न्यायको खोजीमा कृष्णलक्ष्मी

 आवाज संवाददाता     २१ पुष २०७३, बिहीबार

शब्द/तस्बिर: मन्दिरा बस्नेत

दोलखा, पुस २१/कृष्णलक्ष्मी खत्री अहिले उमेरले ७३ भइन् । उनको घर भीमेश्वर नगरपालिका ८ माटी हो । अहिले भीनपा १ कृषिबजारमा बस्छिन् । उनी आफ्नै परिवारबाट पीडित महिला हुन् । खत्रीका अनुसार उनका छोराछोरी छैनन् ।
छोराछोरी नभएको भन्दै पति कृष्णबहादुरले दोस्रो विहे गरे । बिहे गरेको ३६ बर्षपछि पतिको मृत्यु भयो । पतिको मृत्युपछि सौताले तिरस्कार गरी पतिको पेन्सन, घरजग्गा नदिई घरबाट निकालिएको उनी बताउँछिन् ।
खत्रीका अनुसार आफ्नो पतिको पेन्सन र जग्गा सबै कान्छी श्रीमतीको नाममा रहेकाले कृष्णलक्ष्मीले केही पनि पाइनन् । त्यही भएर पनि उनी घर छाडेर बाहिर बस्नु परेको छ ।
कानुनतः श्रीमान्को सम्पत्ति २ श्रीमतीले बराबर पाउनुपर्ने हो । तर श्रीमान् वितेपछि आफ्नै सौताबाट घर निकाला हुनुप¥यो ।
आफ्नो हकको बारेमा प्रहरी प्रशासनमा निवेदन दिँदा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ । प्रहरीले उल्टै ‘दुई जना दिदी बहिनी मिलेर बस्नु’ भनेको उनले सुनाइन् । आफ्नो हक सौतासँग माग्दा सौताले बारम्बार तिरस्कार गरी घरबाट नै निकालेको उनले बताइन् । पीडित खत्रीले दोस्रो पटक पनि निवेदन गर्दा प्रहरी प्रशासनले कुनै चासो नदिएको उनको दुःखेसो छ । कतैबाट न्यान नपाएपछि बाध्य भएर अहिले चुपचाप दुःख झेलिरहेको उनले बताइन् ।


‘प्रहरीकोमा पुगेपछि न्याय पाइन्छ भन्थे, गएँ, त्यहाँ पनि हुने खानेका लागि मात्र हुने रहेछ जस्तो लाग्यो’ उनले भनिन् ‘अरु कसलाई गुहार्ने ? पत्तो पाइँन, चुप लागेर बसेँ ।’ महिलाको सम्पत्तिमा अधिकारका बारेमा सरकार, राजनैतिक पार्टी ठूलाठूला स्वरमा त्यही सातदोबाटो आसपासमा गोष्ठी र भाषण हुन्छन् । तर बत्तीमुनिको अँध्यारो भने झैँ २२ वर्षदेखि सातदोबाटो छेउको झुप्रोमा न्याय नपाएर बसेकी कृष्णलक्ष्मीप्रति कसैको नजर पुग्न सकेको छैन ।
आफूलाई सहारा दिने कोही नभएपछि तीन बर्षसम्म चरिकोट सातदोबाटो पुतलीबजारको एक होटलमा भाँडा माझेर ज्यान पालिन् । पछि होटलवालाले सानो पसलका केही सामग्रीहरु पनि दिएका थिए । होटलले दिएको सामानबाट र आफन्तले दिएको सामानबाट खत्रीले अहिले सानो पसल गरेर गुजारा चलाइरहेकी छन् । उनले पसलमा सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता वापतको पैसा समेत लगानी गरेकी छन् ।
उनको दैनिकी सातदोबाटोमा वितेको २२ बर्ष भयो । उनी क्रेटमा पसल थापी आफ्नो गुजारा चलाउँदै आएकी छन् । बिहानदेखि बेलुकासम्म दिनमा पचास रुपैयाँदेखि लिएर सय रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछिन् । उनी बस्ने घर सानो झुप्रो छ । त्यसको भाडा मासिक दुई सय छ ।
‘श्रीमान्को सम्पत्ति त छ । तर बुढेसकालमा सौता लागेपछि भएको सम्पत्तिले पनि के काम लाग्दो रहेछ ?’ उनले गुनासो गरिन् । भविष्यमा सम्पत्ति जोड्नु पनि छैन । अर्काका लागि कमाइदिनु पनि छैन । ‘दैनिक जति कमाउँछु खुशी साथ खान पुग्छ’, उनले भनिन् ‘नपुगेपछि कसलाई माग्नु र ?’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।