‘वेष्ट ल्पाटुन’को उपाधि जित्न सफल विद्यार्थीहरु सम्मानित

 आवाज संवाददाता     ९ माघ २०७३, आईतवार

दोलखा, माघ ९/मोरङ जिल्लाको याङ्सिलामा सम्पन्न राष्ट्रिय सेवा दलको बाहिरी सामुहिक अभ्यासमा ‘वेष्ट प्लाटुन’ हुन सफल दोलखा जिल्लाको चरिकोटस्थित कालिन्चोक माविका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
राष्ट्रिय सेवा दलमा सहभागी भएर फर्किएका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्न कालिन्चोक माविले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्र रेश्मी र जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछ्वा, प्रहरी नायव उपरीक्षक रविन कार्कीले संयुक्त रुपमा उनीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले तालिमले क्याडेटहरुमा स्पष्ट भिन्नता देखिएको बताए । विद्यार्थीहरुमा व्यबहार गर्ने तरिका, बोल्ने, बस्ने तरिकामा भिन्नता देखिएको उनको ठम्याइ थियो । उनले तालिममा सिकेको सीपलाई विद्यार्थीहरुले व्यबहारमा उतार्न सुझाए । तालिमले क्याडेटहरुलाई भविष्यमा सेनामा जान सघाउ पु¥याउने उनको धारणा थियो ।


समन्यव शिक्षक गणेशकुमार श्रेष्ठले तालिम अत्यन्त उपयोगी भएकोले यसको अझ विस्तार गर्नुपर्ने बताए । उनले तालिम प्राप्त विद्यार्थीहरुलाई बेलाबेला पुनर्ताजगी तालिम नदिए उनीहरुले सिकेको सीप विस्मृतिमा जाने र तालिम बेकार हुनसक्ने आशंका व्यक्त गरे ।
मोरङको याङ्सिलामा भएको बाहिरी सामुहिक अभ्यासकै ‘वेष्ट क्याडेट’ तथा ‘सिनियर अण्डर अफिसर’ पेमा ल्हमु शेर्पाले राष्ट्रिय सेवा दलको तालिमबाट आफूहरुले अनुशासन र जीवनोपयोगी सीपहरु सिकेको बताइन् । उनले अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा भएको बुझाइ व्यक्त गर्दै आगामी दिनमा आफूहरुले सिकेको सीप अरुहरुका लागि सहयोगी बन्ने जिकिर गरिन् ।


कालिन्चोक माविका कक्षा ९ का १८ जना छात्रा र १८ जना छात्रहरु सहभागी भएको बाहिरी सामुहिक अभ्यासमा दोलखाले छात्र भलिबलमा पहिलो, छात्रा दौडमा पहिलो, छात्र फुटबलमा दोस्रो, छात्रा फुटबलमा दोस्रो हुँदै ‘वेष्ट प्लाटुन’ को उपाधि जित्न सफल भएको हो । यसका साथै पेमाल्हमु शेर्पा सिनियर अण्डर अफिसर तथा वेष्ट क्याडेट हुन सफल भइन भने एलेक्स श्रेष्ठ जुनियर अण्डर अफिसर हुन सफल भएका छन् । उनीहरुले क्याम्पमा खुकुरी ड्रिल, तेक्वान्दो पीटी, मास पीटी, एरोविक लगायतका प्रदर्शन गरेका थिए ।


बाहिरी सामुहिक अभ्यासको क्याम्पमा दोलखाका साथै रामेछाप, सिन्धुली, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम गरी ७ जिल्लाका १० विद्यालयबाट ३ सय ५२ विद्यार्थीहरुको सहभागिता थियो । उनीहरुले ७९ दिनसम्म विद्यालयमै तालिम लिएका थिए भने २१ दिनसम्म क्याम्पमा तालिम र प्रतिस्पर्धामा सहभागी भएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।