हिउँपछि पर्यटकहरु बढे होटल भरिभराऊ

 आवाज संवाददाता     १६ माघ २०७३, आईतवार

दोलखा १६ माघ
शुक्रबार कालिञ्चोक, शैलुङ, खरिढुङ्गा सहित उच्च भेगमा हिउँ परेसँगै दोलखामा आन्तरिक पर्यटकको भीड लागेको छ । हिउँ परेको दिनै चिसोको परवाह नगरी काठमाडौं र दक्षिणी जिल्लाबाट पर्यटकहरु चरिकोट र कुरी पुगे ।
शुक्रबार साँझदेखि पर्यटकहरुको भीर आइतबारसम्म उस्तै छ । दोलखा आएका अधिकाँश पर्यटकहरु युवायुवतीहरु रहेको दोलखाका होटल व्यवसायीहरु बताउँछन् । शनिबार र आइतबार बिदा समेत रहेकाले पनि कालिञ्चोकमा हिउँ खेल्न आउनेहरुको संख्या उल्लेख्य छ ।
हिउँ परेपछि दोलखाका होटल व्यवसायीहरु खुशी भए तापनि कतिपय पर्यटकहरुले भने दुःख पनि पाएका छन् । हिउँ खेल्ने रहरमा आएका कतिपय पर्यटकहरु होटलहरु नपाउँदा सडकमै रात समेत विताउन बाध्य भएका छन् ।
होटल व्यवसायीहरुका अनुसार शुक्रबारदेखि आइतबार दिउँसोसम्म १२ हजार बढी पर्यटकहरु दोलखा आएका छन् । क्षेत्रीय होटल संघ दोलखाका प्रवक्ता नवराज कार्कीले सिजनमा आएका पर्यटक व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको स्वीकार गरे । ‘पहिला नै होटल बुक गरेर आएका र कालिञ्चोक र चरिकोटको बारेमा जानकारी लिएर आउनेहरु कसैले पनि दुःख पाएनन्’ उनले भने ‘जो हिउँ खेल्नका लागि भनेर ठाउँको अवस्था नै नबुझी आउनेहरुले दुःख पाए ।’
डेढ वर्ष अघिको भुकम्पले ढलेका कतिपय होटलहरु उठ्न नसक्दा पनि अहिले भएका होटलहरुले पर्यटकहरुलाई व्यवस्थापन गर्न गाह्रो भएको हो । चरिकोटका एक दर्जन, जिरीमा एक दर्जन, सिंगटी र दोलखाका पुराना थप एक दर्जन होटल सञ्चालन हुन सकेका छैनन् । पुराना होटल सञ्चालन हुन नसके तापनि कतिपय व्यवसायीहरु होटल पुर्ननिर्माणमा लागेका छन् भने धेरै जसो पुर्ननिर्माण गरी सञ्चालनमा ल्याइसकेका छन् । नयाँ व्यवसायीहरु पनि डेढ वर्षको बीचमा होटलमा प्रवेश गरेका छन् ।
विद्यमान होटलहरुले कुरी, चरिकोट, सिंगटी, जिरी लगायतमा दैनिक ३ हजार जनासम्मलाई सेवा पु¥याउन सक्ने अवस्था भएको क्षेत्रीय होटल संघका प्रवक्ता कार्कीले बताए । तर कहिलेकाँही दैनिक ५ हजारभन्दा बढी आउँदा तत्काललाई समस्या भएको बताए । दोलखामा भएका होटलले व्यवस्थापन गर्न नसके तापनि काठमाडौं फर्कनेहरुका लागि मन्थली, खुर्कोटहुँदै पठाएर समेत त्यहाँ व्यवस्थापन गरेको बताए ।
‘मौसमी रुपमा पर्यटकहरु बढ्छन्, अरु बेला खाली पनि हुन्छ’ उनले भने ‘होटल भनेको आजको भोली थप्न सक्ने पनि होइन, तर दोलखाका आएका पर्यटकहरुले दुःख पाउँदा समग्र दोलखाको सन्देश नराम्रो जाने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गर्दैछौं ।’ पर्यटकहरुलाई पनि भरपर्दो सूचना लिएर गन्तव्यमा हिड्नका लागि उनले आग्रह गरे ।
एक महिना अघि हिउँपर्दा दोलखा आउने पर्यटकहरु बढेका थिए । एक महिना अघि परेको हिउँकै कारण दोलखाका होटलहरु एक महिनासम्म भरिभराऊ भए । होटलहरु केही खाली हुन लागेको अवस्थामा पुनः शुक्रबारको हिउँले पर्यटकहरु बढाएका छन् । होटल प्रिन्सका सञ्चालक कुमार बस्नेतले भने ‘कालिञ्चोकमा पर्ने हिउँले नै हाम्रो होटल चम्केको छ ।’
पर्यटकहरुको वृद्धि हुँदै गएपछि दोलखा सदरमुकाम चरिकोटमा सुविधा सम्पन्न होटलको संख्या समेत वृद्धि हुँदै गएको छ । कुनै सार्वजनिक विदा मनाउन होस् वा धार्मिक दर्शनका लागि आउने पर्यटकहरुको रोजाइ चरिकोट हुन थालेपछि व्यवसायीहरु समेत होटल विस्तारमा लागेका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF