पूर्व सभासद श्रेष्ठ माओवादी फर्किए

 आवाज संवाददाता     १५ माघ २०७३, शनिबार

पूर्व सभासद हेम श्रेष्ठ नेकपा माओवादी (केन्द्र) फर्किएका छन् । नेकपा माओवादी केन्द्रको भेलामा उनी माओवादीमा पुर्नमिलान भएको घोषणा गरेका थिए । पूर्व सभासद श्रेष्ठ पार्टीमा पुर्नमिलनसँगै नेकपा माओवादी केन्द्र दोलखाको सह इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
एक वर्ष अघि नयाँ शक्ति नेपाल अभियानमा सहभागी भएका श्रेष्ठ नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्लाका सदस्य रहेका थिए । श्रेष्ठ २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादीको तर्फबाट उम्मेद्वार बनेर निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्र ३ नं. प्रदेश इन्चार्ज हितमान शाक्यको उपस्थितमा भएको माओवादी जिल्ला एकता बैठकमा हेम श्रेष्ठ, र विप्लव माओवादीका युवा स्वयम् सेवक केन्द्रीय सदस्य राम ढुङ्गेल समेत उपस्थित थिए । माओवादी घटकहरुको पार्टी एकता भएर नेकपा माओवादी पार्टी केन्द्र बने तापनि जिल्लामा एकता हुन सकेको थिएन ।

माओवादीको जिल्लामा नयाँ जिम्मेवारी
माओवादी बैठकले दोलखामा नयाँ जिम्मेवारी तोकेको छ । जिम्मेवारी अनुसार गंगा कार्की दोलखा, सिन्धुपाल्चोक र रामेछापको कमाण्ड इन्चार्ज भएका छन् । त्यसैगरी दोलखा जिल्ला इन्चार्जमा देवी खड्का, सह इन्चार्जमा शंकर लामा, हेम श्रेष्ठ, विशाल खड्का र नरबहादुर पाख्रिनले जिम्मेवारी पाएका छन् । जिल्ला संयोजक गोपाल पाण्डे र सह संयोजकहरुमा नाम्गेल मोक्तान र कुलबहादुर बुढाथोकी रोशन रहेका छन् ।
माओवादीको ३ दिनसम्म बसेको बैठकले अब नयाँ जोश र जाँगरका साथ आउँदो चुनाव लक्षित गरी पार्टी सुदृढीकरणमा जाने निर्णय गरेको जिल्ला सह इञ्चार्ज विशाल खड्काले जानकारी दिए । विगतमा जो जता भए पनि अब पार्टी पुर्नमिलनको अभियान समेत हुने भएकाले अब दोलखा माओवादी फेरि २०६४ कै अवस्थामा फर्किने बताए ।
माओवादीले केन्द्रीय आयोजक समितिमा दोलखाबाट ४० जना रहेकोमा ५ जना थप गरी ४५ जना पु¥याउन प्रदेश कार्यालयलाई अनुरोध गरेको छ । नयाँ थपिनेमा हेम श्रेष्ठ, राम ढुङ्गेल लगायत रहेको सह संयोजक नाम्गेल मोक्तानले जानकारी दिए ।
उनले पूर्व सांसदहरु इन्द्रबहादुर खड्का, जितवीर लामा, वाङ्छे शेर्पा र चुनबहादुर थामीलाई पनि उचित भुमिका दिने विषयमा पनि छलफल भएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF