संविधान संशोधन टार्न मात्रै एमालेले चुनावको मिति मागेको गृहमन्त्रीको आरोप

 आवाज संवाददाता     २९ माघ २०७३, शनिबार

दोलखा, २९ माघ/गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधन टार्न मात्रै एमालेले चुनावको मिति घोषणा गर्न माग गरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन वागमती विशेष क्षेत्रको भेलालाई दोलखा सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै गृहमन्त्री निधीले भने, ‘एमालेले चुनावप्रति लगाव भएर चुनावको माग गरेको होइन, संविधान संशोधन नगराउन चुनावको मिति माग गरेको हो । एमाले संशोधन चाहँदैन ।’ संविधान संशोधन नभए यसले स्वीकार्यता प्राप्त गर्न नसक्ने र कार्यान्वयन हुन नसक्ने उनको धारणा थियो ।


आगामी २०७४ को मंसिर महिनाभित्र ३ वटै चुनाव गर्नुपर्ने र संविधान संशोधन नभए चुुनाव हुन नसक्ने भएकोले पहिला संविधान संशोधन हुनपर्ने उनको जिकिर थियो । उनले संविधान संशोधनको पक्षमा वातावरण तयार गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले संविधान संशोधन र निर्वाचन एक अर्कामा जोडिएको विषय भएका र हिमाल, पहाड तराई सबैले स्वीकार गरोस् भन्नाका लागि पनि संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘कतिपयले भनिरहेका छन्, एमाले सरकारमा आएपछि सबैकुरा मिल्छ भनेर । यदि उहाँहरु (एमाले) सरकारमा आउन चाहनुहुन्छ भने हामी राष्ट्रिय सरकार बनाउन तयारै छौँ नि त ।’ गृहमन्त्री निधीले भने, ‘त्यसको बारेमा पनि हामी कुरा गर्न सक्छौँ तर एमाले संविधान संशोधनको सहमत हुनप¥यो ।’
संविधान जारी गर्ने बेला पनि एमाले बाधक भएको उनले खुलासा गरे । उनले भने, ‘ संविधान जारी गरेपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमती भएपछि मात्रै उनीहरु संविधान जारी गर्न तयार भएका हुन् ।’
एमालेले देशमा विखण्डनको बीउ रोपिरहेको आरोप उनले लगाए । मधेशवादीले गरेको मागलाई एमालेले जवर्जस्ती विदेशीको माग बनाइदिएको उनको धारणा थियो ।
वागमती विशेष क्षेत्रका संयोजक रमेश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् रामहरि खतिवडा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सभासद् जिपछिरिङ लामा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु किशोर नेपाल, हरिहर विरही, डा. सुरेश आचार्य, धर्मेन्द्र झा, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व अध्यक्ष समिर जंग शाह, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व सभासद् एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामालाई २०७२ को विनासकारी भूकम्पका पीडितहरुलाई  सहयोग गरेवापत सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।