६१ दिनपछि दोलखा पत्रकार महासंघको ताला खुल्यो

 आवाज संवाददाता     ९ फाल्गुन २०७३, सोमबार

नयाँ सदस्यता माग गर्दै नेपाल पत्रकार महासंघ दोलखा शाखामा लगाएको ताला ६१ दिनपछि सोमबार खुलेको छ । नेपाल प्रेस युनियनले पत्रकारीता गर्दै आएकाहरुलाई नयाँ सदस्यता दिनुपर्ने माग राख्दै गत पुस ८ गते महासंघको कार्यालयमा तालाबन्दी गरेको थियो ।
नेपाल पत्रकार महासंघ पदाधिकारी र प्रेस युनियनका पदाधिकारीहरु बीच पटक पटकको वार्तापछि ताला खोल्ने र नयाँ सदस्यताका लागि कार्यदल बनाएर टुङ्गो लगाउने सहमतिपछि ताला खुलेको हो । ताला खोल्ने र नयाँ सदस्यताका विषयमा आइतबार महासंघ पदाधिकारी र प्रेस युनियन पदाधिकारी बीच अनौपचारिक सहमतिपछि सोमबार दिउँसो सर्वपक्षीय छलफल भएको थियो । सोही छलफलमा नयाँ सदस्यता र ताला खोल्ने सहमतिपछि प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले ताला खोलेका हुन् ।
छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवि मास्के, दोलखा अध्यक्ष उद्धव पोखरेल, दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर, प्रेस सेन्टरका केन्द्रीय सचिव लक्ष्मण खड्का प्रेस युनियनका बाग्मती विशेष क्षेत्रका संयोजक रमेश खतिवडा लगायतका पत्रकारहरु उपस्थित थिए । छलफलमा ताला खोलेपछि केन्द्रको कार्यक्रम अनुसार यही फागुन १७ गते दोलखाको जिल्ला अधिवेशन भव्यताका साथ सफल बनाउने समेत निर्णय भएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF