कलाकारहरुले स्कुल बनाए, मन्त्रीले गरे उद्घाटन (फोटो फिचरसहित)
आवाज संवाददाता १० असार २०७३, शुक्रबार
दोलखा, असार १०/शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत वर्षको विनासकारी भूकम्पले क्षति भएका विद्यालय भवन तथा कक्षाकोठाहरु तीन वर्षभित्र निर्माण गरिसक्ने दावी गरेका छन् ।
सुन्द्रावती गाविस ८ को सरस्वती प्राविको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालय सरकारको पहिलो प्राथमिकतामा रहेको दावी गरे । सुन्द्रावती स्थायी घर भएका गीतकार सुदीप रेग्मी र प्रसिद्ध गायक प्रमोद खरेलको विशेष पहलमा निर्मित ५ कोठे भवनको मन्त्री पोखरेलले आज उद्घाटन गरेका हुन् ।
चर्चित कलाकार तथा संगीत क्षेत्रका व्यक्तिहरुको पहल र उपस्थितिमा भएको विद्यालय उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले कलाकारहरुको प्रशंसा गर्दै मुलुकका विद्यालय र कक्षाकोठा निर्माणका लागि उनीहरुको थप सहयोगको अपेक्षा पनि गरे । उनले मुलुकभर ८ हजार विद्यालय क्षतिग्रस्त भएको बताए । शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर विद्यालय भवन निर्माण गरेकोमा कलाकारहरुको सराहाना गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईँहरुको काम प्रशंसनीय छ, यसलाई निरन्तरता दिँदै सरकारलाई साथ दिनुहोस् ।’
भवन निर्माणको संयोजन गर्ने गीतकार सुदीप र गायक प्रमोदले सुन्द्रावतीका अन्य विद्यालय भवन पनि बनाइदिन पहल गर्ने बताए । विद्यालयका प्रधानाध्यापक प्रह्लाद प्रसाद पकुवालले कलाकारहरुले उपलव्ध गराएका १८ लाखको लागतमा विद्यालय भवन निर्माण भएको बताए ।
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा कलाकारहरु किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, गायक प्रमोद खरेलका साथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।