हामी राष्ट्रसेवक कर्मचारीमा हराउँदै गएको नैतिकता !

 आवाज संवाददाता     १८ माघ २०७३, मंगलवार

› सञ्जय नेपाल ›

मैले २०५५ सालमा वरिष्ठ कम्प्युटर सहायक पदमा अस्थायी जागिरबाट निजामती सेवा सुरु गरेको हुँ । पुग नपुग २० वर्षको यो अवधिमा मैले कर्मचारीतन्त्रमा नैतिकता क्षयीकरण यस्तो गतिमा देखेको, भोगेको छु कि त्यसको अव निर्मम समीक्षा हुनैपर्छ भन्ने हेतुले यो लेख लेख्दै छु ।

त्यतिखेरको जागिरे जीवन सम्झन्छु । नेपाल कमर्श क्याम्पसमा आईकम अध्ययन सकीे रिजल्ट नआई सकेको अवधिमा सिकेको कम्प्युटरको सीपले मलाई प्राविधिक सुव्वाको पदमा जागिर सुरु गर्न जनकपुरधाम पु¥यायो । अल्लारे उमेर, विद्यार्थी राजनीतिको राप र ताप बोकेको १९ वर्षे किशोरलाई प्राविधिक भत्ता सहित मासिक २९५० तलव थाप्दा त गज्जवै हुन्थ्यो त्यतिखेर । प्राथमिक शिक्षक तालिम केन्द्र नामक कार्यालयमा परीक्षा लिने देखि तयारी लगायतका काममा विहान बेलुकी पनि काम हुन्थ्यो । त्यसको पनि अतिरिक्त भत्ता आउँछ भन्ने कुरा त मलाई एक वर्षसम्म पनि थाहा थिएन र मलाई त्यसको आवश्यकता पनि थिएन । मासिक ८०० को खाना र ५०० को घरभाडा बाहेक खासै खर्च नहुने हुँदा मलाई मासिक तलवले पुगेकै थियो । त्यतिखेरका मलाई माया गर्ने निमित्त हाकिम तथा हालका सिन्धुपाल्चोक जिल्लाका जिशिअ निर्मल कुमार घिमिरेले एक पटक काठमाडौँ आएर विभागमा उत्तरपुस्तिका पु¥याई फर्के वापत खै कताबाट हो २२०० दिँदा त म कम्ता फुर्केको थिइँन । त्यसबेलासम्म अस्थायी कर्मचारीलाई जिम्मेवारीको काम सुम्पने चलन थिएन । पछि बुझ्दा जिम्मेवारी पूर्वक काठमाडौँ गई काम सम्पन्न गरी आए बापत दिइएको त्यो दैनिक भ्रमण भत्ता रहेछ । मैले जागिरे जीवन शुरु गर्दा कर्मचारीमा मासिक तलवले नै मितव्ययी जीवन निर्वाह गर्नुपर्छ भन्ने सोच रहेको थियो जस्तो लाग्छ । कार्यालय गत आउने अन्य पैसोको उति चाह भएको जस्तो लाग्थेन । अहिलेको जस्तो चर्को कर्मचारी संघ–संगठन पनि खुलिसकेका वा विस्तारित भई सकेका थिएनन् त्यतिवेला । कर्मचारीमा नैतिकता कायम थियो वा भनु अलिकति हाकिमप्रति, सरकारप्रति वा दैवप्रति डर थियो अनैतिक काम गर्न । रघुपति मिष्ठान्न भण्डार भन्ने लोकप्रिय मिठाई पसल थियो जनकपुरमा त्यसवेला सायद अहिले पनि होला । त्यहाँको रस–मलाई भन्ने मिठाई मलाई खुव मन पथ्र्यो । त्यतिवेलै चर्को मुल्य १८ रुपैयाँ पथ्र्यो त्यसको । एकदिन संयोगले मेरो कार्यालयका लेखापाल यादवजी र म साइकल हाँक्दै त्यहाँ खाजा खान पुग्यौं । खाजा खाईसकेपछि मैले पैसा तिर्न खोज्दा यादवजीले रोके अनि एसो सानो कागजको चिर्कटोमा केही लेखेर काउन्टरमा दिए । हामीले पैसा दिनै परेन । मैले कुरा बुझिनँ । उनले पानले खिइएका दाँत देखाउँदै भनेपछि बुझाउँला । उनले त खाजा खाएको पैसो कार्यालयको बजेटबाट तिर्ने रहेछन् र यो कुरा हाकिम र लेखापालको आम कुरा पो रहेछ । यस घटनाले अलिअलि कार्यालयमा गडबडी हुँदो रहेछ भन्ने मेरो मानसपटलमा बस्न गयो ।
अव अहिलेको केही घटना म स्मरण गर्छु । दोलखा जिल्ला प्रशासनमा कामकाज गरिरहँदा लोकसेवा आयोगबाट सिफारिस भई केही नयाँ युवाहरु आए उनीहरुलाई नियुक्ति पदस्थापन लगायतका कुराहरुमा सहजीकरण गरेर पुरानो फाँटवालाको नाताले कामकाज सिकाउन थालेपछि उनीहरुको चासो देखेर म तीन छक खाएँ । उनीहरुले सर तपार्इँ त पुरानो मान्छे , अड्डा कस्तो छ ? भनी सोधे । मैले अड्डा राम्रो छ, अड्डामात्र किन सर जिल्लै राम्रो छ । जसोतसो सरकारी आवासको पनि सुविधा छ, दुर्गम भत्ता अलिकति भए पनि छ भन्ने कुरा राखेँ तर उनीहरुले यसमा मुख खुम्च्याए । उनीहरुको चासो बाहिर सुनिए जस्तो जिल्ला प्रशासनमा अतिरिक्त कमाई कति हुन्छ भनेर सोध्नु थियो । उनीहरुको कुराले मलाई लाग्यो, हिजो मात्र हजारौँको प्रतिस्पर्धामा लोकसेवाबाट पास भई आएका राष्ट्रसेवकमा जागिर सुरु गर्नासाथ अतिरिक्त कमाइको यस्तो मोह छ भने हाम्रो कर्मचारीतन्त्र कता गइरहेको छ । नभन्दै ती युवा कर्मचारीमध्ये धेरै एक वर्ष पुग नपुग दोलखा बसी आकर्षक मानिएको अमुक अड्डामा सरुवा भएर काठमाडौँ गइसके । अहिले त यस्तो भइसक्यो कि तलव त हाजिर गरेपछि प्राप्त हुने कुरा हो, हक हो । कार्यालय समयभरि बसी काम गर्न त अतिरिक्त भत्ता आवश्यक भइसक्यो ।
आखिर नैतिकता सदाचार भन्ने के हो त ? राष्ट्रसेवा भन्ने चाहिँ के हो त ? हाम्रा जिम्मेवारी के हुन् त ? हामीलाई सञ्चालन गर्ने निजामती ऐन नियमावलीका त्यत्रा आचरणजन्य, नैतिकताजन्य प्रावधानहरु के हुन् त ? के हामी राष्ट्रसेवक कर्मचारी नैतिकवान भएर, मितव्ययी भएर बास्तवमा बाँच्नै नसक्ने भइसक्यौँ त ? हामी आमजनताको नजरमा राष्ट्रसेवक भएर काम गर्न नसक्ने भइसक्यौँ त ? होइन हामी सक्छौँ र त्यसरी यही निजामती सेवामा विभिन्न पदमा रहेर खुसी साथ बाँच्ने कारिन्दादेखि हाकिमसम्म पनि छन् ।
मेरा जागिरे जीवनका केही साना तर धेरै अर्थ राख्ने कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीसँगका मेरा अनुभवहरु सुनाउन चाहन्छु जसले मेरो जागिरे जीवनलाई जहाँ गए पनि सहज बनाइदिन्छ । दोलखामा सर्वप्रथम जिरी अस्पतालमा जाँँदा मेरा हाकिम थिए डा. गुणराज लोहनी, मेडिकल सुपरिटेन्डेन्ट, उनी बास्तवमै गुण भएका मानिस थिए । नेपालमा रिफरल डाक्टर अर्थात रोगीलाई के रोग लागेको हो सो थाहा पाई सम्बन्धित विशेषज्ञ डाक्टरलाई रिफर गर्ने डाक्टरलाई एमडीजीपी डाक्टर भनिन्छ हो उनी त्यही डाक्टर थिए । आफ्नो काममा दक्ष, दैनिक १७ घण्टासम्म खट्ने, क्लिनिक नचलाउने तर एकदमै मुडी, उनी नै यस्ता हाकिम पाएँ मैले, जसले सरकारी बजेट जो प्रत्येक वर्ष खर्च गरी सक्ने गरी आउँछ त्यो समेत अनावश्यक खर्च नगरी फ्रिज गराइदिने । डिउटीमा रहँदा बाहिरका सँग भेट्दै नभेट्ने । त्यस्ता हाकिम समेत अस्पताल व्यवस्थापनको चक्रमा परी सरुवा भएर हिँड्दा जिरीबासीले जानै नदिई धेरै अनुरोध गरेर विदा हुनुपरेको थियो । पछि म जिल्ला प्रशासन दोलखामा सरुवा भई आएपछि एक जना प्रमुख जिल्ला अधिकारी आए गणेशप्रसाद भट्टराई, असल प्रशासकको गुण भएको मान्छे उनी । उनको मन्त्र थियो, सदा मुस्कान अनि काम गर्दा असल नियतले गर्नुपर्छ भन्ने । असल नियतले गरेको कामले कहिल्यै नराम्रो गर्दैन भन्ने जव्वर विचार । मानिसलाई सिकाउने उनको शैली गज्जव थियो, त्यतिखेर एकजना जिल्ला शिक्षा अधिकारी धेरै नै आलोचित भए दोलखामा । एक दिन उनै प्रजिअले जिशिअलाई सोधे ए सर तपाईलाई केही कुरा सोध्छु साँच्चो साँच्चो भन्नुहोस् ल । उनले हुन्छ भने । तपाईँले कहिल्यै जिल्लामा कार्यरत पत्रकार साथीहरुसँग यसो एक कप चिया खानुभएको छ ? उनले छैन भने । तपार्इँले कुनै सन्दर्भमा जिल्लाका प्रमुख दलका नेताहरुलाई राखेर यसो चिया खाने वा भलाकुसारी गर्ने गर्नुभएको छ ? उनले त्यो पनि कार्यव्यवस्तताले नभ्याएको भने । ठिकै छ । अनि तपाईँले जिल्लास्थित बाहिरबाट आई कार्यालय प्रमुख भएका साथीहरुसँग, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरुसँग वा जिल्लाका सरकारी शिक्षकहरुसँग कहिल्यै यसो विहान बेलुका मर्निङवाक वा अन्त कतै भेटघाट गर्ने वा भलाकुसारी गर्ने गर्नुभएको छ ? उनले त्यो पनि छैन भने र प्रतिप्रश्न गरे, यो सवै किन सोधिरहनुभएको छ सिडियो साप ? सिडियोले भने, ‘तपाईं अलोकप्रिय हुने कारणहरु ठुुला छैनन् सर, यस्तै यस्तै हुन् ।’ उनको हाँसी हाँसी कहाँ कमजोरी छ ? भनी सोध्ने शैलीले मलाई जहाँ गए पनि शिक्षा दिईरहे जस्तो लाग्छ । जिशिअले मनन् गरे, गरेनन् थाहा छैन । अचेल उनी शिक्षा विभाग वा मन्त्रालयतिरै देखिन्छन्, जिल्ला शिक्षा अधिकारी भएको देखिएको छैन ।
खासगरी जनतासँग दैन्यदैन्यका समस्यामा प्रत्यक्ष जोडिने अनङ्कित (कार्यालय सहयोगी, खरिदार, सुव्वा, लेखापाल, ओभरसियर, अ.हे.व, अ.न.मी, जेटिए, पशु प्राविधिक, गा.वि.स. सचिव आदि) तहका अधिकांश कर्मचारीमा नैतिकताको ठुलो खडेरी छ अहिले नेपालमा । उनीहरु कार्यालयमा हाँस्न नै छोडिसकेका छन् । तपार्इँ हामी सवैको तीतो आमअनुभव के छ भने, जिल्ला प्रशासनमा, अस्पतालमा, गाउँ विकास समितिमा, मालपोतमा, नापीमा, कृषि, पशु कार्यालयमा जहाँ गए पनि ती तल्लो तहका कर्मचारीहरुको झर्को फर्को हामी सवैले कहीँ न कहीँ भोगेकै छौँ । हो सेवाग्राहीमा पनि समस्या छ । उनीहरु कार्यालय छिर्दा नै नकारात्मक भएर छिरेका हुन्छन् अनि हाम्रो जस्तो प्रकृयामुखी, तोक आदेश मुखी, कागजी कार्य धेरै भएको, लालफित्ताशाही व्यवहार भएको कार्यालयमा हुने ढिलासुस्तीको सम्पूर्ण दोष हामी साना कर्मचारीलाई दिन्छन् अनि देशको अव्यवस्था, कुनीति, चर्को राजनीतिकरण लगायतबाट उनीहरुमा रहेको आक्रोस हामीले भोग्नुपर्छ । कालान्तरमा यही दोहोरो थिचाईले कर्मचारीलाई रुखो, अव्यवहारिक, विवेकशून्य र नैतिकहीन बनाउँदै लैजान्छ÷लगिरहेछ ।
नैतिकता अमुर्त हुन्छ । योयो गर्ने र योयो नगर्ने भन्ने कुनै सिधासाधा नियममा नैतिकता बाँधिदैन । जीवन पद्धति पनि हो नैतिकता । यसलाई हामीले जीवनपद्धति बनाउन सकिरहेका छैनौँ अचेल । हामीहरुको नैतिकता क्षय भएका केही उदाहरणहरु हेरौँ ।
हामीलाई सरकारले पोशाक दिएको छ कटनको सेतो कमिज र गाढा नीलो पाइन्ट, सोही कलरको कोट, छालाको कालो जुत्ता । जाडो मौसममा निलो ज्याकेट र कालो अन्य प्रकारको जुत्ता लाउने सुविधा पनि छ । त्यसैगरी महिलाले प्याजी कलरको कुर्ता सुरुवाल । तर हामी आधाउधीले त्यो लाउँदैनौ अनि वाँकीले पोशाकको नाममा सेतो रङको सर्ट र नीलो रङको पाइन्ट लाउँछौ । अव सेतो सर्ट र नीलो पाइन्ट कस्ताकस्ता लाउँछौ ? त्यो त बाटामा तपार्इँ हामीले देखेकै छौँ, देखाएकै छौँ । हो जुन ड्रेसकोड छ त्यसलाई लाउन मन नगर्नु र मिल्दोजुल्दो ड्रेस लाउनु पनि अनैतिक हुनु नै हो । सफा र तोकिएको पोशाक लगाई कार्यालय जाँदा हामीलाई किन हीनताबोध हुन्छ ? हुँदैन भने पोशाकमा यो दरिद्रता किन ?
काठमाडौँका सर्वसाधारणको धेरै आउजाउ नहुने विभाग तथा कार्यालयमा हेर्नुहोस् ३ बजेपछि हाकिम र कार्यालय कुर्ने बाहेक प्रायजसो कर्मचारी कुर्सीमा भेटिँदैनन् । भन्दा सुन्दा दुःख लाग्छ तर यो यथार्थ हो । अधिकांश कर्मचारी बाहिर अध्यापन, विमाको अभिकर्ता, शेयर दलाल, ट्युसन क्लास सञ्चालन, सानातिना व्यसायमा संलग्न हुने, पार्टीगत कार्य तथा खेतीपातीमै लाग्ने परिपाटी रहिआएको छ । यो पनि नैतिकता ह्राशकै विषय हो । जवसम्म कर्मचारी स्वयंले महशुस गर्दैन तवसम्म हा.टा. (हाजिर गरी टापकस्ने) प्रवित्ति कसैगरी रोकिँदैन ।
कार्यालयको हामो अगाडिको टेवलमा जहिल्यै धुलो हुन्छ, भुर्इँ फोहोर हुन्छ, कार्यालयको सिलिङ हेर्नुस् माकुरोले जालो लाइरहेको हुन्छ, कुनाभरि पोका असरल्ल लडिरहेका हुन्छन्, सरकारले कार्यालयमा स्थायी कार्यालय सहयोगी माग्न छोडेको दशकौँ भइसक्यो । भएका कार्यालय सहयोगीले साँच्चै नै सहयोगीको काम गर्न छोडेको पनि त्यति नै भइसक्यो । करारका केही कार्यालय सहयोगीले सवैतिर काम गर्न निश्चय नै सक्दैनन् । हामी आफैँ मोटरसाइकलमा रहेको टालोले हाम्रो टेवल कुर्सीसम्म पुछ्न सक्दैनाँै । हामीलाई बरु फोहोर मञ्जुर छ तर कार्यालय सहयोगी सरह बनिने खोक्रो आडम्बरले आफ्नो कार्यकक्ष सफा गर्न हुँदैन ।
अहिले लोकसेवा आयोगको परीक्षा तयारी गर्ने नाममा कार्यालयको काम पूरै रोकिने गरी विदा बस्ने तर परीक्षालाई चाहिने मसलन्द कार्यालयबाट लिने, इन्टरनेट, प्रिन्टर, कम्प्युटर कार्यालयको दुरुपयोग गर्ने डरलाग्दो प्रवृत्ति सुरु भएको छ । भन्नलाई वृत्तिविकासको लागि पढ्न पनि नपाउने भन्ने होला तर यसो विचार गरौँ त, सबैले यसै भन्ने हो र विदा लिने हो भने कार्यालयको हविगत के होला ?
अनावश्यक ट्रेड युनियनकर्मी बनेर काम छल्ने प्रवृत्ति पनि उस्तै छ नेपालमा । पेशागत हिसावले म पनि ट्रेड युनियनमा आवद्ध छु तर त्यसमा निर्वाचित÷मनोनित हुँदैमा काम नै गर्न हुन्न भन्ने मान्यताको घोर विरोधी हुँ म । एकपटक भयो के भने, व्यक्तिगत भेटघाटको लागि म गृह मन्त्रालयका सुव्वा तथा ट्रेड युनियनका कन्द्रिीय तहका नेतासँग भेट गर्न गएँ । तीन दिन खोज्दा पनि उनी मन्त्रालयमा भेटिएनन् । बरु मन्त्रीज्युलाई भेट्न मलाई सहज थियो, उनीसँग भेट भएन । किन भएन भने कर्मचारीका लागि भनेर गरिने भेला कार्यक्रम, संगठन, मिटिङनै यति धेरै थियो कि दुर्गममा काम गर्ने म जस्तोसँग उनलाई भेट्ने समय नै थिएन । अव उनले म जस्ताको हकहितका लागि भनेर गरेको ट्रेड युनियन राजनीतिले उनलाई र मलाई कहाँ पु¥याउने हो कमसेकम मलाई चाहिँ थाहा छैन । देशैभरिका ट्रेड युनियनका जिल्ला अध्यक्ष, केन्द्रीय कमिटीमा रहेका, मन्त्रालय तथा केन्द्रीय निकायका विभागीय अध्यक्ष समेत गरी सयौँ जना यसरी कुन कर्मचारी संगठनको हो सो खुल्ने ज्याकेट लायो, एउटा डायरी र कलम बोक्यो अनि १० बजे अफिसमा हाजिर गरी हिँड्यो कर्मचारीको हकहितको लागि भनेर । विचरा अन्य कर्मचारी उनीहरुको समेत काम गरी बस्न बाध्य छन् । यो नैतिकताको प्रश्न हो कि हैन ? ट्रेड युनियनकर्मीले आफ्नो कार्यालयको काम गर्नुपर्छ कि पर्दैन ? सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्छ कि पर्दैन ?
अर्को हो हाम्रो अपारदर्शी जीवनशैली । हो सवै निजामती कर्मचारी भुखा नंगा भएर सेवा प्रवेश गरेका हुदैनन् । उनीहरुको आर्थिक सामाजिक हैसियत आ–आफ्नो हुन्छ । सोही अनुसारको आम जीवनशैली लाई अन्यथा मान्न भएन । तर हामी यस्तो देखासिखी जीवन बाँच्छौ कि हामीलाई हेर्ने जनमानसले यसलाई नकारात्मक लिइरहेको हुन्छ । काठमाडौँमा कुनैकुनै बाहिरको कर्मचारीले घर बनायो भने उसको पारिवारिक आर्थिक हैसियत, उसको नोकरी अवधि केही नहेरी सर्वसाधारणको सिधासाधा धारणा बन्छ यसले घुस खाएर कमायो, हिजो सम्म भाडामा बसेको र केही हजार तलव भएको यसले यत्रो महल बनायो । यस धारणामा मलजल गर्ने हामी कर्मचारी नै हौँ हामी ठिक्कको जीवन निर्वाह गर्न सक्ने घर बनाउन जान्दैनौ, ठुलै बनाउनुपर्छ, मार्वलै छाप्नुपर्छ । आँखै टल्कने गरी रङ पोत्नैपर्छ । यहां पनि कुरो नैतिकता को नै आउँछ । गान्धीले कतै भनेका छन् सुखी र खुसी हुन धेरै सजिलो छ तर हिम्मत चाहिँ हुनुपर्छ । त्यो के भने सदा–सर्वदा जति छ त्यतिमा चित्त बुझाउनुपर्छ र परी आउँदा ठुलो कुरा त्याग गर्न सक्नुपर्छ, बस् । मानिस खुसी र सुखी भइहाल्छ । यो उच्च नैतिक चरित्र भएको मानिसले मात्र गर्न सक्ने कुरा हो । फेरि हेर्नुहोस् त कुनै कर्मचारीको लवाइखवाइ । कसैको लवाइखवाइ र आचरण यति भड्किलो भइदिन्छ कि कुरै नगरौँ । मेरा एकजना शाखा अधिकृत सरले एउटा डिपार्टमेन्टल स्टोरमा खरिदारी गर्न जाँदा म पनि सँगै जाने सौभाग्य पाएको थिएँ । उनले त्यहाँ पाएको आतिथ्य र स्वागत सत्कारले लाग्थ्थो उनी त्यहाँका नियमित ग्राहक हुन् । खरिदारी सकेर बाहिर निस्कँदा जिज्ञाशाबश मैले सोधेँ, ‘सर कतिको खरीदारी भयो ?’ उनले भने, ‘आज त्यति राम्रो सामानहरु थिएन त्यस्तै २२–२३ हजारको मात्र किनेँ ।’ अनि मैले सर हजुरको तलव त त्यही ३०५०० नै हैन त ? भनी सोध्दा उनले अनुहारमा देखाएको रिस प्रष्टै देखिन्थ्यो । हामीलाई जनताले कार्यालयमा, घरमा, बाटोमा, मेला पर्वमा, भिडमा, सभा सम्मेलनमा जहाँ पनि वाच गरिरहेका हुन्छन् । हाम्रो हरेक पाइला भनेको सरकारको सफलता वा असफलताको प्रतिविम्व हो । कर्मचारी राम्रो भए, सदाचारी भए, नैतिकवान भए, सरकार राम्रो समाज राम्रो घर परीवार राम्रो । कर्मचारी नै नराम्रो भइदिए अन्य कुरा पनि क्रमश विगँ्रदै जाने हो ।
हामी कर्मचारी अपडेट छैनौ, नयाँ कुरा सिक्नै चाहँदैनौँ । सानो उदाहरणः नेपाल सरकारले टाइपिष्ट दरबन्दी कटौती गरिसक्यो, नयाँ कर्मचारी लोकसेवाले लिने कम्प्युटर परीक्षा समेत पास गरेर आएका हुन्छन् तर पुराना कर्मचारी ? अहँ, मरी गए कम्पुटर सिक्दैनन् । सिक्नै चाहँदैनन् । सवै कर्मचारीलाई तालिम भनेर सरकारले नीति नै बनाएर लागू गरेको छ । तर कर्मचारी पुरै उदासिन छन् । कम्प्युटर नै नसिकेपछि अनलाइन बेस सर्भिस, पेपरलेस सर्भिसको के कुरा गर्नु । गफ दिएको हैन राष्ट्रिय सतर्कता केन्द्रले निरीक्षण गरोस्, सुशासनको एक अंग, विद्युतिय हाजिरी मेसिनको प्रयोग नै काठमाडौँको सवै कार्यालयमा अझै भएको छैन । भित्तामा उभिएर मेशीनमा औँलाको ल्याप्चे लाउन त यति मुस्किल छ भने सवैलाई कम्प्युटर शिक्षा दिलाएर पेपरलेस कार्यालय बनाउन कहिले सफल हुने हो थाहा छैन ।
खासगरी पुरुष निजामती कर्मचारीहरुको सन्दर्भमा यो देखिएको छ । स्वस्थ्य जीवनशैली छैन नियमित व्यायाम, खानपान, छोराछोरी आमाबुबासँग नियमित उठवस, तिर्थ, देश दर्शन, धर्म कर्म, अहँ केही नियमित छैन । अलिकति पैसोको जोहो भयो भने कि त मदिरा सहितको राम रमाइलो वा म्यारिजमा जमघट । यस्तो छ अहिले । अधिकांश कर्मचारीको यही अनियमित खानपान र जीवनशैलीले हातखुट्टा सुकेको र पेट फुकेको अवस्था छ । मोटोपन बढ्दो छ । रोग बढ्दो छ । पुटुस्स पेट भएको अधवैंसे मानिस देख्नु भो भने सम्भवतः त्यो अनङ्कित तहको निजामती कर्मचारी नै हुने सम्भावना छ । सिभिल अस्पतालमा होलबडी चेकअपको थामिनसक्नु भिडले यसैलाई सङ्केत गर्छ ।
कर्मचारी सबै ठुला पदका मात्र राम्रा या नराम्रा भन्ने हैन मेरा सहकर्मी थिए दोलखामा । कार्यालय सहयोगी, कारागार कार्यालयमा करार सेवाबाट जागिर शुरु गरेका, रामकृष्ण के.सी. । उनलाई मासिक तलव आओस् नआओेस् मतलव छैन । काम गर्नुप¥यो बस् । उनी काम गर्दा कारागार, जिल्ला प्रशासन सवै अड्डामा काम गर्न भ्याउने । कहीलेकाहीँ हामी उनलाई हेलिकप्टर पनि भन्छौँ । उनी सधैँ कारागारको गोर्खापत्र कारागारकी हाकिमनीलाई बुझाउन जाँदा रहेछन् । एकदिन मैले गोरखापत्र क्वाटरमा नलैजानु कार्यालयमा ल्याउनु भनी अह्राएँ, उनीले सदाझैँ हस् भने । भोलि कार्यालयमा पनि गोर्खापत्र आयो अनि बेलुका क्वाटरमा पनि गोर्खापत्र देखेपछि मैले उनलाई सोधेँ हाकिमनीले किनिछन् कि क्या हो । उनले भने हैन सर पत्रिका नल्याए हाकिमनी रिसाउनु होला भनी मैले तपाईंलाई चाहिँ आफैँ किनेर अफिसमा ल्याइदिएको । ओ हो । नसकिने भो तपाईँसँग भनी मैले भोलिपल्टदेखि गोरखापत्र माग्न नै छाडिदिएँ । उनको कामप्रतिको लगन, इमानदारिता र नैतिकता देखेर प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज गौतमले दोलखाको एक कार्यक्रममा हामीले के.सी.जीबाट सिक्ने कुरा धेरै छन् भनेर जिल्लाका कार्यालय प्रमुखहरुको समुन्ने सार्वजानिक मन्तव्य नै दिनुभएको मलाई स्मरण छ । एउटा जिल्लामा त नैतिकता मरिनसकेका यति कर्मचारी छन् भने नेपालभरि राष्ट्रसेवा गरी बसेका अज्ञात तर नैतिकवान कर्मचारी छैनन् भन्ने कुरै छैन । छन् तर तिनीहरुको नैतिकता हामीले अनुसरण गर्न सकिरहेका छैनौँ देखाउन सकिरहेका छैनौँ । सिक्न सकिरहेका छैनौँ ।
नैतिकता सर्दै जाने कुरा हो । हाम्रो नैतिकता हाम्रा सन्ततीले अनुसरण गर्छन् । हामीलाई रोलमोडल मान्ने हाम्रा सन्ततिले के सिक्ने त हामीबाट ? यसो मनन् गरौँ त ?
हामीलाई नैतिकवान बनाउने कुरा सङ्गत पनि हो जस्तो मलाई लाग्छ । हाम्रो जहिल्यै आमने सामने हुने राजनैतिक व्यक्तित्व, पत्रकार जगत र नागरिक समाज तथा सर्वसाधारण सेवाग्राहीसँग हुने हाम्रो निरन्तर सम्पर्क सम्बन्धले हामीलाई कुबाटो जानबाट धेरै हद सम्म बचाउँछ । हामीले गर्ने नराम्रो कृयाकलापमा माथिका व्यक्तिहरुले कि आपत्ति जनाउछन् कि त्यस्तो सम्भावित गलत कार्यबाट जोगाँंछन् । त्यसैले हामी निष्कृय नबसौँ, एकलकाँटे नवनौँ, समाजमा धुमिल होऔँ । सामाजिक काममा हातेमालो गरौँ, लेखौँ, पढौँ घुमौँ । लालफित्ताशाही त्यागौँ । कार्यालयको जस अपजस हाम्रो सेवा प्रवाहबाट हुने हो । हामी सरकारका ऐना हौँ, स्थायी सरकार हौँ । नविर्सौँ ।

nepalsanjay@yahoo.com

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।