शिक्षकको मूल्याङ्कन विद्यार्थीको गुणस्तरबाट हुनुपर्छः शिक्षामन्त्री पोखरेल

 आवाज संवाददाता     १० असार २०७३, शुक्रबार

दोलखा, १० असार/शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको मूल्याङ्कन शैक्षिक गुणस्तरका आधारमा गर्नुपर्ने बताए । अहिलेसम्म शिक्षक राजनीतिमा बढी सक्रिय हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदा निजी विद्यालयप्रति आकर्षण बढेको उनले बताए ।

दोलखा जिल्लालाई पूर्ण साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ शिक्षा ऐन आएसँगै पार्टीका झण्डा बोक्ने र नेता बनेकै आधारमा गरिने शिक्षकको मूल्याङ्कन अन्त हुने बताए । शिक्षक र प्रधानाध्यापकहरुलाई अब आफ्नो विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।IMG_20160624_133527
“शिक्षकले राजनीति गर्न पाउँनुपर्छ” उनले भने “तर राजनीतिक पार्टीको कार्यकारी पदमा बस्न पाइदैन ।” शिक्षकहरु विद्यालयको काम भन्दा पार्टीको राजनीतितिर बढी ध्यान दिंदा सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयकोभन्दा कमजोर भएको बताए ।
संसदबाट पारित भएको शिक्षा ऐन (आठौं) संशोधन पारित भए तापनि राष्ट्रपतिबाट प्रमाणिकरण हुनासाथ कार्यान्वयन हुने उनले बताए । संशोधित ऐनले शिक्षाका धेरै समस्या समाधान हुने बताए । यसले वर्षौंदेखि अस्थायी रहेका १६ हजार शिक्षकका समस्या समाधान हुने विश्वास गरे ।
शिक्षालाई प्रविधिसँग जोड्न आवश्यक छ, तर अर्थमन्त्रालयले शिक्षामा बजेट घटाएको उनले बताए । “अहिले विनियोजन बजेटले ८० प्रतिशत तलबभत्तामै सकिन्छ,” उनले भने “२० प्रतिशतले कति शिक्षामा काम गर्ने ?” उनले प्रश्न गरे ।
कार्यक्रममा सांसदहरु पशुपति चौलागाई, पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्का लगायतले आफ्नो मन्तव्य राखेका थिए । पूर्ण साक्षर घोषणा कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको मार्चपास र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।