अब स्वास्थोपचार गर्दा कोही पनि कंगाल हुँदैन – स्वास्थ्यमन्त्री थापा

 आवाज संवाददाता     ३ माघ २०७३, सोमबार

दोलखा, माघ ३ / स्वास्थ्य मन्त्री गगनकुमार थापाले औषधी र उपचारको अभावमा अब कसैले पनि ज्यान गुमाउनु नपर्ने बताएका छन् ।
नेपाल सांस्कृतिक संघ, दोलखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री थापाले ८ प्रकारका खर्चिला रोगको उपचार निशुल्क गर्ने व्यवस्था गर्न लागिएको बताए । मन्त्री थापाले भने, ‘उपचार गर्दा कोही पनि कंगाल नहुने वातावरणका लागि हामी काम गरिरहेका छौँ ।’
स्वास्थ्य विमाको कार्यक्रमबारे जानकारी दिँदै मन्त्री थापाले अब विमामार्फत जनताको उपचार सरकारले गराउन लागेको बताए । मन्त्री थापाले थपे, ‘कानुन बनाएर विमामार्फत जनताको स्वास्थ्यको जिम्मा सरकारले लिन्छ ।’ आफू भीआइपीको नाममा उपचार खर्च नलिने दावी गर्दै उनले भने, ‘भीआइपीको नाममा खर्च लिने कुरालाई निरुत्साहित गर्छु ।’
मन्त्री थापाले चरिकोटको स्वास्थ्य केन्द्र अब अस्पताल हुने र जिरी तथा सिँगटीको अस्पतालहरु स्तरोन्नति हुने बताए । पहिलेको जस्तो अहिले औषधी अभावका खबर कम सुनिएको उल्लेख गर्दै मन्त्री थापाले प्रत्येक जिल्लामा औषधी किन्नका लागि पुग्दो पैसा गएको समेत बताए । काम गर्नेलाई स्वास्थ्यकर्मीलाई सम्मान गर्ने उल्लेख गर्दै मन्त्री थापाले जिल्लामा औषधी वितरण नगर्ने र गर्न नसक्ने जिल्लाका प्रमुखहरु हट्ने बताए ।

‘जेठसम्म स्थानीय तहको चुनाव हुन्छ’

स्वास्थ्य मन्त्री थापाले आगामी जेठसम्ममा स्थानीय तहको चुनाव हुने बताए । अब संसद बैठक सुरु हुने वित्तिकै निर्वाचन विधेयक पनि पास हुने, संविधान संशोधन विधेयक पनि पारित हुने र स्थानीय तहको निर्वाचन समेत घोषणा हुने दावी उनले गरे ।
नेपाल सांस्कृतिक संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटनको क्रममा चरिकोटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री थापाले पार्टीको हारजित भन्दा पनि देशले जित्नका लागि चुनाव अनिवार्य रहेको बताए । चुनाव जसरी पनि हुने भएकाले पार्टी पङ्क्तिलाई आ–आफ्नो क्षेत्रमा चुनावी तयारीमा लाग्न निर्देशन समेत दिए । चुनावमा हारिन्छ भनेर कुनै पनि दल चुनावै रोक्न लाग्न नहुने उनको तर्क थियो ।

श्रष्टाहरु सम्मानित

संघको दोस्रो जिल्ला अधिवेशनको अवसरमा दोलखाका जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा ख्याति कमाएका श्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ संगीतकार शक्ति बल्लभ, चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी, साहित्यकार भोजराज न्यौपाने तथा गायक तथा गीतकार केशवराज चौलागाईँ छन् ।

आजै साँझ मन्त्री थापाले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको निरीक्षण समेत गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।