लामाबगर नाका खुलाउन स्थानीय र व्यवसायीको माग

 आवाज संवाददाता     २४ पुष २०७३, आईतवार

तिब्बत(चीन)सँग जोड्ने पुरानो लामाबगर नाका खुलाउन स्थानीय र व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । चीनसँगको पुरानो नाका मध्येको लामाबगर(ङ्याङ्लुङ) भरपर्दो नाका पनि हो ।
लामाबगर नाका तातोपानीभन्दा पुरानो चल्तीको नाका भएकाले त्यसलाई सुचारु गराउनु पर्ने स्थानीयको तर्क छ । लामाबगर तिब्बतको फलाक कुती हुँदै ल्हासासम्मको व्यापारका लागि तातोपानी नाका खुल्नुभन्दा अघि काठमाडौंका व्यापारीले प्रयोग गर्ने गरेकोे नाका भएको पूर्व सांसद जितवीर लामाले बताए ।
मोटरबाटो खुलेपछि २०२२ सालपछि तातोपानी सञ्चालनपछि लामाबगर सुस्ताएको पूर्व सांसद लामाले बताए । मल्लकालदेखि काठमाडौं र मिथिलासम्मको व्यापार हुने गरेको उनले बताए । ‘पहिला पहिला भोटको नुन ल्याउने बाटो यही हो’ उनले भने ‘घोडाको व्यापार सिन्धुली, रामेछापसम्म हुन्थ्यो, अब सडक सञ्जालले जोडेर नाका सञ्चालनमा ल्याउनु पर्छ ।’
स्थानीयले लामाबगरसम्म पुगेको सडक सिमानासम्म पु¥याउन पटक पटक सरकारसँग माग गर्दै आएका छन् । नाका सञ्चालन भए पुरानो व्यापारिक मार्ग पुनः व्युतिने स्थानीयहरुको भनाई छ । स्थानीयले माथिल्लो तामाकोसी आयोजना भ्रमणमा पुग्ने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, प्रशासक सबैलाई एउटै माग राख्ने गरेका छन् “हामीलाई अरु केही चाहिँदैन, बाटो मात्र बनाइ देऊ ।”

लामाबगरबाट सिमाना मात्र १२ किमि
लामाबगरसम्म माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको सडक छ । माथिल्लो तामाकोसीको बाँधस्थलबाट लामाबगर(ङ्याङ्लुङ) तिब्बत र नेपालको सिमानासम्म पुग्न करिब १२ किलोमिटर मात्र सडक निर्माण गरे पुग्छ । सिमानामा रहेको ङ्याङ्लुङ भन्ने ठाउँ समुद्री सतहदेखि २ हजार ४ सय मिटरको उचाइमा मात्र रहेको छ ।
सडक विभागले सिमानासम्म पुग्ने सडक निर्माणको लागि ७ वर्षदेखि गरेको लगानी कठिन भीरका कारण काम हुन नसक्दा २० करोड बढी फ्रिज भइसकेको छ । डिभिजन सडक कार्यालय चरिकोटका प्रवक्ता इन्जिनियर कृष्णकुमार महतोले तामाकोसी बाँधभन्दा केही पर ९ सय मिटर सडकको ट्रयाक खुलिसकेको छ । ६ किलोमिटरको लागि केही दिनमै टेण्डर खुल्न लागेको उनले जानकारी दिए ।
इन्जिनियर महतोका अनुसार सबैभन्दा कठिन माथिल्लो तामाकोसीकै बाँध आसपासका कठिन भीरमा सडक निर्माण गर्नु रहेको छ । आयोजना पूरा हुनुभन्दा अघि सडक तयार नगरे त्यसभन्दा माथि लप्ची आउजाऊ गर्ने बाटै बन्द हुने भएकाले पनि स्थानीयहरु बढी चिन्तित छन् ।
तामाकोसीको बाँधक्षेत्रमा ९ सय मिटर लामो सी आकारको सुरुङ निर्माणका लागि ३ वर्ष अघि नै डिजाइन भएको छ । सडक विभागकै अनुरोधमा माथिल्लो तामाकोसीले उसकै चिनीया ठेकेदार र नर्वे र जर्मनीका कन्सल्टेन्ट नरकन्सल्ट÷ल्याह्मेरले विस्तृत अध्ययन गरी प्रतिवेदन सडक विभागलाई बुझाइ सकेको छ । तर अध्ययन प्रतिवेदन दराजमा थन्क्याएको भन्दै सरोकारवालाहरुले सरकारको आलोचना गर्दै आएका छन् ।
लामाबगर नाका खोल्नका लागि लामाबगर १ लप्चीबासीले प्रधानमन्त्री पुष्पकमल दाहाल डेढ महिना अघि लामाबगर आउँदा समेत ध्यानाकार्षण गराएका थिए । स्थानीयको ध्यानाकार्षणपछि आफूसँग रहेका कामु मुख्य सचिव टंकमणि शर्मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सडक तत्काल खुलाउन निर्देशन समेत दिए ।
त्यसको महिनादिनपछि दोलखा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई दोलखा उद्योग वाणिज्य संघले नाका सञ्चालनका लागि सडक पूर्वाधार तयार गर्न ज्ञापन पत्र नै बुझायो । राजनैतिक दलका प्रमुखहरुले पनि लामाबगर नाका खोल्न मन्त्री लेखकलाई आग्रह गरे ।
जिविस दोलखाका पूर्व सभापति समेत रहेका नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लामाबगरभन्दा माथिको १२ किलोमिटर सडक मात्र खोले चीन र भारतको सोझो व्यापारमा सघाऊ पुग्ने बताए । चीन, नेपाल र भारत जोड्ने छोटो मार्ग मध्ये यो मार्ग पर्ने बताए ।

सबैभन्दा सुरक्षित र भरपर्दो नाका हुने
तिब्बतको टिङ्ग्री सहरबाट तातोपानीभन्दा लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक भरपर्दो र सुरक्षित देखिन्छ ।
२०७२ बैशाख १२ को विनासकारी भुकम्प र त्यसपछिको पराकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण बन्द छ । २०७३ कै वर्षात्मा भोटेकोसीमा आएको बाढी, २०७१ मा जुरेको पहिरोले पनि तातोपानी क्षेत्र झन जोखिममा प¥यो । भुकम्पले रसुवाको रसुवागढी नाका जानेबाटो पनि ठाउँ ठाउँको पहिरोले झन् जोखिम बढेको छ । ठाउँ ठाउँको पहिरो, कच्चि, कठिन साँघुरो सडकले तातोपानी र रसुवागढी दुवै नाका कठिन छन् ।
प्राकृतिक प्रकोपका दृष्टिकोणबाट पनि लामाबगर नाका अरुभन्दा सुरक्षित भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताए । “लामाबगर जाने सडकको भोर्ले भीर र काब्रे भीरमा पहिरो देखियो” उनले भने “काब्रे भीरमा तामाकोसी आयोजनाले सुरुङमार्ग बनाइसक्यो, भोर्लेमा पनि पहिरो व्यवस्थापन गर्दैछ, अन्यत्र समस्या कतै छैन ।”
खाडीचौरदेखि चरिकोटसम्म सडक विस्तार भएर २ लेनको हुँदैछ । चरिकोटदेखि सिंगटीसम्म पनि २ लेनकै कालोपत्रे हुँदैछ । सिंगटी लामाबगर सडक पनि २ लेनकै ग्राभेल सडक छ । बाँकी १२ किलोमिटर मात्र सडक खोल्दा नेपालतिर नाका खुल्छ । नाका सञ्चालन र पूर्वाधारको हिसावले यो काठमाडौं र तराई जोड्ने सजिलो र छरितो नाका हुने अध्यक्ष कार्कीले बताए ।
चीनको तिब्बत सरकारले नेपाली सिमाना नजिकसम्म सडक खोली सकेको छ । लप्ची गाउँबाट नजिकको सिमाना नजिकसम्म पनि सडक खुली सकेको छ । दोलखाका लप्चीबासी तिब्बतको छुप्साङ भन्ने बजारमा निर्भर छन् । लप्चीबाट अहिले दुई देशको सिमानापुग्न १ घण्टा लाग्छ । सिमानाबाट तिब्बतको बजार छुप्साङ पुग्नअर्को १ घण्टा लाग्छ । छुप्साङसम्म उताबाट गाडी समेत चल्छ ।
नेपालतर्फ लामाबगरसम्म गाडी पुगेपछि त्यहाँबाट भीर र खोलाको कठिन बाटोका कारण लप्चीबासीको बजार पनि सबै छुप्साङ नै हो । चौरीबाट उत्पादित घिऊ छुर्पी, स्योस्यो, लगायतका वस्तुको बजार तिब्बत नै हो । खाद्यान्न र लत्ता कपडा पनि सबै तिब्बतीयन बजारको भर पर्नुपर्छ ।
भारतीय नाकाबन्दीपछि सरकारले उत्तरका थप ६ वटा नाकाखोल्ने २०७२ असोज २७ गते चीनसँग गरेको समझदारी अनुसार लामाबगर पनि एक हो । अहिले लामाबगरमा छोटी भन्सार छ । लामाबगरमा सीमाप्रशासन, भन्सार, सिमा प्रहरीको संरचना पञ्चायती व्यवस्थादेखि नै छ । नेपाली सेना र सशस्त्र प्रहरी बल पनि तामाकोसी सुरक्षाका लागि खटिएका छन् ।
लामाबगरबाट करिब ३ किलोमिटर तिब्बततिर गएपछि जुमखोला पुगिन्छ । जुमखोला लप्चीबाट आउने र ङ्याङ्लुङबाट आउने संगम स्थल हो । जुम खोलाबाट लप्ची र फलाक जाने बाटो छुटिन्छ । लामाबगरदेखि जुम खोलासम्म नै सबैभन्दा कठिन भीर छ ।
लामाबगरदेखि काठमाडौंसम्मको दुरी २ सय किलामिटर र लामाबगरदेखि भारतको सिमाना–भिट्टामोडसम्मको दूरी २ सय ५० किलोमिटर रहेको छ । लामाबगर पुग्न सिंगटीदेखि २९ किमि डबल लेनको ग्रयाभलिङ सडक सञ्चालनमा छ ।
अब करिब ३० किलोमिटरमालप्चीसम्म वा १२ किलोमिटरमा ङ्याङ्लुङसम्म सडक विस्तार गर्न सके ३ देश एउटै सडक सञ्जालले जोडिनेछ । दोलखाका राजनैतिक दल र जनप्रतिनिधिहरुले जसरी पनि लामाबगर नाका खोली पुरानो व्यापारिक सम्बन्ध पुर्नस्थापित गर्न जोड दिदैं आएका छन् ।

तस्बिरः १ लामाबगरबाट लप्ची जाँदै स्थानीयहरु । तस्बिर दिल

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF