मधेशी मोर्चाले भन्योः– “पहिला केन्द्रीय संसदको चुनाव गरौं”

 आवाज संवाददाता     २९ पुष २०७३, शुक्रबार

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सबैभन्दा पहिले केन्द्रीय चुनाव गर्न माग गरेको छ। यसअघि मधेशी मोर्चाले अहिलेसम्म कुन निर्वाचन गर्ने भनेर आफ्नो धारणा सार्वजनिक गरेको थिएन। संविधान संशोधन विधेयक परिमार्जनसहित पारित भएपछि निर्वाचनमा जाने मात्रै मोर्चाले भन्दै आएको थियो। व्यवस्थापिका संसद बैठकको बिशेष समयमा बोल्दै तराई मधेश सद्‌भावना पार्टीका अध्यक्ष एवं सांसद महेन्द्र राय यादवले मधेशी मोर्चा पहिला केन्द्रको निर्वाचन गर्ने पक्षमा रहेका बताएका हुन्। केन्द्रको निर्वाचनपछि प्रदेशको र त्यसपछि मात्रै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा मोर्चा रहेको उनले बताए। स्थानीय तहको निर्वाचन प्रदेशको मातहतमा गर्नुपर्ने समेत उनले बताए। प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न खोज्नु संघीयता खारेज गर्ने षड्यन्त्र भएको यादबको आरोप छ। ‘संविधान संशोधन विधेयकालाई परिमार्जन सहित पारित गरेर मात्रै निर्वाचन सम्बन्धी विधेयकहरु पारित गर्नुपर्छ,’ यादवले भने, ‘राष्ट्रिय सभाका सदस्यको लागि स्थानीय तहलाई मतदानको अधिकार नदिइकन प्रदेशलाई दिनुपर्छ।’ दुई नम्बर प्रदेश र पश्चिमका अन्य जिल्ला मात्र नभइ पहाड र हिमालबाट समेत स्थानीय तह पुनसंरचना आयोगले बुझाएको रिपोर्टको बिरोध भएको यादबले दाबी गरे। प्रदेश र स्थानीय तहलाई राजश्वको अधिकार नभइकन केन्द्रलाई मात्रै दिइएको उनले बताए।् यषसैबीच संसद बैठक माघ ७ गतेसम्मका लागि स्थगित भएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।