अर्घाखाँची महोत्सवमा ढुंगामुढा, उर्जामन्त्रीलाई प्रहरीले जोगायो

 आवाज संवाददाता     २८ पुष २०७३, बिहीबार

अर्घाखाँची, २८ पुस । सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ ।

कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए ।

ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।

भाषणै नगरी फर्किए ऊर्जामन्त्री, दुई घाइते

अर्घाखाँची जिल्लामा बिहीबारदेखि अर्घाखाँची महोत्सव सुरु गरिएको थियो । तर, उदघाटन समारोह भइरहेको माञ्चमै ढुंगा बर्सिएपछि उर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर प्रदेश टुक्रिँदैमा देश टुक्रिँदैन’ भनेपछि युवाहरुले ढुगांमुढा गरेका हुन् ।

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धीखर्क आएका उर्जामन्त्री महोत्सवमा मन्तव्य राख्न पाएनन् । उनी त्यसै फर्किए । स्थानीयको ढुंगामुढा र चर्का नारावाजीपछि कार्यक्रम वीचैमा स्थगित भएको छ ।

स्थानीयको नाराबाजी र ढुंगामुढा पछि उर्जा मन्त्री शर्मालाई प्रहरीले स्कटिंग गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो ।

माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको छ ।

तर, ढुंगा बर्सिएपछि दुईजना सर्बसाधारण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्लामा अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

जिल्लाको पर्यटन, व्यापार र संस्कृति प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सव चर्को राजनीतिक ध्रुवीकरणको कोपभाजनमा परेको छ ।

विहीबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले ५ नम्बर प्रदेशका अर्घाखाँचीबासीहरु सुरुङमार्गबाट प्रदेशको राजधानी पोखरा जाने अभिव्यक्ति दिएका थिए ।

घनश्याम पौडेलले अनलाइनखबरमा लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।