कुलमानले उज्यालो बनाए तर दोलखा हाकिम सम्पर्कमै आएनन्

 आवाज संवाददाता     ६ माघ २०७३, बिहीबार

लप्चीदेखि ३ दिनको यात्रा गरेर बल्ल सदरमुकाम आएका लप्चीका नागरिकलाई बिजुली बत्ती बाल्ने रहर लागेर निवेदन सहित नेपाल विद्युत प्राधिकरणको दोलखा वितरण युनिटमा पुगे । मंगलबार प्राधिकरण युनिट पुग्दा जम्मा २ जना गेटपाले मात्र थिए ।
प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख शेरबहादुर सुनारको मोबाइल मागेर पटक पटक फोन गरे तर उठेन ‘गुनासो सुन्ने अधिकारी भनेर बोर्डमा लेखेका इन्जिनियर उमेश श्रेष्ठको मोबाइल नं. देखेर उसलाई फोन गरेको तर म त अर्को नो कार्यालयमा छु त्यहीं आउनुस् भने’ लप्चीबाट आएका कर्मा शेर्पाले भने ‘प्राधिरकणको तिखातलमा रहेको मुख्य कार्यालय बल्ल पत्ता लगाएर आयौं तर हरेक व्यक्तिको कार्यालय कहाँ छ कसरी पत्ता लगाउँनु ?’
कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि काठमाडौं पूरै उज्यालो भयो रे भन्ने समाचार सुनेर अब आफ्नो गाउँमा पनि उज्यालो बनाउन बिजुली माग्न लप्चीबासी आएका हुन् । हाकिम र गुनासो सुन्ने अधिकारीबाट पनि काम नहुने भएपछि बल्ल आएका एक जना सह लेखापालले उनीहरुको निवेदन त बुझे तर तोक लगाउने हाकिम नभएको भन्दै दर्ता हुन नसकेको कर्माले बताए ।

५० हजार लिन १० दिन 

लामाबगर १ लप्चीका भुजुङ शेर्पा घर बनाउन सरकारले दिएको पहिलो किस्ता पाएपछि मुस्कुराउँदै गाउँ फर्किए । प्रधानमन्त्री पुष्पकमल दाहालले दसैं अघि नै भुकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता दिन पुनः निर्माण प्राधिकरणलाई निर्देशन दिए पनि लामाबगरका भुजुङले त्यसको ४ महिनापछि अर्थात विहीबार(माघ ५) मा मात्र रकम बुझे ।
लप्चीबाट घर बनाउन राहत लिनका लागि भुजुङ सहित गाउँले सबै चरिकोट आए । लप्चीबाट चरिकोट आउनका लागि लामाबगरसम्म कठिन २ दिनको पैदल यात्रा पछि एक दिनको बस यात्रा गर्नु पर्छ । लप्ची गाउँ लामाबगर १ तिब्बतीयत सिमा क्षेत्रमा पर्छ ।
लप्चीबाट आएका भुजुङ सहित १८ घर परिवारले राहत लिए । लामाबगर गाविसको सम्पर्क कार्यालय चरिकोटमा घर निर्माणको सम्झौतापछि उनीहरुले बैंकबाट राहत लिएका हुन् । गाविससँग सोमबार र मंगलबार सबैले सम्झौता गरे । त्यसको विवरण जिविसहुँदै बैंकलाई जानकारी भएपछि विहीबार उनीहरुले पहिलो किस्ता बुझेका हुन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण समन्वन समिति इकाई दोलखाले निजी आवास पुनःनिर्माणका लागि लामाबगरबासीका लागि बैंक नबील बैंकलाई तोकेको छ । नबीलको शाखा चरिकोट मात्र भएकाले लामाबगरबासी सबैं चरिकोट आउनु पर्ने बाध्यता छ ।
पहिलो किस्ता लिन आउँदा लप्चीबासीलाई आउँदा जाँदा ६ दिन लाग्छ । त्यस्तै सम्झौता गर्न, किस्ता बुझ्न सहित थप ४ दिन गर्दा १० लागेको लप्चीका अर्का लाभग्राही तेब्तेन शेर्पाले बताए । ‘त्यो पनि बल्ल पाइयो, हामीलाई आउन जान नै कठिन छ’ उनले भने ‘सरकारले दिन भनेको ३ लाख एकमुष्ट दिएको भए हामीलाई सजिलो हुन्थ्यो ।’ ५० हजार लिन आउँदा २५ हजारभन्दा बढी बाटो खर्चमै सकिने उनले बताए ।

तिब्बतको बजारमा सहजै चौरी व्यापार गर्न माग

सदरमुकाम आएको बेला उनीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालय पुगेर आफ्ना गुनासो पनि गरे । प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफूहरु सिमा क्षेत्रमा बस्ने भएकाले चौरीको व्यापार तिब्बतीयन नजिकका बजारमा गर्न पाउँनु पर्ने माग राखे ।
लप्चीबासीको एक मात्र पेशा चौरी पालन हो । चौरी नेपालतिर ल्याउनको लागि बाटोको जोखिम भएकाले उतै व्यापार सहज बनाइदिन प्रमुख जिल्ला अधिकारीसँग माग राखेको छ्योरागेफेलिङ गुम्बा व्यवस्थापन समितिका सचिव कर्माहुसेर शेर्पाले बताए । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले लप्चीबासीको कठिनाइ आफूले बुझेकाले उनीहरुको मागको विषयमा माथिल्लो निकायमा समेत लेखेर पठाउँने र सिमाक्षेत्रको बैठकमा समेत आफूले गम्भिर रुपमा उठाउने बताए ।
हिड्न समेत कठिन बाटो भएकाले पटक पटक आफूहरु हिड्ने बाटो सहज बनाइदिन माग राख्दै आएका छन् । लामाबगरदेखि लप्चीसम्म पुग्न तामाकोसीको किनारै किनार भीरको बाटो हिड्नु पर्छ । भीरमा गलले खोपेर लहराले बाँधेको बाटो हिड्नु पर्ने बाँध्यता उनीहरुको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।