रामकृष्ण ढकालले सोचेभन्दा राम्रो सुटिङस्थल पाए कालिन्चोक (फोटो फिचरसहित)

 आवाज संवाददाता     १९ माघ २०७३, बुधबार

दोलखा, माघ १९

श्रृङ्गारलाई पनि लाज लाग्ने
मदिरालाई मात लाग्ने
फूलले बासना सापटी माग्ने
चन्दनले छुँदा दाग लाग्ने
यस्तो को हौ तिमी…….

चर्चित गायक रामकृष्ण ढकालको स्वरमा यो गीत स्रोता र दर्शकहरुले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’ का दिन अर्थात आजको १३ दिनपछि सुन्न र हेर्न पाउने छन् ।
‘भ्यालेन्टाइन डे’ माया पिरती गाँस्नेहरुको दिनको रुपमा मनाउने गरिन्छ । तिनै माया पितरी गाँस्ने युवायुवतीहरुका लागि सुनमा सुगन्ध थप्ने भएका छन् चर्चित गायक रामकृष्ण ढकालले ।
यही ‘यस्तो को हौ तिमी ?’ बोलको गीत भ्यालेन्टाइन डेको दिन रिलिज गर्ने गरी गायक ढकालले म्युजिक भिडियो समेतको तयारी गर्दै छन् । म्युजिक भिडियोको लागि छायाङ्कनस्थल रोजे उनले दोलखाको कालिञ्चोकलाई र मौका छोपे हिउँ परेको बेलामा । उनले ३ दिनसम्म कालिञ्चोकमा बसेर म्युजिक भिडियोका लागि छायाङ्कन पनि गरे । हिउँ परेपछि धेरै युवायुवतीहरु राजधानीदेखि हिउँ खेल्नका लागि कालिञ्चोक पुग्छन् ।


यसपालिको हिउँ परेको मौका गायक रामकृष्ण ढकालले पनि छोप्न भ्याए । उनको गीतको लागि सोचे अनुसारको सुटिङ स्थल बन्यो कालिन्चोक । हिउँले सिँगारिएको र प्राकृतिक सुन्दरताले सजिएको कालिन्चोक क्षेत्र उनको गीतको लागि सुहाउँदो स्थल बन्यो । मनिष  वशिष्ठले लेखेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् भने दावा गुरुङको सङ्गीत कम्पोज र अर्जुन तिवारीको छायाँकन रहेको छ । म्युजिक भिडियोमा ढकालकै पत्नी नीलम शाह ढकाल र मन्चिन शाक्यले मोडलिङ गरेका छन् ।


‘यो गीत तयारी गर्ने भनेपछि त्यसको छायाङ्कनका लागि कता जाने भनेर सोचिरहेको थिएँ’ ढकालले आवाज अनलाइनसँग कुरा गर्दै भने ‘रसुवा जाने कि दोलखा भन्ने सोच्दै थिएँ, दोलखा रोजेर आएँ तर सोचेभन्दा पनि उत्साहित छु ।’ सानो छँदा दोलखा आएको बताउने ढकालले दोलखा आएपछि त स्वर्गको एउटा टुक्रा जस्तै लागेको प्रतिक्रिया दिए ।
चलचित्र र गीतसङ्गीतको छायाँकनले पर्यटन क्षेत्रको प्रबद्र्धन बढ्ने हुँदा त्यसमा राज्यले पनि ध्यान दिनुपर्ने उनको धारणा छ । म्युजिक भिडियो हेरेपछि दर्शकहरुले हिउँ पर्दै गर्दाको अनुभूति पाउने उनको दावी छ । आफ्नो गीत हेरेपछि कालिञ्चोक आउने पर्यटकहरु अझ बढ्ने उनको विश्वास छ ।


धेरै विकसित देशले पर्यटन प्रबद्र्धनको लागि राज्यले नै समन्वय र सहयोग गर्ने गरेको विश्व उदाहरण दिए । ‘यही एउटा गीतको छायाङ्कन गर्न काठमाडौँमा हामीलाई एक लाखमा बन्छ’ उनले भने ‘यही काम काठमाडौँ बाहिर जाँदा ४ लाख खर्च हुन्छ ।’ यस्तो काममा राज्यले समन्वय गरे खर्च पनि कम हुने र कालिञ्चोक जस्ता ठाउँमा पर्यटन प्रबद्र्धन हुने उनको ठम्याइ छ । अमेरिका, युरोप, भारत जस्ता मुलुकमा पर्यटन प्रबद्र्धनका लागि राज्यले नै फिल्म, गीत सङ्गीतको छायाँकनलाई कार्यक्रमकै रुपमा प्रयोग गर्ने गरेको बताए ।


छायाँकनकै लागि पहिलोपटक दोलखा आएका गायक ढकालले प्राकृतिक रुपमा नै दोलखा अत्यन्तै सुन्दर रहेको बताए । ‘आफ्नो गीतका लागि राम्रो ठाउँको खोजीमा थिएँ’ उनले भने ‘कालिञ्चोक सोचेभन्दा राम्रो ठाउँ पाएँ, प्रस्तावित फिल्म सिटी सरकारले सही ठाउँ रोजेछ ।’ खरिढुङ्गा आउने वित्तिकै सडकमै एक÷दुई स्न्याप लिन मन लागेको उनले सुनाए । ‘सडक वरपर नै यस्तो छ, अरु ठाउँ कस्तो होला ?’ उनले आश्चर्य व्यक्त गरे । प्रस्तावित फिल्म सिटी खरिढुङ्गा नजिक डाँङडुङे डाँडामा प्रस्ताव गरेको छ र निर्माणको लागि विस्तृत परियोजना तयारीको अवस्थामा छ ।


सानै उमेरदेखि गायन क्षेत्रमा लागेका ढकालले यो क्षेत्रमै निरन्तर ३० वर्ष बिताएका छन् । पटकपटक विभिन्न गीतबाट चर्चित भएका ढकालले सधैँ एउटै मात्र व्यक्तिको समय नहुने बताए । ‘अहिले नयाँ नयाँ कलाकारहरु आएका छन्, प्रविधि पनि नयाँ आएको छ’ उनले भने ‘पहिलापहिला गीत आएपछि ५० औँ हजार एल्बम बजारमा पठाउनुपथ्र्यो अहिले प्रचारप्रसार मात्र गरे हुने भएको छ ।’
पछिल्लो समय रामकृष्ण ढकालको गीत कमै आएको हो कि भन्ने गुनासो स्रोताबाट आफूले पनि सुनेको बताउने ढकालले आफू निरन्तर गीत सङ्गीतमै रहेको दावी गरे । ‘मेरो पेशा भनेकै गायन हो, अहिले पनि म निरन्तर यसैमा छु’ उनले भने ‘कुनै बेला नारायण गोपालको गीत चर्चामा थिए तर अब नयाँनयाँ कलाकारहरु आएका छन् ।’ नयाँ गायक तथा कलकारलाई कसैले रोक्न नसक्ने उनको धारणा छ ।


आशीर्वाद फिल्ममा एक दशकअघि नायकको भूमिकामा  देखिएका ढकाल पुनः अर्को एउटा फिल्ममा अभिनय गर्न लागेको बताए । एक डेढ वर्षमै दर्शकले ढकाल अभिनित फिल्म हेर्न पाउने उनले बताए । ‘मलाई गीत लेख्न, कम्पोज गर्न र अभिनय गर्न आउँछ’ उनले भने ‘तर मेरो मुख्य पेशा गायन हो, लेख्न, कम्पोज गर्न र अभिनय गर्न मभन्दा राम्रा अरु छन् ।’
ढकालले निकालेका अधिकांश एल्बम अ, आ बाट सुरु भएका छन् । यो कुनै कारण नभए पनि संयोग मात्र भएको बताए । उनका ८ वटा अ, आबाट सुरु भएका एल्बम बजारमा छन् ।

तस्विर सौजन्यः रामकृष्ण ढकाल

सुन्नुहोस् गीत

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF