हावाहुरीको मौसमसँगै दोलखामा चार ठाउँ आगलागी

 आवाज संवाददाता     १९ फाल्गुन २०७३, बिहीबार

दोलखा, फागुन, १९/हावाहुरीको मौसम सुरु भएसँगै दोलखाका विभिन्न ठाउँमा आगलागी भएको छ । दोलखामा आजमात्रै विभिन्न चार ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको गोंगर स्थित चीनीयाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनको मजदुर शिविरको ९ कोठे अस्थायी घर ध्वस्त भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए । आगोले उक्त अस्थायी घरमा रहेका मजदुरका सामान जलेर नष्ट भएको छ ।
त्यसैगरी काब्रे र मिर्गे गाविसको बिचको तारेभिर र जिरी ६ का पातले सामुदायिक बनमा पनि आगो लागेको छ । जिरीको जंगलमा लागेको आगो स्थानीय र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । तारेभिरमा लागेको आगो भने नियन्त्रणमा नआएको र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको मैनापोखरीका गीताकृष्ण शर्माले जानकारी दिए ।
बिहिबार विहानै भीमेश्वर नगरपालिका १ चरिघ्याङस्थित एक दुनोट पसलमा पनि आगो लागेको छ । आगलागीबाट पसलको एक कोठमा सामान्य क्षति पुगेको छ ।
आज बिहानैदेखि सदरमुकाम चरिकोट, मैनापोखरी, जिरी लगायतका क्षेत्रहरुमा हावाहुरी चलेको थियो ।

तस्विरः गुगल

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।