राप्रपाको क्षेत्रीय अध्यक्षमा प्रविण थोकर र विजय खड्का

 आवाज संवाददाता     २२ माघ २०७३, शनिबार

राप्रपाको एकताको पहिलो क्षेत्रीय अधिवेशन सकिएको छ । शुक्रबार चरिकोटमा भएको दोलखा क्षेत्र नं. १ र २ को छुट्टा छुट्टै अधिवेशनले क्रमशः प्रविन थोकर र विजय खड्काको नेतृत्वमा क्षेत्रीय समिति चयन भएको छ । दुवै क्षेत्रको २१ सदस्य क्षेत्रीय समिति मध्ये १५÷१५ सदस्य निर्वाचन प्रक्रियाबाट चयन भएका छन् । विधान अनुसार बाँकी ६ जनाको मनोनित हुनेछन् ।
राप्रपा र राप्रपा नेपाल बीचको पार्टी एकतापछि एकता अधिवेशन सुरु भएको हो । यस अधि गाउँ तथा नगर अधिवेशन पूरा भइसकेको छ । राप्रपाको माघ २५ गते जिल्ला अधिवेशन हुने तयारी छ । जिल्ला अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त राजनबहादुर शिवाकोटीले जानकारी दिए ।
जिल्ला अधिवेशनका लागि गाउँ गाउँबाट प्रतिनिधि चयन भइसकेका छन् । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवयानी राणा पनि शैलुङ्गेश्वरबाट प्रतिनिधि छिन् ।
केन्द्रीय समितिका लागि जिल्लाबाट प्रतिनिधि चयन हुने छन् । राप्रपामा अध्यक्ष पदका लागि सुन्दरप्रकाश खड्का, तीर्थ केसी बलबहादुर तपाङ लगायतले चाहना राखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF