राष्ट्रपति रनिङ शिल्ड बौद्धभुवनेश्वरी माविले उचाल्यो

 आवाज संवाददाता     १३ फाल्गुन २०७३, शुक्रबार

दोलखा, फागुन १३/छैठौँ राष्ट्रपति रनिङ शिल्ड बौद्धभुवनेश्वरी मावि, मालीले हात पारेको छ । यो वर्षको उपाधिसँगै उसले शिल्डमाथि कव्जा पनि जमाएको छ ।
हनुमन्तेश्वर मावि, काब्रेलाई पछि पार्दै बौद्धभुवनेश्वरी मावि, मालीले उपाधि जित्न सफल भएको हो । यसअघिका दुई वर्षहरुमा पनि बौद्धभुवनेश्वरीले नै शिल्ड हात पारेका कारण शिल्डमाथि उसले कव्जा जमाएको हो । प्रतियोगिताको तेस्रो स्थानको उपाधि जिरी मावि, जिरीले जितेको छ । विजयी खेलाडी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्रबहादुर रेस्मीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिराकुमार थोकरको अध्यक्षतामा भएको थियो ।
छात्रतर्फको भलिबल प्रतियोगितामा भुमेस्थान मावि, घ्याङ प्रथम, जनज्याति मावि गैरीमुदी द्वितीय, देवी मावि, बोच तृतीय भएका थिए । त्यसैगरी छात्रातर्फको भलिबलमा हनुमन्तेश्वर मावि, काब्रे, गर्जाङढुङ्गा मावि, श्यामा र बौद्धभुवनेश्वरी मावि, माली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
त्यसैगरी, एथलेटिक्समा बौद्ध भुवनेश्वरी मावि, माली प्रथम, जिरी मावि, जिरी दोस्रो र हनुमन्तेश्वर मावि तेस्रो भएको थियो । कबड्डी छात्रछात्रामा जिरी मावि जिरी प्रथम भएको थियो भने छात्रतर्फ कालिन्चोक मावि दोस्रो भएको थियो ।
छैठौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको छनोट चरणमा दोलखा निर्वाचन क्षेत्र नं १ मा १४ विद्यालय र क्षेत्र नं. २ मा २४ विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा र एथलेटिक्सको फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुटका छात्रछात्रा खेलहरु समावेश थिए भने ट्राकतर्फ छात्रछात्राकै १ सय, २ सय, ४ सय र ८ सय मिटर र १ सय मिटर रिले दौड समावेश गरिएको थियो ।
जिरी मावि जिरीका प्रधानाध्यापक केशवकुमार कार्कीले निर्देशिका अनुसार खेल नखेलाइँदा आफ्नो विद्यालयले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको दावी गरे । भलिबल प्रतियोगितामा सेमीफाइनल पुगेर पराजित भएका टिम दुबैलाई अंक बाँड्नुपर्नेमा तेस्रो स्थानको लागि खेलाएर निर्देशिका विपरीत गरेको उनको आरोप छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF