कर्मचारी आन्दोलनले स्थानीय निकायको काम ठप्प

 आवाज संवाददाता     २ फाल्गुन २०७३, सोमबार

स्थानीय निकाय कर्मचारीहरुले आइतबारदेखि देशभरका स्थानीय निकाय बन्द गरेका छन् । समायोजन, स्थायित्व, स्थानीय निकायको चुनाव, कोषको व्यवस्था लगाएतका विविध खालका मागहरु राखेर सबै स्थानीय निकायहरु बन्द गरिएको हो ।

देशभरका २ सय १७ नगरपालिका, ७५ जिल्ला र ३ हजार १७४ गविसबाट दिने सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गराएका छन् । स्थानिय निकाय कर्मचारी ट्रेड युनियनको आयोजनामा भएको कामकाज ठप्प हुँदा सर्वसाधरणले भने दुःख भएका छन् । आफ्ना मागहरु पूरा नभए सम्म बन्द गर्ने कर्मचारीहरुले बताएका छन्। विभेदरहित रुपमा कर्मचारीको व्यवस्थापन नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
निजामती कर्मचारी र स्थानीय निकाय दुवै कर्मचारीलार्इ समान व्यवहार गरिनुपर्ने, कर्मचारीका योग्यता, रुचि, अनुभवका आधारमा पदस्थापना र सरुवा, प्रदेश सरकार र संघीय सरकारको तुलनामा स्थानीय सरकारमा काम गर्न प्रेरित गर्नुपर्ने, स्थानीय सरकारमा कार्यरत कर्मचारी सरुवा भएर जान चाहेमा दुवै प्रदेशको सहमतिमा संघीय सरकारले व्यवस्था गर्नुपर्ने लगायतका १८ बुँदे मागहरु सहित कर्मचारीहरुले देशभरका स्थानीय निकायका सबै खालका सेवाहरु ठप्प पारेका हुन् ।

देशभर जम्मा १८ हजार स्थानीय कर्मचारी छन् जसमध्ये काठमाडौं महानगरपालिकामा मात्रै १८ सय २५ जना छन् । सरकारले दोस्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको उनीहरुको आरोप छ।

आन्दोलनमा अस्थायी करारमा काम गरिरहेका कर्मचारीको व्यवस्थापनको समेत माग उठाइएको छ । आन्दोलन माग १८ गतेबाट नै विभिन्न चरणमा सुरु भएको थियो । कालो पट्टी बाँध्ने, दिनमा तीन घन्टा धर्ना दिनेजस्ता कार्यक्रम गर्दै आएपनि सुनुवाइ नभएकोले बन्द गरेको स्थानिय निकाय कर्मचारी ट्रेड युनियन दोलखाका अध्यक्ष जगदीश अर्यालले जानकारी दिए ।


कर्मचारीहरु कार्यालय गएर कामै नगरी बसेका छन् । राज्यको व्यवस्थापन विरुद्धको आन्दोलन भएकाले सर्वसाधरणले पाएको सास्तीप्रति दूःख व्यक्त गरे ।
दोलखामा जिल्ला विकास समिति, भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा काम ठप्प छ । जिविस दोलखामा निजामति तर्फका ४ जना र जिरी नगरपालिकामा २ र भीमेश्वर नगरपालिकामा एक जना मात्र निजामति तर्फका कर्मचारी छन् ।
कार्यालयमा काम गर्ने तर सुविधा नछाड्ने
स्थानीयका निकायका कर्मचारीहरु सर्वसाधरणका काम नगरी बसे तापनि सवारीको सुविधा भने लिंदै आएका छन् । धेरै जसो स्थानीय निकायका कर्मचारीले काम नगरी गाडी समेत ग्यारेजमा थन्क्याएर राखेका छन् । तर दोलखा जिविस र नगरपालिकाका कर्मचारीहरु कार्यालयले उपलब्ध गराएको मोटरसाइकल चढेरै ओहोर दोहोर गरिरहेका छन् । केही कर्मचारीहरु कार्यालयमा धर्ना बसे तापनि केही कर्मचारी कार्यालयको मोटरसाइकलमै व्यक्तिगत काममा दौडि रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।