सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा दर्जन आयोजना समस्यामा

 आवाज संवाददाता     २ माघ २०७३, आईतवार

दोलखा, २ माघ
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा दोलखाको उत्तरी क्षेत्रमा निर्माणाधिन दर्जन आयोजना समस्या परेका छन् । दुई वर्षमा पूरा गर्ने गरी ७ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम सुरु समेत हुन सकेको छैन । प्रसारण लाइन नबन्दा दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ ।
दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतकै लागि लक्षित गरी नेपाल विद्युत प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १ सय २१ वटा टावर निर्माण गर्नुपर्छ ।
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलका अनुसार विद्युत प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्षभित्र प्रसारण लाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने रहेको छ ।
सम्झौता अनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सबस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनी समेत सम्पर्क विहीन हुँदा काम अघी बढ्न नसकेको हो ।
आयोजना प्रमुख ढुङ्गेलले सव स्टेशनको काम भन्दा पनि प्रसारण लाइनको काम सुरु नै नभएकाले चुनौती भएको बताए । “सव स्टेशनको काम त ८० प्रतिशत जति सकिएको छ, अब काम सुरु गर्ने हो भने ३÷४ महिनामा सकिन्छ” उनले भने “तर प्रसारण लाइनको काम सुरु नै नभएकाले के गर्ने भन्ने विषयमा छलफल जारी छ ।”
ठेकेदार कम्पनीसँग पटक पटक म्याद थप भएपछि पनि थप प्रगति हुन नसकेपछि स्थानीय जलविद्युत आयोजनाका प्रवद्र्धकहरुले आफैंले चासो लिए । खानी खोला (४० मेगावाट)को पहलमा विद्युत आयोजनाको प्रबद्र्धकहरु आफैं प्रसारण लाइनको ठेकेदार भेट्न पटक पटक दिल्ली पुगे ।
अर्बौं लगानी गरेर पूरा हुन लागेको आयोजना प्रसारण लाइनकै कारण वार्षिक करोडौंको विद्युत खेर जाने भएपछि अरावलीसँग मिलेर आफैं प्रसारण लाइन बनाउने गरी २ पटक म्याद थप भयो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF