खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइन प्रमद्वारा उद्घाटन

 आवाज संवाददाता     २० माघ २०७३, बिहीबार

दोलखा, २० माघ

११ वर्ष अघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर विद्युुत प्रशारण लाइनको विहीबार औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखाको खिम्तीमा २२० केभिएको प्रशारण लाइन उद्घाटन गरे । सो प्रसारण लाइन बनेसँगै काठमाडौंमा भारतबाट विद्युत ल्याउन र दोलखाबाट पूर्वपश्चिममा विद्युत प्रसारणमा बाटो बनेको छ ।
विद्युत प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको सबैभन्दा ठूलो क्षमताको प्रसारण लाइन ढिलै भए पनि सञ्चालनमा आउँनु विद्युत विकासका लागि कोसेढुङ्गा सावित हुने बताए । तीन साता अघि निर्माण सम्पन्न भएको प्रशारण लाइन परिक्षण पश्चात बिहिबार उद्घाटन गरिएको हो । निर्माण सम्पन भएपश्चात भारतबाट थप ४० मेगावाट विद्युत आयत भएर काठमाडौं पु¥याइएको छ ।
प्रधानमन्त्रीले परीक्षणका रुपमा काठमाडौं, पोखरा लगायतका सहरमा लोडसेडिङ नगरे पनि अब जेठ देशभर लोडसेडिङमुक्त गर्ने घोषणा गरे । प्रधानमन्त्री दाहालले घिसिङलाई प्राधिकरणमा ल्याउन निकै संघर्ष गर्नुपरेको बताए । ‘राम्रा मान्छे ठीक ठाउँमा र्पयो भने नतिजा पनि ठीक हुन्छ,’ दहालले भने,’ कुलमानलाई यस ठाउँमा ल्याउन मलाई धेरै संघर्ष गर्नुपरेको थियो ।’ राम्रो र मेहनती मान्छेको फल हामी अहिले भोगिरहेका प्रधानमन्त्रीले बताए ।
उक्त प्रशारण लाइनबाट ७०० मेगावाट बिजुली ल्याउन लैजान मिल्छ । अहिलेसम्म भारत निर्यात गर्न पुग्ने गरी नेपालमा बिजुली उत्पादन भइ नसकेको हुँदा आयात गर्ने सर्किट मात्र निर्माण पुरा भएको छ । अर्को सर्किटको निर्माण पनि भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
खिम्तीसम्म उक्त प्रशारण लाइन मार्फत ल्याइएको भारतीय बिजुली त्यहाँबाट खिम्ती–लामोसाँघु– भक्तपुर १३२ केभी प्रसारण लाइनहुँदै काठमाडौँ भित्र्याइन्छ । प्रशारण लाइन निर्माणले बिजुली चुहावट १० मेगावाटसम्म कम हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
एक अर्ब ९५ करोड रुपैयाँको लागतमा ७४ किलोमिटर लामो उक्त प्रशारण लाइन निर्माण भएको हो । जसमा बिश्व बैंकले ६७ करोड ५० लाख रुपैयाँ सहुलियत ऋण र ३७ करोड ५० लाख अनुदान सहयोग गरेको छ । नपुग रकम मध्ये नेपाल सरकारले ६८ करोड २५ लाख ३३ हजार र प्राधिकरणले २२ करोड २० लाख ७५ हजार रुपैयाँ ब्यहोरेको थियो । १८८ वटा पोल गाडिएको उक्त प्रशारण लाइन निर्माणका लागि १०२ रोपनी जमिन अधिग्रहण गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
२०६३ सालमै ठेक्का लगाइएको उक्त आयोजना निर्माणमा सिन्धुली लगायत स्थानमा सर्वसाधारणले मुआब्जामा चित्त नबुझाएर अवरोध गर्दा सम्पन्न गर्न एक दशक लागेको प्राधिकरणले जनाएको छ । प्रशारण लाइन निर्माणका क्रममा २५ हजार रुख कटान गरिएकोमा ६ लाख २५ हजार बृक्षारोपण गरेको जनाइएको छ ।

आयोजना ढिला भएकोमा प्रधानमन्त्री दुःखी

खिम्ती–ढल्केबर प्रशारण लाइन उद्घाटनका क्रममा विकास आयोजना ढिला हुनुमा आफू दुःखी बनेको बताए । ३ वर्षमा पूरा हुनुपर्ने आयोजना १० वर्षसम्म पूरा नहुनु अत्यन्तै दुःखद् बनेको बताए । विकास आयोजना अपारदर्शी, ढिलो हुनु र गुणस्तर पनि नहुनुमा निहीत स्वार्थका कारण बाधक बनेको बताए ।
अब विकास निर्माणमा एउटा राष्ट्रिय संकल्प गरेर विकासे आयोजना चाँडै सक्ने र अवरोध नहुने वातावरण निर्माण गर्न सबै पक्ष लाग्नु पर्ने बताए । “समयमै काम पूरा गर्न, गुणस्तरीयता कायम गर्न र पारदर्शी बनाउन प्रतिस्पर्धा हुनु पर्ने हो तर यहाँ त उल्टो पो भएको छ” उनले भने “मैले अब राष्ट्रिय गौरवका आयोजनामा जुन विन्दुमा छ, त्यहाँबाट निर्धारित लक्ष्यभन्दा छिटो पूरा भए पुरस्कार र ढिला गरे दण्डको व्यवस्था गराएको छु ।”
प्रधानमन्त्रीेले नेपालको विकासको आधार विद्युतीकरण र विद्युतको विकास नै भएकोमा जोड दिए । विद्युत भए औद्योगिकरण, कृषि, सिचाइ, यातायात लगायत धेरै विकास गर्न सकिने बताए ।

भारतले विजुली नकिन्ने भन्दैमा उत्पादन रोकिन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नकिन्ने आशंका गरेर विद्युत उत्पादनको गति रोक्न नहुने बताएका छन् । ‘भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला ।’ प्रधानमन्त्रीले भने ।
उनले नयाँ प्रशारण लाइन आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताए । विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको सँगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गरे । ‘एक दिनमै हुने काम एक महिना लगाउने चलन रहेछ । त्यसरी ठूला आयोजनाको काम प्रभावित गर्ने प्रचलन रोक्न बर्तमान सरकारले काम थालेको छ ।’ प्रधानमन्त्रीले भने ।
नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।

राती ११ बजे ऊर्जामन्त्रीले फोन गर्दा कार्यकारी निर्देशक लोडसेन्टर र सव स्टेशनमा

ऊर्जा मन्त्री जनार्धन शर्माले राति ११ बजे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन गरेर छड्के चेक गर्ने गरेको बताएका छन् । प्रसारण लाइन उद्घाटनमा प्रधानमन्त्रीसँगै खिम्ती आएका मन्त्री शर्माले बिहिबार दोलखामा प्रशारण लाइनको सुरू गर्न पुगेका मन्त्री शर्माले अधिकांश समय घिसिङको तारिफमा खर्चिएका थिए। ‘म राति ११ बजे कुलमानलाई फोन गरेर सोध्छु यतिखेर तपाईँ कहा हुनुहुन्छ भन्दा उहाँ कहिले सव स्टेसन त कहिले भार प्रेशण केन्द्रमा पुगेर काम गरिरहेको जानकारी दिनुहुन्छ ।
यसरी रात दिन खटेर काम गरेकै कारण देश लोडसेडिङ मुक्त भएको हो,’ उनले भने । घिसिङको रातदिनको मेहनतको फल आज हामी लोडसेडिङमुक्त भएर असुलिरहेका उनले बताए।
तीन वर्षमा निर्माण हुने परियोजनामा १७ वर्ष किन लाग्यो भन्ने प्रश्न गर्दै मन्त्री शर्माले अबदेखि जलविद्युत आयोजना तथा प्रसारण लाईन आयोजनाहरुको सर्वे डिजाईनको काम एक वर्ष्भित्रै सम्पन्न गर्ने गरी नीति बनाउन लागिएको जानकारी दिए ।
‘अब जलविद्युत आयोजनाको सर्भे मै १० वर्ष लाग्ने दिन सकिँदैछ । अब एकवर्ष्भित्र सर्भे गरिसक्नुपर्ने व्यवस्था हामी गर्दैछौं । यसबाट छिटो काम गर्न दबाव मात्रै होइन, प्रवर्द्धकलाई प्रेरणा पनि मिल्नेछ ‘ शर्माले भने ।
उज्यालो अभियान कार्यक्रम देशमा लोडसेडिङ अन्त्य गर्ने अभियान मात्र नभई राष्ट्रलाई औद्योगीकरणको दिशामा अघि बढाएर समृद्ध नेपाल निर्माण गर्ने अभियान भएको मन्त्री शर्माले उल्लेख गरे ।
नेपालको पानी जनताको लगानी कार्यक्रमले लगानीको प्राथमिकता नेपाली जनताकै हुनुपर्ने उद्देश्य राखेको भन्दै उनले लगानीको दोस्रो प्राथमिकता आन्तरिक ऋण र तेश्रो प्राथमिकतामा मात्र बैदेशिक लगानी भित्र्याउनुपर्ने धारणा राखे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।