स्थानीय तहको चुनाव जेठ १ र २१ मा !

 आवाज संवाददाता     ४ फाल्गुन २०७३, बुधबार

काठमाडौं, ४ फागुन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

बालुवाटारमा भएको भेटमा प्रचण्डले केही दिनमा नै मिति घोषणा गर्ने तयारी तयारी तीव्र पार्न भनेका छन् ।

प्रमुख आयुक्त यादवले भने आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न सुझाव दिए । छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने बताए ।

स्रोतका अनुसार निर्वाचन आयोगले सरकार सामु आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड केही दिनमा नै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारीमा छन् । प्रमुख तीन दलबीच भएका पछिल्ला छलफलहरुमा जेठमा चुनाव गर्ने गरी ७ वा ८ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ ।

तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिँदै आएको छ ।

सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता पनि गरेको छ । तर, एमालेका साथै सत्तारुढ राप्रपाले समेत विरोध गरेका कारण दुई तिहाई नपुग्ने भएपछि विधेयक अघि बढेको छैन ।

पुष्प ढुंगानाले अनलाइनखबरमा लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।