सुचना नदिएको भन्दै टुकी संघमा तरुण दलको ताला

 आवाज संवाददाता     ९ माघ २०७३, आईतवार

मन्दिरा बस्नेत
चरिकोट, ९ माघ

नेपाल तरुण दल दोलखाले ग्रामीण विकास टुकी संघमा तालाबन्दी गरेको छ । तालाबन्दीपछि टुकीसंघको आइतबारबाट कामकाज प्रभावित भएको छ । ग्रामीण विकास टुकी संघ दोलखाको पुरानो गैर सरकारी संस्था हो ।
तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले भुकम्प यता भएका खर्च विवरणको उपलब्ध गराउन एक महिना अघि टुकी संघमा सूचना माग्दा नपाएकोले तालाबन्दी गरेको बताए । ‘हामीले सुचना हक सम्बन्धी ऐन २०६४ बमोजिम २०७३ पुस ४ गते भुकम्प पीडितका नाममा भएको खर्च विरण माग ग¥यौं’ उनले भने ‘७ दिनभित्र पाउनु पर्ने सूचना एक महिना वितिसक्दा समेत वास्ता नगरेको र सुचना दिन नभ्याएको भन्ने जवाफ पाएपछि तालाबन्दी गर्न बाध्य भयौं ।’
भुकम्प पीडितका नामा करोडौं सहयोग ल्याएर खर्च गर्ने संस्था पारदर्शी र अनियमित भएको पाइएको उनले बताए । तरुण दलले विगतदेखि नै भुकम्प पीडितका नामा आएको सहयोग पीडितको मै सही ढंगले खर्च गर्न आग्रह गर्दागर्दै केही संघ संस्थाले आफूखुशी गरेकाले अब आन्दोलनमै उत्रनु परेको अध्यक्ष शेर्पाले बताए ।
डेढ महिना अघि पनि सुआहारा परियोजनाका लागि ग्रामीण विकास टुकी संघले कर्मचारी छनौट पारदर्शी नभएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेपछि त्यो प्रक्रिया स्थगित छ । त्यसलाई प्रशासनले छानविन गरिरहेको छ ।


तरुण दलले पहिलो चरणमा ग्रामीण विकास टुकी संघमा तालाबन्दी गरे तापनि अनियमित र अपारदर्शी गर्ने अन्य संघ संस्थालाई पनि कारबाही गर्ने उनले बताए । तालाबन्दी पछि आयोजित पत्रकार सम्मेलनमा दोलखामा कार्यरत एनजिओ आइएनजिओलाई भुकम्प पीडितका नाममा आएको कार्यक्रम चुस्त दुरुस्त हिसाव राखी सार्वजनिक गर्न समेत आव्हान गरेको छ । अन्यथा भुकम्प पीडितका नाममा आएको बजेटमा भ्रष्टाचार गरी मनपरी गर्नेहरु विरुद्ध थप सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
तरुण दलले दोलखाका एनजिओहरुमा सीमित पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप समेत लगाएको छ । दोलखामा क्रियाशिल अधिकांश एनजिओहरु एमाले निकट नेताहरुले सञ्चालन गर्दै आएका छन् ।
ग्रामीण विकास टुकी संघमा तालाबन्दीपछि गैसस महासंघ दोलखाले आपत्ती जनाएको छ । गलतै गरेको भए कारबाही गर्ने कानुनी बाटो हुँदाहुँदै पनि तालाबन्दी नै गर्न नहुने प्रतिक्रिया दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF