माथिल्लो तामाकोसी आयोजनाको काम ८५ प्रतिशत पूरा

 आवाज संवाददाता     २४ माघ २०७३, सोमबार

दोलखाः ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । २०७५ असार मसान्तबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाको काम भूकम्पपछि तीव्र गतिमा भइरहेको छ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीको काम हालसम्म ८४.५ प्रतिशत सकिएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिले आयोजनाको विद्युत्गृह, सुरुङ, हेडबक्स, प्रसारणलाइन सबै क्षेत्रमा काम भइरहेको छ ।

उनका अनुसार सुरुङको १ हजार ५ सय मिटरमात्र खन्न बाँकी छ । सुरुङको काम तीव्र गतिमा अघि बढेको छ । यस्तै बाँधलगायत प्रसारणलाइनको काम पनि तीव्र गतिमा अघि बढेको उनले जानकारी दिए । निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको कामअघि बढेको न्यौपानेले बताए ।

भूकम्प र नाकाबन्दीले आयोजनाको काम झण्डै डेढ वर्ष अवरुद्ध भएको थियो । भूकम्पले बाँधस्थलसम्म पुग्ने पहँुचमार्ग भत्काएपछि ३४० मिटर लामो सुरुङ खनेर सुचारु भइसकेको छ । सुरुङमार्ग खुलेपछि डेढ महिनादेखि हेडबक्सको काम पनि सुचारु भएको हो ।

तामाकोसीको पहिलो युनिट ०७५ को असारदेखि सञ्चालनमा आउनेछ । आयोजना, परामर्शदाता र ठेकेदारबीच आयोजना सम्पन्न गर्ने नयाँ संशोधित एकीकृत कार्यतालिका पनि तयार गरिएको छ ।

जसअनुसार ०७५ असारभित्र पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुनेछ । आयोजना २०७५ पुससम्म सबै युनिट सञ्चालनमा आउनेछन् । आयोजनाको ९२ मेगावाटका ५ वटा युनिट रहने छन् । यस्तै सोही वर्षको असारमा आयोजनाको सुरुङमा पानी भर्नुपर्नेछ ।

सुरुङमा जमेको पानी फालियो
आयोजनाको भूकम्पपछि हेडरेस सुरुङमा जमेको पानी पूरै निकालिएको छ । आयोजनाको भैंसेखोला अडिटदेखि गोंगरतर्फको १ किमि सुरुङमा पानी जमेको थियो ।
पानी पूरै निकालेपछि हेडरेस सुरुङको भैसें खोलातिरबाट बाँकी सुरुङ खन्ने काम पनि सुरु हुने आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताए ।

सुरुङ खन्नका लागि ठेकेदारले तयारी पनि सुरु गरेको जानकारी दिए । २०७२ वैशाख १२ गतेको भूकम्पपछि हेडरेस सुरुङको काम बन्द भएपछि त्यहाँ पानी जम्न थालेको थियो ।

आयोजनाको सिभिल संरचनाअन्तर्गत गोंगरडाँडातिरबाट भने हेडरेस सुरुङको काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि विद्युत्गृह गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनको संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । कुल १२७ वटा टावरमध्ये गौरीशंकर संरक्षण क्षेत्रभित्रको टावरबाहेक अरु तयार भइसकेको छ ।

संरक्षण क्षेत्रबाट पनि रुख कटानी आदेश पाइसकेकाले त्यहाँको काम पनि चाँडै सुरु हुने वातावरण विभाग प्रमुखसमेत रहेका प्रवक्ता डा. न्यौपानेले बताए । टावरमा तार तान्ने कामसमेत चाँडै सुरु गर्ने आयोजनाको तयारी छ । प्रसारण लाइनको काम २०१७ भित्र सम्पन्न हुनेछ ।

हाइड्रो मेकानिकलको ढुवानीले काममा ढिला
आयोजनाको ४ लटमा काम भइरहेको छ । सिभिल र प्रशारणलाइनको काम तीव्र गतिमा भए तापनि लट २ र लट ३ को सामान ढुवानीमा भएको ढिलाइले आयोजनाको काम प्रभावित भएको छ ।

जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकलमा टेक्सम्याको इन्डिया लिमिटेड, इलेक्ट्रो मेकानिकलमा अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेसन निर्माणमा भारतको केईसी इन्टरनेसनल लिमिटेडले गरिरहेका छन् ।

हाइड्रोमेकानिकलको ठेकेदारले बाँधमा राखिने गेटहरू, पेनस्टक पाइपलगायतका सामान साइटमा नपुग्दा सिभिलको कामसमेत प्रभावित भएको छ । हाइड्रो मेकानिकलका सामान नहुँदा भूकम्प जानुभन्दा अघिदेखि नै सिभिल ठेकेदारले गेटहरू राख्ने भाग छाडेर काम गर्दै आएको छ ।

आयोजनाका प्रवक्ता डा. न्यौपानेले काम ढिला भएका ठेकेदारलाई ताकेता जारी राखेको बताए । वीरगन्जमा रोकिएका सामान ढुवानीका लागि खाडीचौरको सुनकोसी डाइभर्सनको काम पनि पूरा भएको र सडक पनि दुरुस्त राख्न सडक विभागसँग समन्वय गरिरहेको बताए ।

आउँदो जेठ महिनासम्म लट २ र लट ३ को सम्पूर्ण सामान ढुवानी भइसक्ने बताए । आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रो मेकानिकलको ७० टनसम्म सामान बोकेको एउटै गाडी आउँछ ।

सामान ढुवानीका लागि वीरगन्जदेखि खाडीचौरसम्मको सडक राम्रै भए पनि खाडीचौरदेखि माथिको सडकको अवस्था दुरुस्त राख्नु पर्ने अवस्था छ । त्यसयता २१ किलो र हलहलको पुलमा टेको दिएर भए पनि ल्याउने बताए ।

खाडीचौरदेखि दोलखासम्मको ६० किमि सडक स्तरोन्नति भइरहेको छ । त्यस्तै दोलखादेखि सिंगटीसम्मको ३५ किमि सडक पनि अहिले सडक विभागले नै कालोपत्रे गर्न स्तरोन्नति गरिरहेको छ ।

चरिकोटदेखि लामाबगरसम्मको सडक तामाकोसी आयोजना आफैंले निर्माण गरी मर्मतसुधार गरेको भए पनि चरिकोट–सिंगटी सडक केही महिनाअघि मात्र सडक विभागले जिम्मा लिएको हो ।

सडक विभागले जिम्मा लिए तापनि चरिकोटदेखि गोंगरसम्मको सडक आफ्नो सामान ढुवानी नभएसम्म आयोजनाले पनि रेखदेख गर्ने योजना बनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।