अनुदानमा लिएको रकम घर बनाएको ऋण तिर्ने

 आवाज संवाददाता     १६ फाल्गुन २०७३, सोमबार

दोलखा, १५ फागुन
ओराङ ७ कि पार्वती श्रेष्ठ निजी आवास निर्माणका लागि उपलब्ध गराएको दोस्रो किस्ता रकम लिन सिंगटीमा आइन् । उनले दोस्रो किस्ता वापत डेढ लाख बुझिन् । रकम बुझेपछि यो रकम घर बनाएको ऋण तिर्ने प्रतिक्रिया दिइन् ।
सरकारले भुकम्प प्रतिरोधि घर बनाउन अनुदान दिने खबर सुनेर आफैंले घर बनाएको पार्वतीले बताइन् । “घर बनि सकेको छ, अब छानो हाल्ने र बाहिरी प्लाष्टरको काम मात्र बाँकी छ” उनले कारोबारसँग भनिन् “घर बनाउँदा ऋण लागेको छ, अब भोली नै यो रकम लगेर ऋण तिर्छु ।”
पार्वती जस्तै ओराङ ४ का सुर्जा तमाङ पनि घर बनाइ सकेका व्यक्ति हुन् । उनको घर बनाउन साँढे ४ लाख लागेको छ । पहिलो किस्ता ५० हजार लिएर घर बनाउन थालेका तामाङले लिएको यो दोस्रो किस्ता वापतको रकम ऋण तिर्नमै खर्च हुने बताए । घरको धेरै काम सकिए तापनि केही बाँकी काम गर्ने उनले प्रतिक्रिया दिए ।
पहिलो किस्ता लिएर घर बनाएका ओराङका ३७ जनाले विहीबार र आइतबार लक्ष्मी बैंक सिंगटीबाट दोस्रो किस्ता बुझेका हुन् । पुर्ननिर्माण प्राधिकरणबाट गाउँमा खटिएका इन्जिनियरहरुले अनुगमन गरी मूल्याङ्कन गरेर सिफारिसपछि उनीहरुले दोस्रो किस्ता लिएका हुन् ।
इन्जिनियर सुदिप नेपालका अनुसार ओराङ गाविसका ४८४ लाभग्राही मध्ये मात्र २ सय १६ दोस्रो किस्ता लिन योग्य भएका छन् । त्यसमध्ये ४२ जनाको खातामा डेढ लाखका दरले रकम नै आइसकेको छ । बाँकीको पनि केही दिनमै आउने कारितास नेपालका कार्यक्रम संयोजक दलबहादुर शाहीले जानकारी दिए ।


दोलखाको ४८ गाविस र २ नगरपालिका मध्ये ओराङ र बुलुङ गाविसका सम्पूर्ण घर निर्माणका लागि अनुदान र प्राविधिक सहयोगको जिम्मा कारितास नेपालले लिएको छ । कारितासले दुवै गाविसका छुट्टा छुट्टा फिल्ड कार्यालय समेत राखेर घर बनाउन डकर्मी सिकर्मी तालिम, प्राविधिक पराशर्म, निरीक्षण, नक्सा तयारी लगायतका काम गर्दै आएको छ । त्यही कामलाई पुर्ननिर्माण प्राधिकरणबाट खटिएका इन्जिनियरहरुले अनुगमण गरी किस्ताका लागि सिफारिस गर्छ ।
भुकम्पबाट ओराङ र बुलुङ दुवै गाविस अति प्रभावित गाविस हुन् । पुर्ननिर्माण प्राधिकरणका अनुसार बुलुङमा ५ सय २४ र ओराङमा ४ सय ८४ लाभग्राही छन् । बुलुङ र ओराङका धेरै लाभग्राही दोस्रो किस्ताका लागि योग्य भए तापनि गाविस सचिव र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जिनियरहरुले प्रमाणिकरण गर्न बाँकी हुँदा अरु लाभग्राहीले दोस्रो किस्ता लिन केही ढिला भएको कारितास नेपालका ओराङ गाविस संयोजक शम्भु ठकुरीले जानकारी लिए ।
कारितास नेपालले भुकम्प परिचय पत्रका आधारमा लक्ष्मी बैंकमा खातो खोलि दिएको छ । त्यसबापत पहिलो किस्ता लिंदै एटीएम कार्ड नै उपलब्ध गराएको छ । दोस्रो किस्ता लिन आउँदा भुकम्प पीडितलाई दिएको एटीएम कार्ड नं. र नागरिकता नं. राखेर बैंकका कर्मचारीले रुजु गरी सम्बन्धीत लाभग्राहीको मेसिनमा औंठा छाप लगाएर पक्का भएपछि रकम पाउँछन् । दोस्रो किस्ता लिन आउँने लाभग्राह बैंकमा १ मिनेट भन्दा बढी उभिनु नपर्ने अवस्था भएको बैंकका कर्मचारी छन् ।


लक्ष्मी बैंकको सिंगटीमा शाखा नभए तापनि बैंकको आफ्नो सहायक कम्पनी लक्ष्मी लघु वित्त मार्फत रकम वितरण गर्दै आएको छ । रकम लिनका लागि लाभग्राहीहरुका लागि कारितासका कर्मचारीहरु समेत आफैं बसेर सहयोग गरेका छन् ।
भुकम्प पिडितहरुलाई घर निर्माणको लागि भन्दै कारीतास नेपालले दुई गाविसमा स्थानीयहरुलाई पहिलो किस्ता बापत पाँच करोड पचपन्न लाख रुपैया वितरण गरेका छन् । दोस्रो किस्तामा १५ करोड १२ लाख वितरण हुन्छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उप क्षत्रीय कार्यालय चरिकोटका प्रमुख सागर आचार्यले दोस्रो किस्ता वितरणमा संघ संस्थाकै सहयोगमा पहिलो भएको बताए । यस अघि पनि जुँगू, झयाँकू र क्षेत्रपाका १०९ लाभग्राहीहरुका लागि दोस्रो किस्ता वितरण भएको बताए । उनले हालसम्म १ सय ४६ लाभग्राहीले दोस्रो किस्ता लिएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF