करिब १४ करोड बजेट प्रस्ताव गर्दै भीमेश्वरको नगरपरिषद् सम्पन्न

 आवाज संवाददाता     २६ पुष २०७३, मंगलवार

दोलखा, पुस २६/भीमेश्वर नगरपालिकाको २३ औँ नगरपरिषद् आज सम्पन्न भएको छ । आगामी वर्षको लागि सवा १३ करोड बजेट प्रस्ताव गर्दै परिषद् सम्पन्न भएको हो ।
सांसद् आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न परिषद्ले आर्थिक वर्ष २०७४/०७५ का लागि १३ करोड ७९ लाख ३६ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ । त्यसमध्ये पूँजीगत खर्च ७ करोड ६४ लाख ७१ हजार र चालु खर्च १ हरोड ८९ लाख ६५ हजार ५ सय रहेको छ । त्यसैगरी सामाजिक सुरक्षा तर्फ ४ करोड २५ लाख रहेको छ । कूल पूँजीगत खर्च ८० दशमलव १३ र चालु खर्च १९ दशमलव ८७ प्रतिशत रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
परिषद्ले चालु आर्थिक वर्षको खर्चसमेत अनुमोदन गरेको छ । चालु आर्थिक बर्ष २०७३/०७४ को लागि पुँजीगत खर्च रु ७ करोड ३८ लाख ५४ हजार र चालु खर्च रु १ करोड ७९ लाख ८९ हजार १ सय ६२ रुपैयाँ ३२ पैसा सामाजिक सुरक्षा तर्फ ४ करोड ९ लाख ५३ हजार समेत कुल बजेट १३ करोड २७ लाख ९४ हजार १ सय ६२ रुपैया ३२ पैसा रहेको थियो ।
भीमेश्वर नगरपालिकाका कार्याकारी अधिकृत नरबहादुर विकका अनुसार आगामी आर्थिक बर्ष २०७४/०७५ को लागि नगरपालिकालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय, दोलखा र अन्य निकायबाट प्राप्त बजेट सम्बन्धी मार्ग निर्देशन तथा सिलिङका आधारमा आगामी आर्थिक बर्ष बजेट अनुमान गरिएको हो ।
आगामी वर्षको वजेटले ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहरका रुपमा रहेको दोलखा वजारको पुनःनिर्माण गर्न, भीमेश्वर नगरपालिका क्षेत्रभित्र खानेपानीको सहज उपलब्धताको सुनिश्चतता गर्न, नगरपालिकाको सेवा सुविधा एवं महत्वपूर्ण जानकारीहरुको साथै पुनःनिर्माणको कार्यलाई अझ प्रभावकारी बनाउन, वातावरण प्रदुषण हुन नदिन नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिकाको रुपमा विकास गर्न प्राथमिकता दिएको कार्यकारी अधिकृत विकले जानकारी दिए ।
भीमेश्वर नगरपालिकामा रहेर विभिन्न क्षेत्रको बिकास गर्ने कर्मचारीलाई प्रसंसा पत्रको पनि वितरण गरेको थियो । आफ्नो पसल अगाडि सरसफाइ गरेवापत चरिकोट बीचबजारमा व्यवसाय गर्दै आएकी देवकी थापालाई सम्मान गरिएको छ । त्यसैगरी भीमेश्वर नगरपालिका वडा नं. २ की पार्वती श्रेष्ठ, खरिददार लक्ष्मी कार्की, सवारी चालक राजु कार्की, कार्यालय सहयोगी गोविन्द श्रेष्ठ, सामाजिक परिचालक सोमबहादुर थामीलाई पनि सम्मान गरिएको छ । त्यस्तै चरिकोट बजारमा सवारी व्यवस्थापन गरी बजार व्यवस्थापनमा योगदान पु¥याएवापत जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक नयनबहादुर भण्डारीलाई सम्मान गरिएको छ । सम्मानित सबैलाई प्रमुख अतिथि सांसद आननद प्रसाद पोखरेलले प्रसंसा पत्र वितरण गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।