विप्लव माओवादीको भूमिगत शैलीमा जिल्ला सम्मेलन

 आवाज संवाददाता     १७ माघ २०७३, सोमबार

नेकपा (माओवादी ) विप्लव दोलखाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । भूमिगत शैलीमा चरिकोट बजार नजिकै आइतबार सम्मेलन सम्पन्न गरेका हुन् ।
माओवादी विप्लव समूहले भीमेश्वर नगरपालिका १० मैदाने नजिकै जंगलमा पाल टाँगेर सम्मेलन गरेको थियो । सम्मेलनको माओवादी पूर्वी ताम्सालिङ व्यूरो इन्चार्ज समेत रहेका पोलिट्व्यूरो सदस्य भरत बम (रणवीर) ले उद्घाटन गरे । सम्मेलनमा पूर्वी ताम्सालिङ ब्यूरो सदस्य माणिक लामा र जमिनको पनि उपस्थिति थियो ।


सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै पोलिट्व्यूरो सदस्य भरत बमले संसदीय दलाल पूँजीवादको विकल्पमा बैज्ञानिक समाजवाद हुने र यसका निम्ति सबै बैज्ञानिक समाजवादी व्यवस्थाका पक्षधर समेतको नेतृत्व नेकपा (माओवादी) गरेको दाबी गरे । सम्मेलनमा जिल्ला सेक्रेटरी अर्जुन योगीले पेश गरेको एक सय एक (१०१) पृष्ठको राजनैतिक प्रतिबेदन एवम् ५१ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
जिल्ला सम्मेलनमा जिस्नुकुमारी उप्रेती ध्रुवीकरण प्रक्रियामा समावेश भएको जिल्ला सेक्रेटरी अर्जुन योगीले जानकारी दिए । उनलाई प्रमुख अतिथी भरत बमले खादा र टीका लगाएर स्वागत गरे । उप्रेती नेकपा मालेका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला प्रमुख बद्रीकुमार चौलागाईँकी श्रीमती हुन् ।


सम्मेलनले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनपछि जिल्ला सेक्रेटरी अर्जुन योगीले दलाल संसदवाद, आत्मासमर्पणवाद, विसर्जनवाद, भ्रष्टाचार, महंगी, कालोबजारी विरुद्ध दोलखामा चर्को आन्दोलन गर्ने बताए । दोलखामा एनजीओ र आइएनजीओहरुले चरम भ्रष्टाचार गरेकोले भ्रष्टाचार गर्नेलाई जनता बीचमा लगेर कार्वाही गर्ने दावी गरे । केही सरकारी कार्यालयमा चरम भ्रष्टाचार भएको र जनतालाइ अति दःुख दिएकोले कार्वाही प्रक्रिया तुरुन्त अगाडि बढाउने, जलविद्युत आयोजनाहरुले जनताका आधारभूत अधिकारहरु विरुद्ध काम गरेकोले तुरुन्त संघर्ष गर्ने उनले बताए ।

तस्बिरः अर्जुन योगीको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।