काठमाडौं–खिम्ती–ढल्केबर अर्को ४ सय केभी प्रशारण लाइन बन्ने

 आवाज संवाददाता     २३ माघ २०७३, आईतवार

खिम्ती–ढल्केबर २२० केभीको प्रसारण लाइन पूरा भएसँगै पुनः अर्को ४ सय केभीको प्रसारण लाइन बन्ने भएको छ । राजधानी, तामाकोसी क्षेत्र मध्ये तराई र पूर्वी नेपालको विद्युत प्रसारण सन्तुलनका लागि सरकारले ठूलो क्षमताको प्रसारण लाइन बनाउन लागेको हो ।
११ वर्ष अघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर विद्युुत प्रशारण लाइनको विहीबार मात्र उद्घाटन भयो । खिम्ती–ढल्केबर २२० केभी सञ्चालनसँगै हालसम्मको सबैभन्दा ठूलो क्षमताको प्रसारण लाइन यही हो । सो प्रसारण लाइन बनेसँगै काठमाडौंमा भारतबाट विद्युत ल्याउन र दोलखाबाट पूर्वपश्चिममा विद्युत प्रसारणमा बाटो बनेको छ ।
खिम्ती–ढल्केबर सञ्चालनपछि भारतबाट आयत गरिएको विद्युत सिधै काठमाडौं पुगेको छ । यसले कालिगण्डकी र मध्याङ्दीको विद्युत पोखरामै व्यवस्थापन गर्दा पोखरा सहितका पश्चिम नेपाल पनि लोडसेडिङमुक्त गर्न सहज भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणले खिम्ती–बाह्रविसे–काठमाडौं ४ सय केभीको लागि टेण्डर नै भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार खिम्ती–ढल्केवर अर्को ४ सय केभीकै प्रसारण लाइनेको सर्भेको काम समेत सुरु भएको छ । प्राधिकरणले तामाकोसी र सुनकोसी क्षेत्रमा बन्ने जलविद्युत आयोजनाहरुलाई लक्षित गरी यि प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
प्राधिकरणले रामेछापको देवीटारमा न्यू खिम्ती सवस्टेशन निर्माण गरेर दोलखा, रामेछाप, सोलु, ओखलढुङ्गा र सिन्धुलीका आयोजनाबाट उत्पादित विद्युत जोड्ने लक्ष्य राखेको छ । प्राधिकरण निर्देशक घिसिङले सव स्टेशन निर्माणका लागि जग्गा प्राप्तीमा केही स्थानीयको अवरोध भएकाले यसमा गम्भिर भई दिने सबैपक्षसँग अनुरोध गरे ।
निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत न्यू खिम्तीमा नै जोड्ने लक्ष्य छ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङले दोलखा, रामेछाप, ओखलढुङ्गामा मात्र १ हजार ८ सय बढी मेगावाट क्षमताको प्राधिकरणसँग विद्युत खरिद सम्झौता(पीपीए) भइसकेको जानकारी दिए ।
खिम्ती–बाह्रविसे–काठमाडौं ४ सय केभी प्रसारण लाइनले सिन्धुपाल्चोकमा बन्ने आयोजनाहरुलाई समेत सहज भएको छ । अहिले खिम्ती–काठमाडौं १३२ केभी प्रसारण लाइन मात्र चालु छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले अब प्रसारण लाइनकै कारण कुनै पनि आयोजना रोक्न नपर्ने बताए । ‘प्रसारण लाइनकै ढिलाइकै कारण दोलखामा निर्माणाधिन केही आयोजनाहरु रोकिएको कुरा स्थलगत भ्रमणबाट जानकारी पाएँ’ उनले भने ‘त्यहाँको प्रसारण लाइन निर्माणले पनि अब गति लिने विश्वास लिए ।’ सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन ४ वर्ष अघि पूरा हुनु पर्ने भए तापनि सुरु हुन सकेको छैन ।
खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन निर्माण भएपछि ७ सय मेगावाट विद्युत प्रसारण गर्न मिल्ने भए तापनि ४ सय केभी विद्युत प्रसारण लाइनले १ हजार ५ सय मेगावाट विद्युत प्रसारण गर्न मिल्छ । ऊर्जामन्त्री शर्माले कोशी करिडोर, गण्डकी करिडोर, कर्णाली करिडोरमा ४ सय केभी र पूर्व–पश्चिम ७ सय केभीको प्रसारण लाइन निर्माण गर्ने बताए ।
प्रसारण लाइनकै कारण धेरै आयोजना रोकिएको समाचारहरु आउन थालेपछि सरकारले नेपाल विद्युत प्राधिकरणको समेत सेयर रहने गरी छुट्टै ग्रिड कम्पनी स्थापना गरेको छ । –काठमाडौं–खिम्ती–ढल्केबर ४ केपी प्रसारण लाइन निर्माणपछि भारतसँग विद्युत आयत निर्यातमा समेत सहज हुने छ ।
नेपालमा वर्षातमा बढी विद्युत उत्पादन हुँदा भारत निर्यात गर्ने र हिउँदमा कम उत्पादन बढी माग हुँदा भारतबाट आयत गर्नु पर्ने हुन्छ । दोलखाको तामाकोसी नदीमा अध्ययन पूरा भएको ६५० मेगावाटको तामाकोसी तेस्रो, अध्ययनरत खिम्ती गर्जाङ ५ सय मेगावाटको जलासययुक्त आयोजना, ११११ मेगावाटको सुनकोसी लगायतका आयोजना समेत खिम्तीमा जोड्ने लक्ष्य छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF