आदिवासी जनजाति, ल्होछार/ल्होसार पर्व र एकताको प्रश्न

 आवाज संवाददाता     १५ माघ २०७३, शनिबार

– नाम्गेल मोक्तान –

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधता भएको मुलुक
हो । यहाँका जनजातिहरुको आ–आफ्नै भाषा, संस्कृति, धर्म र संस्कारहरु छन् । यस्तै ल्होछार/ल्होसार नेपालका तामाङ, गुरुङ, शेर्पा, थकाली, जिरेल, हुम्ली, भोटे र ह्योल्मो जातिले परम्परादेखि नै मनाउँदै आएको पर्व हो । हाल ल्होछार/ल्होसारलाई नेपाललगायत सिक्किम, चीन, मंगोलिया जापान, हङकङ, मकाउ, मलेसिया र थाइल्यान्डजस्ता देशहरुमा पनि मान्ने गरेको पाइन्छ । नेपाल, सिक्किमलगायत संसारका सबैजसो भागमा ल्होछार/ल्होसार पर्वलाई मनाउने सवालमा विगत केही वर्षअगाडिदेखि एक किसिमको लहर आएको छ । यसरी यहाँका आदिवासी जनजाति मंगोलियन समुदायहरुमा आफ्नो चाडको सवालमा जागरण आउनु सकारात्मक कदम मान्नुपर्दछ । यहाँका जातजातिहरुको पहिचान भनेको नै उनीहरुको भाषा, धर्म, संस्कृति लगायतका जातीयता झल्काउने विविध संस्कारहरु हुन् । मुख्यतया नेपालमा हाल तीन प्रकारका ल्होछार/ल्होसार प्रचलनमा आएका छन । ती हुन्– सोनाम, ग्याल्वो र तोला ल्होछार । तर यी तीनै प्रकारका ल्होछार/ल्होसारलाई यहाँका ल्होछार/ल्होसार प्रेमी आदिवासी जनजातिहरुले आ–आफ्नै संस्कार अनुसार फरक–फरक तिथिमा मनाउँछन् । तर समग्रमा यी तीनै किसिमका ल्होछार/ल्होसार मनाउने तौरतरिका सामान्यतया उस्तै–उस्तै खालको पाइन्छ । जस्तो ल्होछार/ल्होसारको सुरुको दिन उनीहरु आफ्ना मित्रजनहरुसँग भेटघाट र शुभकामना आदान–प्रदान गर्दछन् । आफ्नो घर–आँगन सरसफाई, लिपपोत, बाटोघाटो, चौतारा सफासुग्गर, ल्होछार/ल्होसार अवधिका लागि फलफूल, सागसब्जी आदि चिजबीजहरुको बन्दोबस्तमा व्यस्त हुन्छन् । अन्त्यमा उनीहरु इष्टमित्र, नातागोता, कुलकुटुम्ब, साथीसंगीहरु भेला भई प्रीतिभोज, वनभोज, घरछिमेकमा भेटघाट गरी आशीर्वाद आदान–प्रदानसहित हर्षोल्लासपूर्ण वातावरणमा ल्होछार/ल्होसार पर्व मनाउँछन् ।
तामाङ भाषामा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ हो । त्यसैले ल्होछार नयाँ वर्ष हो । यसरी नै शेर्पाहरुको भाषा पनि ‘ल्हो’ भनेको वर्ष र ‘सार’ को अर्थ नयाँ हो । समग्रमा ल्होछार नेपालका मंगोलियन मूलका आदिवासी जनजाति समुदायले मान्ने चाड हो । यसलाई गुरुङहरुले आफ्नै परम्परा र रीतिरिवाजअनुसार तोला ल्होछारलाई हरेक वर्षको पुस १५ गतेको दिनलाई नयाँ वर्ष अर्थात् ल्होछारको रुपमा मान्ने गर्दछन् । त्यसरी नै शेर्पाहरुले मान्दै आएको ग्याल्वो ल्होसार फागुन महिनामा पर्दछ । यसलाई नेपालमा हरेक तिब्बतीहरुले समेत मान्दै आएको पाइन्छ । यो ग्याल्वो ल्होसार ठूलाबडा कर्मचारीहरु र राजाखलकले मान्ने ल्होसारको रुपमा पनि हेरिन्छ । त्यसैले यसलाई राजकीय ल्होछार पनि भन्ने गरिन्छ । यसरी नै तामाङहरुले मान्दै आएको ल्होछार ‘सोनाम ल्होछार’ हो । सोनामको अर्थ तामाङमा किसान हो । तसर्थ, यो किसानहरुले मान्ने पर्व हो । यो प्रत्येक माघ शुक्ल प्रतिपदाको दिन पर्दछ । यो वसन्त ऋतुको आगमनसँगै सुरु हुन्छ । ल्होछार सकेपछि मात्रै तामाङहरु खेतीपातीका लागि खेतबारी पस्छन् भन्ने विश्वास तामाङ समुदायमा पाइन्छ ।
ल्होछार/ल्होसार जति चर्चामा छ, त्यति ल्होछार/ल्होसार मनाउने समुदायबीच मजबुती एकता छैन । यो ल्होछार/ल्होसार मनाउने समदायहरुबीच आफैमा दुःखद पक्ष हो, लुकाउन नहुने सवाल पनि हो ।
नेपालमा ल्होछार मान्ने आदिवासी जनजाति समुदायहरुका बीच ल्होछारलाई हेर्ने दृष्टिकोणमा पनि फरक–फरक धारणाको विकास भएको देखिन्छ । यसलाई कसैले पूरै धार्मिक चाडको रुपमा व्याख्या गरेका छन् भने कसैले सांस्कृतिक पर्वको रुपमा हेर्नुपर्छ भनेका
छन् । यसले ल्होछार/ल्होसार मान्ने सवालमा यहाँका जनजातिहरु एक छैनन् भन्ने देखाएको छ । त्यसकारण आज ल्होछार/ल्होसार प्रेमी समुदायहका लागि सरकारबाट एक दिनभन्दा बढीको बिदा नदिएकोबाट समेत प्रष्ट हुन्छ । तसर्थ, ल्होछार/ल्होसारलाई सम्पूर्ण ल्होछार÷ल्होसार मान्ने समुदायहरुको छुट्टाछुट्टै आन्दोलनको बाबजुद पनि तोला ल्होछारको लागि पुस १५ गतेको दिन, सोनाम ल्होछार मान्नेहरुका लागि माघ शुक्ल प्रतिपदाका दिन र ग्याल्वो ल्होसारका लागि फागुन शुक्ल प्रतिपदाका दिन गरेर एक/एक दिन बिदा दिन बाध्य भएको छ । अन्तर्राष्ट्रियरुपमा समेत यो आन्दोलनलाई अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा सिक्किम राज्यले समेत त्यहाँ बसोबास गर्ने तामाङ, गुरुङ, शेर्पा र ह्योल्मो समेतले मान्ने गरेको सोनाम ल्होछारलाई एक दिन बिदा दिन बाध्य भएको छ । तसर्थ, ल्होछार÷ल्होसारलाई सम्पूर्ण ल्होछार/ल्होसार प्रेमीहरुले एकै थलोमा मनाउनका लागि प्रयासरत रहन जरुरी छ । यो पर्व यहाँका आदिवासी जनजातिहरुको संस्कृति संरक्षणको आन्दोलनको रुपमा अगाडि लैजान आवश्यक छ । त्यसो त यसलाई सोनाम, ग्याल्वो र तोलाको व्याख्या विश्लेषण आ–आफ्नै ठाउँमा हुँदाहुँदै पनि धार्मिक चाड या सांस्कृतिक चाड, मञ्जुश्री सम्वत र विभिन्न तिथीमिति लगायतका अन्य जे–जे तवरले मान्नुपर्छ भन्ने विचारहरु अगाडि ल्याए तापनि समग्रमा यसलाई सांस्कृतिक पर्वको रुपमा विकास
गर्नुपर्दछ । अन्ततः यो पर्वलाई सांस्कृतिक पर्वको रुपमा विकास गर्नु र एकताको दिशामा अग्रसर गराउनु सम्पूर्ण ल्होछार÷ल्होसारप्रेमी आदिवासी जनजातिहरुको दायित्व हो ।

चीनमा ल्होछार/ल्होसार यसरी मनाइन्छ

ज्योतिष पद्धति र समयचक्रको आधारमा नव वर्ष अर्थात् ल्होछार/ल्होसार पर्व चीनमा फेब्रुअरी १४ देखि सुरुवात हुन्छ । अत्यन्त हर्षोल्लास, दीप प्रज्वलनका साथै सजावतसहित उनीहरुले यो पर्व मनाउँछन् । यस पर्वमा पटाकाहरु पड्काउनु, रंगीन मुकुण्डोहरु लगाएर घुम्दै रमाइलो गर्नु चिनियाँहरुको विशेषता नै हो । गृहणीहरुले आ–आफ्ना घरको ढोका झ्यालहरुमा रंगाएका लालटिनहरु पनि झून्ड्याउने गर्दछन् । उनीहरुले घरको भित्ताहरुमा गरुड, डुङ्गा दौड, केटाकेटीहरु, माछाहरु र शुभ प्रतीकका चिन्हहरु पनि कोर्ने गर्दछन् । नव वर्षारम्भ भएको सुखद उपलक्ष्यमा आयोजना गरिएको प्रीतिभोजहरुमा चिनियाँ परिवारहरु, आफन्त र हितैषी मित्रहरुबीच कार्ड र उपहारहरु एक आपसमा आदान प्रदान गर्दछन । जसलाई उनीहरु “कुङ हेई फ्याट चोई” भन्दछन् । वसन्त ऋतुका आगमन हुने यस पर्वको शुभारम्भ सरसफाईबाट हुने गर्दछ । यस बखत चिनियाँहरु भान्छाको भित्तामा टाँगिएको देवताको चित्रमा मिठाइहरु राखेर पूजा गर्दछन । यस पर्वको दिनमा भान्छाको देवतालाई पूजा गरेमा राम्रो भाग्यको उदय हुन्छ भन्ने विश्वास गर्दछन् । उनीहरु भनिन्छ, यस पर्वको दिन पारिवारिक सदस्य, आफन्त र हितैषीमित्रहरुबीच राम्रो सद्भाव प्रकट गर्नुपर्छ, विवाद गर्नुहुँदैन भनेर चिनियाँहरु विश्वास गर्दछन । उनीहरु जुन पशुपंक्षीको सम्मानमा वर्षारम्भ हुन्छ । त्यसैले पशुपंक्षीसम्बन्धी ठट्यौलीहरु भनेर हाँस्ने हँसाउने गर्दछन । यस समय परम्परागत चिनियाँ खानेकुराहरु खाने गर्दछन् । त्यसैले यस दिन उनीहरु परम्परागत नृत्यहरुका साथै सांगीतिक कार्यक्रमहरुको पनि आयोजना गर्दछन् र आनन्द लिन्छन् । १२० फिट अग्लो बृहत् गरुड बनाएर ३० जनाभन्दा अधिक व्यक्तिहरुले बोकेर यस दिन गर्ने नृत्यले उनीहरु भूतप्रेतहरु भाग्दछन् भनेर विश्वास गर्दछन् । जसलाई उनीहरु “सिंह नृत्य” पनि भन्ने गर्दछन । चाइनिजहरु भावनात्मक र मनोरञ्जनात्मक हुँदैनन भन्ने मानिसहरुको विश्वासलाई नयाँ वर्ष मनाउँदा हुने नृत्य, हाँसीमजाक, ठट्यौली, प्रीतिभोज जस्ता उत्सवहरुले उनीहरु भावनात्मक एवं मनोरञ्जनात्मक पनि हुन्छन् भन्ने सिद्ध गर्दछन् ।

लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सहसंयोजक हुन् 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF