कालिन्चोक मन्दिर सरसफाइ गर्दै मनाइयो प्रजातन्त्र दिवस

 आवाज संवाददाता     ७ फाल्गुन २०७३, शनिबार

दोलखा, फागुन, ७/पछिल्लो समय पर्यटकहरुको आकर्षण बनेको कालिन्चोक मन्दिर क्षेत्र फोहोरमैलाले भरिएपछि कर्मचारी मिलन केन्द्र दोलखाले सो क्षेत्रको फोहोरमैला सरसफाइ गरेर प्रजातन्त्र दिवस मनाएको छ ।
यो वर्ष हिमपातपछि कालिन्चोकमा ह्वात्तै बढेको पर्यटकका कारण कािलन्चोक परिसरमा फोहोरमैला बढेपछि अभियानका रुपमा कर्मचारी मिलन केन्द्रले सरसफाइ थालेको हो ।सरसफाइ कार्यमा नेपाली सेनाको रणभीम गणका सकल दर्जा, नेपाल प्रहरी, कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरुले कालिन्चोक मन्दिर, परिसर र कुरीदेखि मन्दिरसम्म जानेबाटोको वरपर फालिएका प्लास्टिकका बोतल, प्लास्टिक झोला, तयारी खानेकुराका खोलहरु संकलन गरी जलाएका थिए । फोहोरमैला संकलनका लागि गौरीशंकर संरक्षण क्षेत्रले ठाउँठाउँमा फोहोर संकलन केन्द्रहरु राखे पनि त्यो पर्याप्त छैन र फोहोरमैला जताततै फालिएको छ ।

हिमपातको लगत्तैपछि कालिन्चोकमा दैनिक १० हजारसम्म पर्यटकहरु पुग्ने गरेको र हिजोआज पनि शुक्रवार र शनिवार दैनिक एकहजार बढी पर्यटकहरु कालिन्चोक पुग्ने गरेको स्थानीय टसिदेले होटलका सोनम शेर्पा बताउँछन् । यसरी पर्यटकहरुको संख्या बढेपछि फोहोरमैला पनि बढेको र त्यसको स्थायी व्यवस्थापन हुनुपर्ने स्थानीयहरुको पनि माग छ ।


कालिन्चोकमा पर्यटकसँगै फोहोरमैला बढेको गुनासो आएको र प्रजातन्त्र दिवसलाई रचनात्मक रुपमा मनाउने क्रममा यो वर्ष कालिन्चोक मन्दिर परिसर सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए । उनले कालिन्चोकमा पर्यटकहरुको संख्या बृद्धिसँगै सो क्षेत्रमा फोहोर थुप्रिएको र सरसफाइको यो अभियान मात्रै भएको बताए । सो क्षेत्रको सरसफाइका लागि पर्यटकहरुमा जनचेतना बढाउनुपर्ने र स्थानीयले सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । स्थानीयवासीहरुले पनि कालिन्चोक क्षेत्रमा पर्यटक बढेसँगै फोहोरमैला बढेको र यसरी फोहोरमैला बढ्नुमा आफूहरु पनि जिम्मेवार भएको स्वीकार गरे । कर्मचारी मिलन केन्द्रले कालिन्चोक क्षेत्रको सरसफाइ गरेकोमा खुशी हुँदै स्थानीयले आफूहरुको समेत जिम्मेवारी भएको र आगामी दिनहरुमा सरसफाइमा लाग्ने बताए ।

पछिल्लो समय कालिन्चोक क्षेत्र चलचित्र र म्युजिक भिडियो छायाँकनको हब बनेका कारण पनि पर्यटकहरुको संख्या बढेको हो । हिमपातपछि प्रियंका कार्की र निखिल उप्रेती ‘राधे’ चलचित्र छायाँकनका लागि आएका थिए भने चर्चित गायक रामकृष्ण ढकालले ‘भ्यालेन्टाइन डे’ लाई लक्ष्यित गर्दै आफ्नो गीत ‘यस्तो को हौ तिमी’ बोलको गीतको छायाँकन गरेका थिए ।
६७ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा कालिन्चोकको कुरीमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष स्थानीय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, नेपाली काँग्रेस पार्टीका पुर्व सभापति देवी न्यौपाने, नेकपा एमाले दोलखाका सचिव भरत दुलाल, नेकपा माओवादी केन्द्रका गोपाल पाण्डे, नेकपा मालेका जिल्ला अध्यक्ष बद्रीकुमार चौलागाईं, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, शहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख एकराज अधिकारी, जिल्ला निर्वाचन कार्यालय प्रमुख, सच्युतराज उप्रेती, भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विक, नेपाल टेलिकमका प्रमुख श्याममणि अर्याल र स्थानीय कुरीवासीहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF