‘धन्यवाद डीएसपी साव !’

 आवाज संवाददाता     १७ माघ २०७३, सोमबार

दोलखा/‘धन्यवाद छ डीएसपी साव !’ शुक्रवार काठमाडौँबाट कालिन्चोक जानका लागि चरिकोट आएका रवीन्द्र प्रधानले दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीलाई भने । प्रनाउ कार्कीले शुक्रवार मध्य राति सातदोबाटोमा अलपत्र परेका पर्यटकहरुलाई आफ्नै गेष्ट हाउसमा लगेर बास बसाएपछि तिनीहरुले उनलाई धन्यवाद दिएका हुन् ।
काठमाडौँबाट कालिञ्चोक मन्दिर जाने तयारीमा आएका प्रधानसहित ६ जना राति पानी परिरहेको अवस्थामा लज नपाएर सातदोवाटोमा उभिएका थिए । कालिञ्चोक मन्दिर जाने योजना बनाएर आएका उनीहरु शुक्रवारको हिमपातका कारण कुरी बजार पुग्न सकेनन् भने चरिकोटमा वास नपाएका कारण सातदोवाटो चोकमा रातको साँढे ११ बजे अलपत्र परेका थिए ।
मध्यरातको समय वासको टुङ्गो नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले गाडीमा राखेर सदरमुकामका होटलहरुमा वास खोज्ने प्रयास ग¥यो । तर होट भरिभराउ भएका कारण कहीँ वास नपाएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको गेष्ट रुममा लगेर राखियो ।
दोलखा आएका पर्यटकहरुलाई कहिलेकाहीँ वास बस्ने समस्या हुँदा उद्धार गरेको घटनाले जिल्लामा सामुहिक तथा सामुदायिक आवासको आवश्यकता खड्किएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले यो घटना स्थानीय प्रशासनलाई सुनाउँदा स्थानीय प्रशासले समेत चासो व्यक्त गरेको छ । स्थानीय सरोकारवालाहरुले समेत सामुदायिक आवासको आवश्यकता रहेको बताएका छन् । सदरमुकाममा रहेको सिमपानी सामुदायिक भवन, खरिढुङ्गामा रहेको सामुदायिक भवनमा समेत यस्तो समयमा वसोवासको बन्दोवस्त मिलाउन सकिने जिल्ला विकास समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले वताएका छन् ।
शुक्रवार जिल्लामा हिमपात भएसँगै उपत्यका लगायतका स्थानवाट दोलखामा हिउँ खेल्न आउनेहरुको लर्को लागेको थियो । शनिवार जिल्ला आउने र कालिन्चोक, शैलुङ लगायतका ठाउँहरुमा जानको संख्या अझ बढेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF