राप्रपा प्रवेश गरेको समाचारप्रति कलाकार मदनदासको आपत्ति

 आवाज संवाददाता     ३ फाल्गुन २०७३, मंगलवार

दोलखा, ३ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टीमा सोमबार ३ दर्जन कलाकार प्रवेश गरेको नामावलीमा आफ्नो नाम पनि समाबेश भएकोमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले आपत्ति जनाएका छन् । काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले टीका र माला लगाएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराउँदा वरिष्ठ कलाकार श्रेष्ठ भने आफ्नो पुख्र्यौली थलो दोलखाको एक कार्यक्रममा थिए ।

“अहिलेसम्म कुनै पनि पार्टीमै नलागी यो उमेरको भइसकेँ” उनले भने “आफू सामाजिक काममा लागेको भन्छेलाई अब किन पार्टी चाहियो ?” कलाकारहरु प्रवेशको कार्यक्रम छ भन्नेबारे मसँग पनि कुरा चाहिँ भएको उनले बताए । “यस बारे छलफल गरौँला भनेको थिएँ, अहिले त नामै पो आएछ” दोलखामा भएका कलाकार श्रेष्ठले आश्चर्य व्यक्त गरे ।
स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला राजनैतिक पार्टीहरुबिच एकअर्काका कार्यकर्तालाई र स्वतन्त्र व्यक्तिहरुलाई पार्टी प्रवेशको लहरै चलेको छ । स्थानीयस्तरमा समेत कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले चुनाव लक्षित कार्यक्रम गरेर पार्टी प्रवेशको होडबाजी चलाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।