केन्द्रमा भन्दा दोलखामा बजेट खर्च दोब्बर

 आवाज संवाददाता     १२ माघ २०७३, बुधबार

दोलखा, १२ माघ

समयमा बजेट खर्च गर्न नसकेको भन्दै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले माताहातका निकायलाई ताकेता गरिरहेको अवस्थामा दोलखाका कार्यालयहरुले बजेट खर्च उल्लेख्य रुपमा गरेको पाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म दोलखाले कुल बजेटको ५५ प्रतिशत खर्च गरेको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले चालु आर्थिक वर्षको अर्धवार्षिक खर्चको जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा दोलखाले केन्द्रीय सरकारकोभन्दा दोब्बरले खर्च गरेको जानकारी दिए । दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीका अनुसार दोलखाका सरकारी कार्यालयहरुले पुस मसान्तसम्म ५४.७१ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए । जबकि केन्द्रीय बजेटको प्रगति २६.४२ प्रतिशत रहेको छ ।
बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा जिल्ला विकास समितिको कार्यालय रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयलको प्रतिवेदनमा उल्लेख रहेको छ । प्रतिवेदन अनुसार जिविस दोलखाले ९३.२७ प्रतिशत, जिल्ला निर्वाचन कार्यालयले ७०.२४ प्रतिशत, जिल्ला प्रहरी कार्यालयले ६३.९१ प्रतिशत खर्च गरेको उल्लेख छ । त्यसैगरी डिभिजन सडक कार्यालय चरिकोटले ४७ प्रतिशत खर्च गरेको छ ।
दोलखामा चालु खर्च तर्फ ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार अख्तियारी आएकोमा ७०.६३ प्रतिशत अर्थात ३ अर्ब २४ करोड ९१ लाख ३२ हजार ३३३ खर्च भएको छ । त्यसैगरी पुँजीगत तर्फ १ अर्ब ३३ करोड ८३ लाख ५८ हजार अख्तियारी आएकोमा २५.९७ प्रतिशत अर्थात ३४ करोड ७५ लाख ५० हजार खर्च भएको छ ।
प्रमुख कोष नियन्त्रक शिवाकोटीले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकाले पनि बढी खर्च भएको देखिएको बताए । भूकम्प पीडितहरुको आवास निर्माणको पहिलो किस्ता चालु आवमै निकासा भएको हो । भूकम्प पीडितको पहिलो किस्ता निकासाले पनि जिविसको खर्च बढी भएको देखिएको उनले बताए । जिविसको आफ्नै कार्यालयगत बजेट खर्च भने थोरै रहेको छ ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार पुनःनिर्माण प्राधिकरणको निजी आवास अनुदानतर्फ हालसम्म ४४ हजार ५ सय २० जनालाई पहिलो किस्ता वापत १ अर्ब ९८ करोड ७६ लाख ५० हजार खर्च भएको बताए । दोलखाका २५ वटा कार्यालयले चालु आवको ६ महिनाको अवधिमा ५ करोड ६७ लाख ४० हजार ७४९ रुपैयाँ राजश्व सङ्कलन गरेको जानकारी कोलेनिकाले दिएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।