दोलखामा भूकम्प सुरक्षा दिवस मनाइयो

 आवाज संवाददाता     २ माघ २०७३, आईतवार

दोलखा, २ माघ /आज दोलखा सदरमुकाम चरिकोटमा १९ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । प्रभातफेरीपछि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
सातदोबाटोमा आयोजित समारोहमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले ‘बलियो घर, मलाई के को डर’ नामक सडक नाटक प्रर्दशन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले भूकम्प पश्चात अप्नाउनुपर्ने सावधानी तथा विरामीहरुको सुरक्षाका विषयमा प्रस्तुती गरेको थियो ।
कार्यक्रममा शहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाका प्रमुख एकराज अधिकारीले सुरक्षित घर निर्माणका वारेमा स्पष्ट पारेका थिए । कालीनाग माविका प्रधानाध्यापक रामबहादुर शिवाकोटी, कालिन्चोक माविका छात्रा सानु श्रेष्ठले भूकम्पबाट बच्नका लागि बलियो घर बनाउनुपर्नेमा आआफ्नो धारणा राखेका थिए ।
१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।


दोलखाका प्रमुख जिल्ला अधिकारी जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष यज्ञराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।