तीब्र उतारचढाबकाबीच दोहोरो अंकले बजार बढ्नुले के संकेत गर्छ ?
आवाज संवाददाता १८ माघ २०७३, मंगलवारनिरन्तर उच्च अंकले झरेको सेयरबजार मंगलबार दोहोरो अंकले बढेको छ । बजारमा कारोबारमा आएका अधिकांस सूचकहरु सकारात्मक रहेपछि बजार दोहोरो अंकले उकालो लागेको हो । वित्त बजारमा देखिएको तरलताको अभाव लामो समयसम्म नरहने संकेत मिलेपछि बजारको रुप फेरिएको हो ।
बैंक तथा वित्तीय संस्थामा कर्जा योग्य रकमको अभाव तथा बैंक ब्याजदरमा आएको वृद्धि लगायतले ओरालो लगेको बजारमा कर्जा योग्य रकमको अभाव लामो समयसम्म नरहने संकेत मिलेपछि सुधार देखिएको हो ।
नेपाल लाइफको एफपीओमा परेको ५२ अर्ब बराबरको रकम र राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारमा पठाएपछि यसले बजार सुधारउन्मुखक देखिएको हो ।
अघिल्लो दिन ६५ अंकले बजार घट्दा एकदिनमा ७४ अर्ब बराबरको सम्पत्ति गुमाएका लगानीकर्ताले मंगलबार १६ अंकले बजार बढ्दा ४५ अर्ब रुपैयाँले सम्पत्ति बढाएका छन् । सोमबार १४ खर्ब ७३ अर्बमा झरेको बजार पूँजीकरण मंगलबार १४ खर्ब ९२ अर्बमा पुगेको छ ।
मंगलबार कारोबार खुल्नासाथ ओरालो लागेको बजार १४ अंकसम्म नकारात्मक बनेको थियो । त्यसपछि फर्किएको बजार एकघण्टा नपुग्दै २५ अंकसम्म माथि चढेको थियो । त्यसपछि फेरि बजार ओरालो लागेको बजार १५ अंकसम्म तल झरेर बन्द हुने समयमा अघिल्लो दिनको भन्दा १६ अंक माथि पुगेर बन्द भएको छ ।
मंगलबार सेयर बजार परिसुचक नेप्से १६.०९ अंकले बढेर १३२६.६० अंकमा उक्लेको छ । बजारमा कारोबारमा आएका वीमा र अन्य बाहेक सबै समूहमा आएको सुधारले बजार दोहोरो अंकले बढेको हो । यसदिन वीमा समूह २८ अंक तथा अन्य समूह सामान्य अंकले घटेको छ । वाणिज्य बैंक २५.४४,होटल १०९, विकास बैंक ३.३२, जलविद्युत १३, वित्त ९ र उत्पादन समूह १९.८२ अंकले बढेको छ ।
१३७ कम्पनीका १६ लाख ४९ हजार ७ सय ९८ कित्ता सेयर ५२ करोड ८५ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने करिब एक करोडले कम हो ।
बजार १६ अंकले उकालो लाग्दा सोल्टी होटल र श्रीराम सुगरमिलका लगानीकर्ताले झण्डै दश प्रतिशतको हाराहारीमा कमाएका छन्। यस्तै कालिका माइक्रोक्रेडिट,सगरमाथा फाइनान्स, सेञ्चुरी बैंक, माउण्ट मकालु,देव विकास, लक्ष्मी बैंक तथा मुक्तिनाथ विकास बैंक लगायतका कम्पनीले धेरै कमाउनेमा परे ।
यसदिन गुराँस लाइफको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले झरेको छ । एनएमबि संस्थापक, फस्र्ट माइक्रो, सिद्धार्थ इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्स, सूर्य लाइफ तथा नेपाल इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।
बढेको बजारमा गरिमा विकास बैंकको संस्थापक सेयरको सबैभन्दा बढी ३ करोड ६८ लाख बराबरको सेयर किनबेच भयो । नेपाल टेलिमक,सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल लाइफ र एशियन लाइफको पनि दुई करोड बढीको सेयर किनबेच भएको छ ।
मेरो लगानीबाट
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।