लामाबगर पुग्न अब सुरुङमार्गबाट, यो नेपालको पहिलो सुरुङमार्ग

 आवाज संवाददाता     ११ माघ २०७३, मंगलवार

दोलखा, ११ माघ

दोलखाको लामाबगर पुग्न अब सुरुङमार्गको प्रयोग गर्नु पर्ने भएको छ । सुरुङ कस्तो हुन्छ भन्ने जिज्ञासा हुनेहरुको लागि अब लामाबगर पुगे रहर पूरा हुन्छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले लामाबगरको काब्रेभीरमा ३४० मिटार लामो सुरुङमार्ग निर्माण गरेको छ ।
२०७२ को बैशाख १२ गतेको विनासकारी भुकम्प र त्यसपछिको पराकम्पले आयोजनाको बाँधस्थल लामाबगर पुग्ने प्रवेशमार्ग अवरुद्ध भएपछि विकल्पमा काब्रेभीरमा सुरुङमार्ग निर्माण गरेको हो । काब्रेभीरमा सडक पूरै क्षतविक्षत भएपछि सुरक्षित विकल्पको रुपमा सुरुङमार्ग निर्माण गरेको हो ।
आयोजनाले सुरुङमार्ग निर्माण गरेपछि २१ महिनादेखि रोकिएको बाँधस्थलको काम पनि सुचारु भएको छ । आयोजनाको हेडवक्समा बाँध, इन्टेकमा कंक्रिट गर्ने र गेटहरु राख्ने काम सुरु भएको छ । आयोजनाको हेडवक्सको काम ८५ प्रतिशतभन्दा बढी पूरा भएको आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
सुरुङमार्ग निर्माणपछि हेडरेस सुरुङमा जमेको पानी फाल्ने काम पनि सुरु भएको छ । करिब ३ किलोमिटर सुरुङमा भुकम्पपछि पानी जमेको छ । त्यो पानी बाहिर फालेपछि मात्र हेडरेस सुरुङको बाँकी काम सुरु हुन्छ । हेडरेस सुरुङको करिब २ हजार ५ सय मिटर बाँकी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।