वर्षमा ६ महिना काम गरेर ४० मेगावाटको खानी १ को ८० प्रतिशत काम पूरा

 आवाज संवाददाता     २७ पुष २०७३, बुधबार

दोलखा, २७ पुस
अर्बौं लगानी गरेर निर्माण गरेको जलविद्युत आयोजना बनाउन रात दिन काम गर्नु पर्छ । तर दोलखामा एउटा यस्तो आयोजना छ जहाँ ६ महिना पनि काम गर्न सकिन्न । तर यस्तो ठाउँमा केही युवा मिलेर ४० मेगावाटको जलविद्युत आयोजना बनाउँदैछन् । आयोजनाको हालसम्म ८० प्रतिशत काम पूरा भएको छ ।
मार्बू गाविस ९ को उच्च स्थानमा सो आयोजनामा निर्माणाधिन छ । आयोजनामा मंसिर लागेपछि सुरुङ भित्र बाहेक बाहिरी सतहमा चिसोको कारण काम गर्न सकिन्न । सुरुङ भित्र तापक्रम पुग्ने भएकाले मेसिन जडान लगायतको काम जारी छ । आयोजनाको हेडवक्स(बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरी) को काम गर्ने ठाउँमा मंसिरदेखि मध्ये फागुनसम्म हिउँ तुसारो र हिउँ जम्ने हुनाले काम गर्न सकिन्न ।
आयोजनाको काम ५ वर्ष अघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रबद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावर हाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैंले निर्माण गरेको छ । त्यहाँबाट सामान ढुवानीका लागि हेडवक्ससम्म रोप वे निर्माण गरेको छ । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आफैंले बेलिब्रिज हालेको छ ।
आयोजनाले तामाकोसी सहित, गुरुम्फि, घट्टेखोला लगायत ४ ठाउँमा बेलिब्रिज हालेको छ । जसले स्थानीयलाई समेत सहज भएको छ । तर सरकारले आयोजनाको काम सुरु हुनु अगावै ठेक्का लगाएको भोर्लेमा तामाकोसीमाथिको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुङ्गो समेत छैन ।
आयोजना मार्बू ९ को खानी खोला र हनबू खोलाको दोभानमा पर्छ । त्यहाँ भूमिगत रुपमा पावर हाउसको काम भइरहेको छ । खानी खोलालाई फर्काएर साँढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावर हाउससम्म ल्याइने छ ।

????????????????

आयोजनाको ग्रस हेड ९ सय ९३ मिटर छ । आयोजनाको प्रबद्र्धक ग्रिन लाइफ इनर्जी प्रालिका निर्देशक भुषण थापाले हेडरेस र ठाडो सुरुङको काम पूरा भएको बताए । सिभिल तर्फ हेडवक्सको काम केही बाँकी छ । त्यो पनि अब गर्मी सिजन सुरु भएपछि गरिन्छ । अब पावर हाउसमा उपकरण जडान, ठाडो सुरुङमा पेनस्टक पाइप जडान र सवस्टेशनको काम मात्र बाँकी भएको उनले बताए ।
निर्देशक थापाका अनुसार पहिलो चरणमा खानी खोलाको पानी फर्काएर २५ मेगावाट विद्युत उत्पादन गरिने छ । दोस्रो चरणमा हनबू खोलाको पानी फर्काएर हेडवक्समा खसालेपछि थप १५ मेगावाट थप हुनेछ । तर आयोजनाको हेडवक्स, सुरुङ, पावर हाउस सबै ४० मेगावाटकै लागि तयार भएका छन् । आयोजनाको उपकरणहरु ढुवानी समेत भइसकेको उनले जानकारी दिए ।
‘भुकम्प नगएको भए ६ महिना अघि आयोजना पूरा भइ सक्थ्यो’ उनले भने ‘तर भुकम्प र नाकाबन्दीका कारण डेढ वर्ष काम गर्नै सकिएन, यो वर्षापछि सडक मर्मत्पछि काम सुचारु भएको छ ।’ अब आयोजना २०७५ असारसम्म पूरा गर्ने लक्ष्य छ ।
आयोजनाले सडक निर्माणपछि लगत्तै आयोजनाको काम सुरु गरेको हो । हिउँदको चिसोमा हिउँ र तुसारोले काम गर्न सकिन्न । बर्खा लागेपछि बाढी र पहिरोले सडकै बगाउँने भएकाले काम गर्न सकिन्न । काम गर्ने मौसम भनेको असोज, कात्तिक, मंसिर मध्येसमम्म र फागुन मध्येदेखि जेठसम्म मात्र हुन्छ ।
आयोजनामा प्राइम बैंक, नविल, सिटिजन्स लगायत ९ वटा बैंकले ऋण लगानी गरेका छन् । कुल ४ अर्बको अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानी रहेको छ । आयोजनामा विदेशमा गएर अध्ययन गरेर फर्केका युवा उद्यमीहरु संलग्न छ । आयोजनाबाट उत्पादित विद्युत ३९ किलोमिटर लामो प्रसारण लाइन बनाएर सिंगटी सवस्टेशनमा जोडिने छ । तर सिंगटी सब स्टेशन बन्न ढिला भएकाले आयोजनाको काम पनि ढिला भएको हो ।

????????????????

विद्युत प्राधिकरणले सिंगटी सब स्टेशन र सिंगटी लामोसाँघु प्रसारण लाइनको काम समयमा नगरेपछि स्थानीय प्रबद्र्धकहरुले भारतीय ठेकेदार कम्पनीसँग समन्वय गरेर आफैं बनाउने तयारी गरेका छन् । ग्रिन लाइफले सडक लगायतका पूर्वाधार तयार गरेपछि त्यसभन्दा तल ३० मेगावाटको खानी खोला, ५ मेगावाटको घट्टे खोला, २५ मेगावाटको खारे खोला, ११ मेगावाटको तल्लो खारे खोला, ७ मेगावाटको सुरी खोला र ७ मेगावाटको माथिल्लो गुरुम्फी खोला आयोजना समेत सुरु भएका छन् ।
आयोजनाले सडकको नियमित मर्मत पनि आफैं गर्दै आएको छ । आयोजनास्थलसम्म पुगेको सडकले मार्बूको गाउँ गाउँ नै घुमाएको छ । आयोजनाका सरोकार समिति संयोजक मिङ्गुर शेर्पाले आयोजनाको सडककै कारण सुरी, चंखु, मार्बू र खारे प्रत्यक्ष लाभान्वित भएको बताए । आयोजनाले ग्रामीण सडकका लागि ४ वटै गाविसलाई प्रति गाविस ३५ लाखका दरले सहयोग पनि गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF