१० वर्षपछि ज्यान मुद्दाका फरार दोषी पक्राउ

 आवाज संवाददाता     १९ माघ २०७३, बुधबार

दोलखा/ज्यान मुद्दामा सजाय तोकिएका नाम्दू गाविस ८ का चाउरे भनिने भीमसेन तामाङलाई दोलखा प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
करिब १० वर्षअघि नाम्दूको एक मन्दिरमा लागेको मेलामा भीमेश्वर ६ का सुजन श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्च अदालतले भीमसेनलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । नाम्दु ८ इन्द्रावती भगवतीको मन्दिरमा २०६४ पुस ८ गते लागेको मेलामा नाम्दु ८ कै कृष्णबहादुर श्रेष्ठ र भीमेश्वर ६ का शिवबहादुर बुढाथोकीबीच झगडा हुँदा भीमसेन तामाङले भीमेश्वर ६ का सुजन श्रेष्ठलाई लाठी, ढुङ्गासहितले लखेटीलखेटी मारेको आरोपमा उनलाई जन्म कैदको फैसला भएको थियो ।
हल्का सवारी चालकको पेशा गर्ने फरार तामाङलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका को मेलम्ची बजारबाट हिजो पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज दोलखा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राजन काफ्लेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF