएको तर आयोजना प्रभावित जिल्लाबासीले ३७ कित्ता पनि नपाउने अवस्था आएकाले सेयर संरचना बदलेर भए पनि १० प्रतिशतबाट २० प्रतिशत पु¥याउनुपर्ने उनको माग छ । आयोजनामा सेयर लगानी गर्न नसक्ने अति विपन्न नागरिकलाई सरकार जमानी बसेर विशेष व्यवस्था मिलाउन पनि विज्ञप्तिमा माग गरिएको छ ।
सरकारले आयोजनामा लगानी गरेको ११ अर्ब ऋण अतिविपन्न र सहिद परिवारलाई सेयरमा रुपान्तरण गर्ने कार्यविधि बनाउँदै गरेको कुरा करिब दुई महिनाअघि प्रधानमन्त्री प्रचण्डले माथिल्लो तामाकोसी आयोजनाको निरीक्षण गर्ने क्रममा बताएका थिए । केही दिनअघि दोलखाका तीनजना सांसद र दोलखा एमालेले पत्रकार सम्मेलन गरेर सेयर बाँडफाँड मोडालिटी परिवर्तन नगर्न आफ्नो धारणा सार्वजनिक गरेका थिए । र, उनीहरुले सो ऋण रकम माओवादी लडाकुहरुलाई नपोस्न समेत आग्रह गरेका थिए । यही सन्दर्भमा माओवादी केन्द्र दोलखाले विज्ञप्ति प्रकाशित गरी मोडालिटी परिवर्तन गरेर भए पनि स्थानीय दोलखालीलाई २० प्रतिशत सेयर दिन माग गरेको हो । माओवादी केन्द्र दोलखाकै माग अनुसार प्रधानमन्त्री र ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराएर सकारात्मक भएको र सोही अनुसार प्रतिबद्धता कार्यान्वयन हुनेमा उनले विश्वास गरे ।
‘दोलखालीले बढी सेयर पाउँदा सबै जिल्लाबासी ‘पूर्व लडाकू’ र ‘स्वदेशी लगानी’ हुँदैन भन्ने एमाले मित्रहरुको दृष्टिकोण कस्तो हो ?’ माओवादी केन्द्रका अध्यक्ष विशाल खड्काले प्रश्न गरे । विज्ञप्तिमा तामाकोसी सहित सबै जलविद्युत आयोजनामा जनताको लगानी बढाउने र अति विपन्न जनतालाई राज्यले विशेष व्यवस्था मिलाउने गरी ऐन कानुनको व्यवस्था गर्न समेत सरकारसँग माग गरिएको छ ।
माओवादी केन्द्रले निकालेको विज्ञप्तिमा नेकपा एमाले र तिनका ३ जना सांसदले स्वतन्त्र प्रेस जगतलाई मिथ्या सूचना दिई भ्रम छरेको आरोप समेत लगाइएको छ । भनिएको छ, ‘एमाले पार्टीबाट जिल्लाकै सांसद मन्त्री हुँदा ‘चलचित्र नगरी आवश्यक छैन र सम्भव छैन’ भने ।’ विज्ञप्तिमा व्यङ्ग्य गरिएको छ, ‘अहिले ‘हाइअल्टिच्यूट स्पोर्ट सेन्टर’ र ‘जिरी एयरपोर्ट’ त सञ्चालनमा आएर एमालेका मन्त्रीहरुले उद्घाटन नै गरिसक्नु भयो क्यारे !’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।