प्राणघातक जुनोटिक रोगहरुबारे अन्तरक्रिया

 आवाज संवाददाता     ५ माघ २०७३, बुधबार

मन्दिरा बस्नेत

दोलखा/जिल्ला पशु सेवा कार्यालय दोलखाले जनावरहरुबाट सर्ने जुनोटिक रोगबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुनोटिक रोगहरु पशुहरुबाट मानिसहरुमा र मानिसहरुबाट पशुहरुमा वा दुबै तरिकाले सजिलै सर्न सक्ने भएका कारण सचेत रहनुपर्ने जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत डाक्टर नवरत्न प्रधानले जानकारी लिए ।
जुनोटिक रोगहरुमा रेविज, वर्ड फ्लु, जापानिज इन्सेफाइलिस आदि प्राणघातक रोग भएकोले खासगरी पशुपालक कृषक तथा घरपालुवा जनावर पाल्नेहरु चनाखो रहनुपर्ने डाक्टर प्रधानले बताए ।
प्रधानका अनुसार संसारभरि मानिसमा पाइने रोगहरु मध्ये करिब ३०० भन्दा बढी रोगहरु जनावरबाट मानिसमा सर्दछ भने नेपालमा पनि करिब ५९ भन्दा बढी रोगहरु जुनोटिक भएको अनुमान गरिएको छ ।
यो रोगको असर सिधै दिमागमा पर्ने भएकोले यो रोगको कुनै उपचार नभएको हो । बिशेषतः यो रोगको जोखिममा रोगी पशुपंक्षी, कुकुर, बिराला, बधशालामा काम गर्ने बधशालाकर्मी, मासु व्यवसायीहरु, मासु निरीक्षक पर्दछन् ।
जुनोटिक रोग लाग्ने मानिसमा टाउको दुखने, कमजोर हुने, महिला तुहिने जस्ता लक्षण देखा पर्दछ ।
डाक्टर प्रधानका अनुसार यस रोगलाई रोकथाम गर्न पशुहरुको संसर्गपछि साबुन र पानीले हात धुने, पशुपंक्षीको उचित व्यबस्थापन गर्ने, पशुपंक्षी आदिको हेरचाह गर्दा साबधानी अपनाउने, खाद्य सुरक्षा, जैविक सुरक्षाको अवलम्वन गर्ने, सरसफाइ तथा निसंक्रमण जस्ता उपाय अपनाउनुपर्ने कुरा गोष्ठीका सहभागीहरुलाई जानकारी गराइएको थियो ।

गोष्ठीको प्रमुख आतिथ्य प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले गरेका थिए  ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।